मोरङ, भदौ २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले हिन्दु राष्ट्र बारे जनमत संग्रह गराउनु पर्ने माग गरेका छन् ।
शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग महामन्त्री कोइरालाले हिन्दु राष्ट्र बारे जनमत संग्रह गराउँदा राजनीतिक दलहरूले हस्तक्षेप नगर्ने र जे परिणाम आउँछ सबैले स्विकार्नु पर्ने धारणा व्यक्त गरे ।
उनले जनता महँगीको मारमा परिरहेका बेला स्थानीय तहबाट कर बढाउनु गलत भएको टिप्पणी गरे । उनले नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर घटाउन पार्टीले निर्देशन दिन लागेको जानकारी पनि दिए ।
महामन्त्री स्थानीय तहले जथाभाबी कर लगाउँदा संघीयता माथि नै प्रश्न उठ्ने गरेको बताए। उनले संघीयता विकेन्द्रिकरणको उत्कृष्ट रूप भएकाले यसलाई सफल बनाउन पनि सबैको सहयोग हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।