सरला रेग्मी

| 2021 Jun 27 | 03:16 pm 4273

काठमाडौं, असार १३ः पाँचथर फिदिम निवासी नेपाल पत्रकार महासंघमा आबद्ध उदीयमान महिला पत्रकार सरला रेग्मी आफ्नो अध्ययन पश्चात् पत्रकारिता पेशालाई अंगालेर यही क्षेत्रमा सकृयताका साथ अघि बढ्दै गरेकी रेग्मीका केही विचारहरु अत्यन्त समसामयिक र सान्दर्भिक देखिएकाले यहाँ राखिएको छ ।–सम्पादक

महिनावारी,मेरो अनुभब…..

कक्षा–५ को बार्षिक परिक्षाको बिदाको बेला पहिलो पटक महिनावारी भएको थिए । तुलनात्मक रुपमा मेरो महिनावारी छिटै भएको हो ।
ममि, काकि, दिदी, फूँपू महिनावारी हुँदा, महिनावारी भनेको थाहा थियो । कसरी हुन्छ ? के हुन्छ ? त्यो चै थाहा थिएन । तर मलाई महिनावारी हुन खुब मन लागेको थियो । ममि चार दिनसम्म बाहिरको काम मात्र गर्नु हुन्थ्यो । महिनावारी हुँदा खाने थाल, गिलास, कचौँरा छुट्टै थियो । भान्साकोठा बाहिर बसेर खानु हुन्थ्यो । ममि महिनावारी हुँदा हजुरआमाले खाना दिनु हुन्थ्यो ।
पछि हजुरआमाहरु अर्को घरमा बस्न थाल्नुभयो । अब बुवा कि दादाले पकाउनु हुन्थियो । ममिले महिनावारी हुदा गाई दुहुनु हुन्न थियो । महिनावारीका बेला सुत्ने ओछ्यान पनि बेग्लै थियो । ममि, दिदी महिनावारीको बेला भुइँमा सुत्नु हुन्थ्यो । मलाई मज्जा लाग्थ्यो । कहिले महिनावारी हुनु र त्यो थालमा भात खानु, त्यो ओछ्यानमा सुत्नु जस्तो एककिसिमको अच्चमको रहर लाग्थ्यो । म– ५ कक्षाको परीक्षा दिएर घरमै बसेको बेला महिनावारीहुँदा एकदम खुसी लाग्यो । ममि, दिदी, फूपू जस्तै भए भन्ने लाग्यो । ममिलाइ खुशी हुँदै सुनाए तर उहाँ पत्याउनु भएन । म जम्मा १० बर्षकी थिए ।
महिनावारी भएपछी आफ्नो घरका छोरामान्छे हेर्नू हुदैन भन्ने चलन थियो । ममिले चलन अनुसार छिमेकीको घरमा अलि पर लगेर ११ दिन बस्नु पर्ने कुरा भन्नू भयो । तर म खुशी भए किनकि पहिलो अनुभव थियो । मलाई ममिले सिकाउनु भयो “दादा बुवालाइ हेर्नू हुदैन । पहिलो चोटि महिनावारी हँुदा दाजूभाईलाई हेर्दा हानी पुग्छ, घर को छानोपनि हेर्नू हुदैन, घरमा नराम्रो हुन्छ ।” ममिले छिमेकीको घरमा लग्नु भयो । म खुशी बिन्दास हुँदै गए । मीठो मीठो खाने कुरा दिदी बोकेर आउथी, मलाई पहिलो दिन त मज्जा पो लाग्यो । एक्लो महसुस गर्छु, सानै छे भनेर पनि होला ममिले खानेकुरा ढुङ्ग्री, चटपटे, तितउरा, चाउचाउ ,बिस्कुट, चकलेट पठाइदीई रहनु हुन्थियो । जब ३/४ दिन बित्यो त्यो कोठामा बस्न एक्लै बस्न दिक्क लाग्न थाल्यो । चार दिनको दिन ममि आफै खाना लिएर आउनु भयो, मलाई ममि देख्दा भक्कानु फुटेर आयो । यहाँ नबस्ने घर नै जाने भनेर जिद्दि गर्न थाले । अब त महिनावारी भए जस्तो नि केही छैन नपत्याए हेर्नू भन्दै ममिसँग रुन थाले । ममिले फकाउनु भयो । त्यो दिनदेखि ममि खाना लिएर आउनु भएन म रुन्छु भनेर होला सायद । दिदी, कहिले काहि छिमेकी साथिलाइ पठाइदिन थाल्नु भयो ।
एकजना हजुरआमा हुनुहुथ्यो त्यो घरमा । हजुरआमाले आफुहरुलाई त केही खान दिदैन थिए, भन्दै पहिला पहिलाका कहानी सुनाउनु हुन्थ्यो । पुराना कथा सुनाउनु भयो । घर गए पाप लाग्छ है भन्दै सम्झाउनु भयो । त्यो बेला हो जस्तै लाग्यो । मैलेमात्र होइन नि मेरा साथी दिदिले पनि यस्तै विश्वास गरे जस्तो लाग्यो । केहि दिन धुमधुम्त बसेपछि अनेक कुरा मनमा खेल्न थाल्यो । हाम्रो घर नजिकै थियो । तर सातदिन भैसक्दा पनि झ्यालबाट हेरेको थिईन । दादालाई देखे भने नराम्रो हुन्छ, घरको छाना देखे भने मेरो घरलाई पाप लाग्छ भनेर मैले हेरिन ।
