होटेलभन्दा राम्रो हिरासत कक्ष

रिपोर्ट नेपाल | 2018 Jul 29 | 08:00 am 3442

सल्यान, साउन १३: सफा र चिटिक्क परेका बेड तथा उज्यालो कोठा भएको होटेल भेट्टाउन सल्यान सदरमुकाम खलंगामा मुस्किल हुन्छ। यहाँका होटेलभन्दा पनि राम्रो व्यवस्था भएको हिरासत कक्ष तयार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले तयार पारेको हिरासत कक्षमा सफा, चिटिक्क बेड, उज्यालो छिर्ने कोठा छन्। सदरमुकाममा रहेका होटेलको भन्दा पनि राम्रो बेड रहेको शारदा नगरपालिका मेयर सुरेश अधिकारीले बताए। ‘यो जिल्लामा रहेका ठुल्ठूला होटेलमा समेत यस्तो व्यवस्था रहेको मैले पाएको छैन,’ मेयर अधिकारीले भने, ‘हिरासतमा रहेकाजस्तै बेड पैसा तिर्छु भने पनि होटेलमा पाइँदैन।’

जिल्ला प्रहरी कार्यालयले ‘आधुनिक र स्वस्थकर हिरासत’ नाम दिएर नयाँ हिरासत कक्ष तयार गरेको जनाएको छ। ‘मानवअधिकारका दृष्टिकोणले उपयुक्त हिरासत कक्ष बनाएका हौँ,’ डिएसपी भरतबहादुर विकले भने। थुनुवा भन्नेबित्तिकै नराम्रो दृष्टिले हेर्ने, अमानवीय व्यवहार गर्ने, दुःख दिने परिपाटी हटाउन यस्तो सुरुवात गरिऐको उनको भनाइ छ। ‘थुनुवाका आधारभूत मानवअधिकारका लागि हिरासत कक्षलाई व्यवस्थित बनाएका छौँ,’ डिएसपी विकले भने।

जिल्ला प्रहरी कार्यालयले दुई लाख खर्च गरेर हिरासत कक्षलाई व्यवस्थित बनाएको जनाएको छ। यसको अवलोकनपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आधुनिक हिरासतलाई दीगो बनाउनुपर्ने बताए। ‘सुरुवात राम्रो छ, अब यसलाई निरन्तर व्यवस्थित बनाउनका लागि सबैले सघाउनुपर्छ,’ प्रजिअ घिमिरेले भने।

जिल्लाभरि नै व्यवस्थित गरिने

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिलाई अँध्यारो कोठामा राख्ने, खाना राम्रो नदिने, यातना दिने, श्रममा लगाउने परिपाटीको अन्त्य गर्न हिरासत कक्षलाई व्यवस्थित गर्न लागिएको डिएसपी विकले बताए। यसपछि इलाका प्रहरी कार्यालय, श्रीनगरको हिरासत कक्षलाई आधुनिक बनाइने उनले बताए। ‘जिल्लाका सबै हिरासत कक्ष व्यवस्थित गर्छौं,’ उनले भने।

सल्यानमा तयार भएको आधुनिक हिरासत कक्षका बारेमा कर्णाली प्रदेशका प्रहरी प्रमुखलाई पनि जानकारी दिइएको छ । प्रदेशभरि नै व्यवस्थित हिरासत बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। नयाँ पत्रिका

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.