सात दिन बितेपछी किन यसरी बस्ने भन्ने प्रश्न जाग्न थाल्यो । बुवाले त तिमिहरु दुइटी छोरी र दादा हाम्रो लागि एउटै हो, बराबर हो भन्नू हुन्थ्यो । तर हामीमात्र बस्नु यसरी बस्नु पर्ने, यस्ता अनेक प्रश्न मेरो मनमा आउथ्यो । म भुइँमा सुत्नु पथ्र्यो, त्यहाँ एउटा सानो प्वाँल थियो । त्यहाँबाट हाम्रो घर देखियो, कस्तो खुसी लाग्थ्यो । घरको न्यास्रोले यसरी सतायो, झ्यालको एकापट्टी खोलेर हेर्न थाले । बुवा परिवारमा सबै भन्दा प्रिय । एकदिन बुवा घर आउनु भएको देखे, बुवालाइ टाढैबाट हेरेर रोए । सम्झिए अब त बुवाले मलाइ काखमा नि राख्नु हुन्न होला ? दिन गन्दा त थोरै जस्तो लाग्थ्यो तर मैले विताएको समय बर्षौको अनुभुत हुन थाल्यो । मेरो त्यो रहर अत्यासलाग्दो अनुभुक्तिमा रुपान्तरण भयो ।
बुवा बाहिरबाट घर आएर खोज्नु भयो कि भएन ? कान्छी छोरी “पर सरि” भन्दा के भन्ठान्नु भयो होला ? यस्तै, अनेक कुराले म आतिन्थे । त्यो भन्दापनि अब बुवा काखमा बस्न पाउदिन खुब पिर लाग्थ्यो ?
दादा, बुवा, घरको छानु हेर्न नहुने कुरा मनमा आइरह्यो । बाल मस्तिष्कले भन्यो एकचोटी हेर्दा के हुदो रहेछ भनेर लुकेर हेरीदिए । हाम्रो बाख्रालाई देखे । ममि गोबर ग्यासमा गोबर हालेर चलाउदै हुनुहुदो रहेछ । बुवाले गाईलाइ बारिमा बाधेको पनि हेरे, दादा साइकल चडेर आएको पनि देखे, दिदीले बाख्राको सोतर सुकाएको नि देखे । दिदिसँग सधै झगडा पथ्र्यो । सानी भएर उसलाई केही काम नलगाउने भनेर दिदी गुनासो गर्थी । उसले काम गरेको देखेर खुसी भए, ठिक्क परो भन्ने लाग्यो ।
अनि फेरि सम्झे ला… अब म ठुली भए अब त मलाई सानी भनेर नलगाएको काम नि लगाउछन भन्ने सम्झेर दुखी भए । कत्रो बेर हेरेछु घर दादालाइ केही भयो भने ? म भावुक बने । अनायाशै आशु आयो । ममिले त बुवालाइ नि नहेर्नु भन्नू भएको थियो, केही भयो भने ? डर अत्याधिक लाग्न थाल्यो । यहत्तपत्त झ्याल बन्द गरे, दिदिले खाना लिएर आइ । सोधे “बुवालाई, दादालाई केही भएको त छैन नि ?”
“ला बुवाले ल्याउनु भएको, धनकुटे बिस्कुट । मिठो लाग्छ तलाई भनेर मेरो पनि तलाई ल्याईदिएकी छु” दिदिको यो कुराले फेरी खुसी भए । फेरि सोधे “दादा बुवालाइ केही भएको छैन नि ?”
दिदिले सोधि “छैन किन ?” सपनामा देखेको थिए भन्दीए ।
दिदि के गएकि थिई बाख्राकी पाठि करोयो  । मलाई नै सम्झैर कराएजस्तो महसुस भयो । उस्को (पाठी) को आमा मर्दा बोतलमा दूध हालेर मैले खुवाएको थिए, यहि मायाले सम्झिएको होला जस्तो लाग्यो । त्यो पनि त म जस्तै छोरी हो उ चै महिनावारी हुन्छे कि हुन्न होला ? सम्झिदै सुते, सुते के भन्ने ढल्किए, निदाईन ।
यसरी बस्न एक दिन मात्र बाकी थियो तर मनमा अनेकन प्रश्न थिए । नयाँ लुगा लगाएर आफ्नो घर जानु पथ्र्यो । नयाँ लुगाले केहि न केहि त खुसि दिएकै थियो । दिदी महिनावारी भएर घर आउदा नयाँ लुगा लगाएकी थिई । मलाइ चै नकिनिदिएकोमा गुनासो गरेको थिए त्यो बेला ।
११ औँ दिन सनिवार परेको थियो । ममी बिहानै नँया लुगा लिएर आउनु भयो । ममीले सम्झाउदै भन्नु भयो “बुवाको काखमा नबस्नु, अझै २२ दिन लाग्छ चोखिन, कल नछुनु, खानेकुरा नछुनु ।” मागेर खानु, दादालाई नछुनु, घर पस्ने बेला सुनपानीले छर्केपछी मात्र पस्नु, गहँुत नि खानु पर्छ ममीले भनेको कुरा अहिले नी सम्झिन्छु ।
मलाई दुइ वटा कुराको पिर पर्यो । एउटा बुवाको काखमा बस्न नपाउने अनि अर्को गहुँत खानु । त्यो पनि खाउला तर बुवाको दादाको मुख अब कसरी हेर्नू ? महिनावारी भैसकेर ठुली भए । मनमा अनेक डर, लाज लागिरह्यो ।
घरमा दिदी जिस्काउन तयार थिई, जिस्काइ पनि । लाज लाग्यो बुवालाई मलाइ हेरेर । छोरी कहाँ गएकी थिइस भन्नू भयो भुत्तुक्कै भए । सायद लाजको घुम्टो पहिला पल्ट ओडेको थिए । अब बुवाको काख पनि रहेन अनि अब म सानी पनि कहाँ रहेर ? पर सारेर खान दिने भएर होला है पर सरेको भनेका यस्तो पनि लाग्यो । रजस्वला भए पछि समाजमा परिपक्व मानिन्छ, प्रजनन क्षमतामा दक्ष भएको थिए । अब म पनि प्रजनन योग्य भएको थिए । तर म केवल दश बर्ष कि थिए ।
ममिले समाजले सिकाएको सबै कर्म गर्नु भयो । नँया लुगा लगाउन लगाउनु भयो । सुनपानीले छर्किनु भयो । गहँुत दिनु भयो मुख बिगार्दै अलिकती जिब्रोमा लगाए । दादालाई हेरे, मलाई नहेरेझै नजर घुमाउनु भयो । झन लाज लाग्यो । बुवालाई हेरे, सधै बस्ने काख रित्तो लाग्यो । आँखाभरी आँसु आयो । बुवाले हात ले आफुतिर आउने इसारा गर्नु भयो, छेउमा गए बुवाले मेरो हात तानेर आफ्नो काखमा राख्नु भयो । मलाइ लाग्यो ममात्र होइन बुवाको काख पनि मलाई काखमा राख्न आतुर रहेछ । एकाएक मन प्रफुल्ल भयो । ओठमा मुस्कान आयो । ममिले पर बाट लु त्यसरी हुदैन अब ठुली भै नानी काखमा नबोक्नु भन्नु भयो । ममिलाई पनि थाहाथियो छोरी सानै छे तर ममी, बुवा भन्दा धेरै सामाजिक बन्धनमा थिचिनु भएको थियो । चलिआएको चलनमा रुमलिनु भएको थियो । किनकी ममि महिला हो अनि बुवा पुरुष । बुवा जस्ताले नियम बसाएका हुन् । पालना ममिहरु ले गरेका हुन् । नियम बनाउनेलाइ भन्दा नि नियम पालनागर्नेलाई थाहाहुन्छ त्यस्को मर्म ।
बुवाले मलाइ काख मा बोक्दै मेरि छोरीलाई ज्वाइँ लिएर आएपछी पनि यसरी नै काखमा बोक्छु भन्नु भयो । लाजको घुम्टो अलि अलि उघार्दै गयो तर मनमा अनेक प्रश्न पनि थपिदै गए । ममिले महिनावारी हँुदा गाई नदोएको देखे तर मैले मेरो घरको गाइको दूध नचलेको देखिन ? गाई महिनाबारी हुदैन ? नौरथा मन्दिर कयाँै पटक महिनावारी भएर गएकी छैन्, त्यहाँ बिराजमान माता महिनावारी हुन्नन ? महिनावारी जहाँबाट शुरूवात हुन्छ, नँया जीवन पनि त त्यही शुरूवात हुन्छ । महिनावारी हँुदा आफैले जन्माएको छोरोलाइ छोएको नदिनु रे, बालखमा दूध त महिनावारि हुँदा नि खाएका हुन त ? यो कसले बनाएको नियम होला ? सानोमा त्यहि आमाको दूध चल्ने ठूलो हुदा नचल्ने ? महिनावारी पाप अरे, त्यही पाप कटाउन हिन्दु धर्ममा हरेक ऋषि पञ्चमीमा व्रत बसेर पाप कटाउनु पर्ने रे । यो अनि यस्ता प्रश्न हजारौँ पटक मनमा आएका छन् ।
मैले लुकेर मेरो घर मेरो बुवा मेरा दादा लाई हेरे केही भएन त । स्कुल जादा बिर्सेर कयौ पटक मन्दिर पसेको छु । म नछुने भएको कुरा, भएको पीडा सहजै मेरो दादा बुवालाइ भन्न सक्छु । सायद बुवाले अब छोरी ठुली भई भनेर काख नदिएको भए, के म मेरा रजस्वला हुदाका पीडा भन्न सक्थे होला र ? महिनावारी प्राकृतिक कुरा हो बुझ्दा बुझ्दै किन बार्नु पर्ने ? यति भनिरहँदा सकारात्मक पक्षपनी त्यो बेला देखेको थिए । बाहिरको हजार काम भ्याएर ममिले नै खाना बनाउनु पथ्र्यो । कमसेकम चार दिन ममीलेपनी अरुले दिएको खाना खान पाउनु हुन्थ्यो । महिनावारी बार्नेको कारण पनि होला तर यहि कारणले कसैको ज्यान जान्छ भने त्यो मान्नु हुदैन । अथवा त्यस्ता नियम लाई सहज बनाउदै जानू पर्छ ।

आखिर के हो महिनावारी ?
महिनावारी एक प्राकृतिक प्रक्रिया हो । महिनाबारीलाई “वीपिङ अभ युटेरस” पनि भन्ने गरिन्छ । महिनावारी स्तनधारीहरू मध्ये प्राइमेटस् अर्थात् मानिस, बाँदर, गोरिल्ला आदिमा हुने प्राकृतिक प्रक्रिया हो । यस बाहेक अन्य स्तनधारीमा यो प्रक्रिया हुँदैन । महिनावारीले प्रजनन स्वास्थ्य राम्रो छ भन्ने संकेत गर्दछ । महिनावारी कुनै निर्धारित समयमा हुन्छ जुन मानवीय जीवनका लागि अपरिहार्य प्राकृतिक प्रक्रिया हो ।

असर
छाउपडीका रूपमा बसिरहेका बेला विभिन्न कारणले महिलाहरूले ज्यान समेत गुमाएका विवरणहरूका माझ सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले २०६२ साल यता छाउ गोठमा बस्दा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा १५ भएको अभिलेख आफूसँग रहेको जनाएको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे या यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।
दैलेखको भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाका १४ देखि १९ वर्ष उमेरका ४०० किशोरीहरूमाझ गरिएको अध्ययनले ७७ प्रतिशतले छाउपडी अभ्यास गरिरहेको देखाएको छ ।
महिनावारीको समयमा मन्दिर वा भन्सा कोठा प्रवेश नगर्ने, आफ्नो ओछ्यानमा नसुत्ने, कुनै पनि वयस्क सदस्यलाई नछुने किशोरीहरूको सङ्ख्या निकै ठूलो रहेको उक्त अध्यनयले देखाएको छ ।
९ प्रतिशतले आफूले छाउपडी अभ्यास नगरेपनि महिनावारीको समयमा आफ्नै ओछ्यानमा सुत्न नपाएको र ९३ प्रतिशतले डर÷छटपटी वा नराम्रो महसुस गरेको एक अध्यनले बताएका छन् ।
सन २०१४ देखि नेपालमा विभिन्न गैरसरकारी निकायको अगुवाईमा मे २८ का दिन, विश्व महिनावारी स्वच्छ्ता दिवस मनाईन्छ ।
महिनावारी श्राप होइन
किन महिनावारी बार्ने ? कसरी महिनावारी पाप हो ? जति पनि महिनावारीसँग जोडिएका बाध्यता, अन्धविश्वास छन् ती सबैको आगामी पुस्तासम्म पुग्न हस्तान्तरण हुनु नदिनका लागि प्रयास हुनु आवश्यक छ । महिनावारी हुने भएकै कारण महिनावारी नहुनेहरु भन्दा कमजोर छन् भन्ने अन्धविश्वास अर्को पुस्तामा पुग्न नदिनु नै उपलब्धि हुने छ ।

पर्यटकीय,धार्मिक स्थल लोब्रेकुटी

लोब्रेकुटी पाँचथर जिल्लाकै एक अत्यन्तै रमणीय सुन्दर ठाँउ हो।यो पर्यटकीय मात्र नभै धार्मिक स्थलको रुपमा पनि परिचित भुमी हो।लोब्रेकुटि १६ औ राष्ट्रिय विभूति  महागुरु फाल्गुनन्दको तपोभूमि हो। यो एककिसिमले महागुरु फाल्गुनन्दको खुल्ला संग्रहालयको रुप पनि रहेको छ।यहाँ बर्षमा दुई पटक बैशाख २४ गते र कार्तिक २५ गते भब्य समारोहका साथ विश्व शान्ती महायज्ञ गरिन्छ। कोरोना कहर आउनुपुर्व भरिभराउ यो स्थल अहिले भने शान्त छ । यहाँ १६ औ राष्ट्रिय बिभुती फाल्गुनन्दले बैशाख २४ गते सत्यधर्म मुचुल्का तयार गर्नु भएको दिनको सम्झनामा यो दिन समाज सुधार दिवसको रुपमा  मान्ने गरिएको छ। लोब्रेकुटी शान्त अनि सुन्दर छ,जहाँ समाज सुधारक फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते तत्कालीन १० लिम्बुवान् १७ थुमका किरात भेला गरेर सत्यधर्म मुचुल्का गराए । मुचुल्कामा उतिबेलै फाल्गुनन्दले छोरा र छोरीलाइ विभेद गर्न नहुने बुँदा समेटेका थिए । उनले समाज सुधारका विषय समेटेका थिए । मुचुल्कामा छोरीचेलीको सोत रीत खान नहुने, ईश्वरका नाममा बलि पूजा गर्न नहुने, किरातको धार्मिक संस्कारमा एकरूपता ल्याउनु पर्ने, मर्दापर्दा मासुको पिण्ड चढाउन नहुने, आफ्नै भाषा लिपिमा अध्ययन गरी लिपि जगेर्ना गर्ने जस्ता विषय थिए ।

किरात धर्म दर्शनका पुनरुत्थानकर्ता, समाजसुधारक, मुन्धुमको संरक्षणकर्ताका रुपमा फाल्गुनन्दलाइ लिइन्छ, लोब्रेकुटिमा फाल्गुनन्दले समाज सुधारका लागि विभिन्न प्रयास गरेका थिए । फाल्गुनन्दले तपस्या गरेको तथा प्राकृतिक सुन्दरताले भरिएको यो ठाउँमा पुग्दा नरमाउने को होला र ? अग्ला वरिपरि डाडा विभिन्न १३÷१४ खाले सल्ला सुसाउदा आनन्द कस्लाइ नहोला र? झपक्कै फुलेका लालिगुरासले सुगन्धित बनेको छ लोब्रेकुटी, फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाँउपालिका–२ चुक्चीनाम्बामा जन्मेका थिए । सरकारले २०६६ मंसिर १६ गते उनलाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषणा गरेको थियो ।

पहाडका घुर्मिला डाँडा, मनोरम प्राकृतिक दृष्य । फराकिला डाँडाले कस्को मन नलोभ्याउला र? पूजारी धु्रव तुम्बापो ले मन्दिरका साथै अन्य धार्मिक अनुष्ठान अनि संग्रहालयको बारे जानकारी गराए ।पानी झमझम पर्दा मौसम जाडो भयो। अलिकबेरमा रोकियो फराकिला डाडामा उभिएर यहाँको दृश्य पनि महसुस भयो।पानी प¥यो तर रुझ्नुको मजा बेग्लै भयो । कहिले कुहिरोले छोप्थ्यो त कहिले मौसम खुल्थ्यो ।लोब्रेकुटिलाइ महागुरु फाल्गुनन्दले १६ बर्ष सम्म कर्म थलोको रुपमा बिकास गर्नु भएको थियो।पिछडिएको समाजलाइ सामजिक रुपान्तरण र त्यो समयमा ज्ञान् प्रचार गर्नु भएको थियो।त्यो बेला महागुरुले महिलालाइ पनि सम्मान,शिक्षा र अधिकारको कुरा गर्नु भएको थियो।यो क्षेत्र महागुरु फाल्गुनन्दले बिश्व शान्ती र एकताको कुरा गर्नु भएको थियो। यो भुमि बाट मकालु,कुम्भकर्ण,कंचनजङा हिमशृखला देखिनु को साथै धार्मिक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण स्थल हो। यहाँ महिङगुम पनि छ बिशेषत किरातिहरुको फत्ताङलुङ (कुम्भकर्ण) जादा मात्र महान यात्रा गएको मानिन्छ।त्या पुग्न नस्क्ने बिरामी असक्त,असाय व्यक्तिहरु यो क्षेत्रमा धार्मिक यात्रा गरे या सेवा मात्र गरे पनि फत्ताङलुङ पुगे सरह हुने मान्यता हुने पुजारी बताउनु हुन्छ।

कोरोना कहरले महिला उद्यमी मारमा

विगतमा फिदिम बजार मेनरोडको गेट छेउमा रहेको लक्की ब्यूटी पार्लरमा निकै भीडभाड हुने गथ्र्यो । तर अहिले पार्लर सुनसान बन्द, सडक सुनसान छ । विगत १९ बर्षदेखि उक्त पार्लर सञ्चालन गर्दै आएकी लक्की सुजी गत बर्षदेखि ब्यवसायबाट निराश भएको बताउँछिन् । “दैनिक जसो ५०–६० जनालाई सेवा दिने गरेकी थिएँ । अहिले सेवा बन्द गरेर बस्नु परेको छ”, उनको भनाई छ । लक्कीका जस्तै समस्या र अप्ठ्याराहरु धेरैका छन् ।

कोभिड–१९ को पहिलो लहरले थिलोथिलो बनेको व्यवसायीक क्षेत्र दोश्रो लहरको चपेटामा परेको छ । यसमध्ये पनि महिलाहरुको लगानी तथा सहभागितामा सञ्चालन भएका उद्यम व्यवसायहरु बढी नै समस्या र जोखिममा परेका छन् । सदरमुकाम फिदिम र जिल्लाभरका व्यवसाय पूर्ववत् अवस्थामा फर्कन नपाउँदै कोभिड–१९ को दोस्रो लहर शुरु भएपछि व्यवसायीहरु निराश बन्दै गएका छन् । पहिलो लहरबाट पाठ सिकेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई विशेष ध्यान दिँदै सेवा सुचारु गरेका होटल, रेस्टुरेण्ट, ब्यूटी पार्लर जस्ता सेवामुलक ब्यवसाय सङ्क्रमणको दोश्रो लहर र लकडाउन (बन्दाबन्दी)बाट झनै समस्यामा परेका छन् ।

सन् २०१९ डिसेम्बरमा छिमेकी मुलुक चीनको बुहान शहरबाट शुरु भएको (कोरोनाभाइरस) कोभिड–१९ बाट विश्व नै आक्रान्त बनिरहेका बेला फिदिम पनि अछुत रहनसक्ने भएन । हालसम्म विश्वमा १६ करोड भन्दा बढी र नेपालमा चार लाख ४७ हजार व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण भएको छ । यो सामग्री तयार पार्दासम्म नेपालमा कोभिड–१९ सङ्क्रमणका कारण चार हजार ८५६ जनाको मृत्यु भइसकेको छ । पाँचथरमा समेत कोभिड–१९ सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

यस बर्ष नयाँ भेरियन्ट सहितको कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा जोखिमलाई न्यूनिकरण गर्न अहिले एक हप्ताका लागि पाँचथर जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा बिहान ५ बजेदेखि ९ बजेसम्म अत्यावाश्यक सेवा अन्तर्गतका ब्यवसाय सञ्चालनमा छन् भने अत्यावाश्यक बाहेकका यातायात, उद्योग ब्यवसाय बन्द छन् । बैङ्क तथा वित्तीय संस्थाहरुले सातामा तीन दिन मात्रै सेवा दिन थालेका छन् ।

अत्यावश्यक सेवामा खाद्य सामग्री, ग्रोसरी पसल, औषधि, इन्टरनेट, दूर सञ्चार, फोहोरका गाडी, दूधका गाडी, खानेपानी, एम्बुलेन्स बाहेक अरु पर्दैनन् । तर जिल्लामा यी बाहेक अन्य व्यबसायहरु पनि छन्, जुन अत्यावाश्यकमा पर्दैनन् । गत वर्ष महिनौंको लकडाउन अनि यो बर्ष फेरि शुरुआत भएको निषेधाज्ञाले कयौँ परिवारलाइ कोरोनाभाइरससँग मात्र होइन् भोकसँग लड्न पनि आत्मबल चाहिएको छ ।

पाँच लाख लगानीमा ब्यूटीपार्लर सञ्चालन गरेकी लक्की सामान्य अवस्थामा राम्रो आम्दानी गर्थिन । बिवाहको सिजनमा त दैनिक जसो २० देखि ३० हजार रुपैयाँसम्म कमाई हुने गथ्र्यो । पाँच जनाको परिवार खर्च उनको कमाइले धानेको थियो । तर कोभिड–१९ महामारी सुरू भएसँगै लामो समय पार्लरले दिने सेवा ठप्प भएपछि उठ्नै नसक्ने गरी व्यवसाय थला परेको उनी बताउँछिन् ।

पाँचथर उद्योग वाणिज्य संघमा दुई हजार एक सय संख्यामा व्यवसाय दर्ता भएका छन् जसमध्ये ६१४ महिला उद्यमी तथा व्यवसायीहरु छन् । घरेलु तथा साना उद्योग कार्यालय पाँचथरमा ३ हजार ६ सय ३० उद्यम, ब्यवसाय दर्ता भएका छन् । यहाँ दर्ता भएकामध्ये महिला महिला सञ्चालक रहेका उद्यम, ब्यवसायको संख्या २ हजार १ सय ९० छ ।

यी बाहेक जिल्लामा दर्ता नै नभएर पनि व्यबसाय सञ्चालित छन् । घरेलु कार्यालयका पाँचथरका प्रमुख माधव बाँस्कोटा भन्छन् “जिल्लामा धेरै त्यस्ता उद्योग व्यवसाय सञ्चालकको नाम महिलाका भएतापनि त्यसका हर्ताकर्ता वा व्यवस्थापक पुरुष नै छन् । दर्ता गर्न महिलाको हकमा कम रकम लाग्ने भएर पनि यस्तो भएको हो ।”

तर जिल्लामा यस्ता महिका उद्यमी, व्यबसायी पनि प्रशस्तै छन् जो आफैँले व्यवसाय सञ्चालन गरेर घर परिवार चलाएका छन् । यस्तो बिषम परिस्थिति सिर्जना भइरहँदा लकडाउनमा बन्द भएका व्यबसायी महिला यति बेला कसरी जीवन यापन गरिरहेका छन् भन्ने गहन प्रश्न छ ।

बिगत १५ बर्षदेखि प्रतिमा ढाका उद्योग सञ्चालन गरिरहेकी प्रतिमा पौडेल राना विगतमा यस्तो परिस्थिति नआएकाले सुरुआतमा समना गर्न निकै गाह्रो परेको वताउँछिन् । “शुरुशुरुमा त यसलाई सामना गर्न गाह्रो । यसरी लकडाउन भइराख्दा र मैले सञ्चालन गरेको व्यवसाय अत्यावाश्यक सेवामा पनि नपर्दा झनै गाह्रो चाहीँ हुने रहेछ । भाडा तिर्नै पर्‍यो । घर परिवार चलाउनै पर्‍यो ।”

“लकडाउन हाम्रै सुरक्षाका लागि भएपनि व्यवसायमा ठूलो घाटा पर्‍यो । हरेक सिजनमा १५० वटासम्म साडी विक्री गर्थेँ । अहिले त कोभिडले सखाब नै पार्‍यो”, रानाले भनिन्, “सिजनमा १७–१८ जनासम्म कालीगढ लगाएर काम गथ्र्यौँ । होलसेलमा सामान झापा र काडमाण्डाँै पठाउने गथ्र्यौँ । तर अहिले सबै ठप्प भएको छ, बचाएको पैसा खर्च गर्नुपरेको छ ।” उनको व्यवसायमा काम गर्ने कालीगढ पनि महिला तथा युवतीहरु नै हुन् ।

आठ वर्षअघि दश लाख रुपैयाँ लगानीमा शुरु गरेको न्यू मेरी जोन फेन्सी स्टोर पनि यतिबेला बन्द गुर्नपर्ने बाध्यता छ । दैनिक बिक्री हुँदा ४०–५० हजार सम्मको कारोबार हुने स्टोर बन्द हुँदा अत्यन्तै मारमा परेको सञ्चालिका प्रेमकला राई तुम्बापो वताउँछिन् । “आफैँले सोच्नु आठ हजार भाडा छ । पसल बन्द हुदाँ कसरी तिर्नु ?”, उनी भन्छिन्, “अघिल्लो पटक अलिअलि बचाएको पैसा चलायौँ । यस पटक धेरै दिन व्यापार गर्न पनि पाएका थिएनौँ । सुरु–सुुरुमा त वास्ता हुदैँन । पैसा सकिँदै गएपछि पो तनाव हुने रहेछ ।”

यस्तो पीडा सबैतिर छ । महिला उद्यमी व्यवसायीहरुलाई यस प्रकारको समस्याबाट जोगाउन पहल आवश्यक छ । महिला उद्यमी व्यवसायीहरुको कमी छ, लगानी डुब्दै जादा थप समस्या हुने र ब्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउनसक्छ ।

फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा सञ्चालित तिजोक होटलकी सञ्चालक बिना माया आङ्देम्बेको पनि पीडा उस्तै छ । “गाउँ घरमा चहलपहल कम छ । १७ बर्षअघि ७० हजारमा शुरु गरेको होटल गत बर्षदेखि कोरोनाले उस्किनै दिएको छैन”, उनले भनिन्, “परिवार पाल्नु पर्‍यो । होटलले मात्र घर धान्न नसक्ने भएर किराना पनि चलाएका छौँ । अहिले घर त्यसैबाट जसोतसो चलाउछौँ ।”

उनी थप्छिन् “मान्छे डरले आउँदैनन् । दिउँसो मनग्ये खाजा नास्ता बेच्थ्यौँ । दुई वटा कोठा पनि छन्, बाटो हिँड्नेहरु बस्नलाई । तर के आयो आयो रोग, अहिले त हामी आफैँ पनि कतै निस्किदैनौँ, व्यवसाय पनि चौपट छ ।”

यी प्रतिनिधि उदाहरण मात्र हुन् । ब्यूटी पार्लर, ढाका उद्योग, कस्मेटिक, फेन्सी लगायत पसल ब्यवसाय सञ्चालन गरेर गरेर आत्मनिर्भर बन्दै गएका महिलालाई कोभिड–१९ ले परनिर्भरतातिर धकेलिदिएको छ । बालबच्चाको शिक्षादेखि घर खर्चसम्म धानिरहेका महिलाले अहिले खर्च व्यवस्थापनमा समस्या आउनु दुःखद हो ।

उद्योग बाणिज्य संघ, घरेलु कार्यालयमा दर्ता भएर, कानूनी प्रावधानमा बाँधिएर, सरकारलाई कर बुझाएर व्यवसाय सञ्चालन गरिरहेका यस्ता ब्यवसायीलाई सरकारले हेर्ने भनेकै दुःख पाएको बेलामा हो । ग्रामीण क्षेत्र, ग्रामीण बजारदेखि शहरी क्षेत्रका महिला व्यवसायीलाई प्रोत्साहन गर्ने, सहयोग गर्ने तथा राहत दिने काममा अब राज्यले ध्यान दिनु आवश्यक छ ।

यस्ता ब्यवसायीहरु आफैँलाई रासन पानीको समेत समस्या हुने अवस्था निम्तन लागेको छ । अप्ठ्यारोमा परेकालाई सहुलियत ऋणसँगै भाडा छुट मिलाइदिए पनि आफैँ केही गर्छु भनी अगाडि बढेका महिला ब्यवसायीहरुलाई निकै ठूलो राहत हुने थियो । अहिले तीनै तहका सरकारले सहयोग नपुर्‍याए उद्यमशीलतामा लागेका महिला पलायन हुने अवस्था सिर्जना हुन बेर लाग्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.