सरकार युवालाई पसिना बेच्न बिदेश पठाउने की नीति बनाउने ?

रिपोर्ट नेपाल | 2021 Mar 30 | 12:27 pm 3273

  • वसन्त भुजेल

हाम्रो मुलुकका हरेक दलभित्र गुट, उपगुटको राजनीति चलिरहेको छ । सत्ता स्वार्थको राजनीतिले देश अघि बढन सकेको छैन । नेताहरुमा राजनीतिक संस्कार छैन । राजनीतिक विसंगतिले देश माथि उठ्न सकेन । यस्तो अभ्यासले नेपाली समाज अघि बढन सक्दैन । अहिले कुनै पनि दलका नेताहरुसँग देश विकासको स्पस्ट भिजन देखिँदैन । नेताहरुसँग भ्रष्टाचार नियन्त्रण गर्ने कुनै कार्य योजना छैन । नेताहरु पद, पैसा र फाइदाको राजनीतिक खिचातानीमा ब्यस्त छन् । सबैलाई मिलाउन सक्ने नेतृत्वको अभाव छ । देशमा सुशासन कायम हुन सकेको छैन । विधिको शासनमा देश चल्न सकेको छैन । आफ्नै दलभित्र नेताहरु मिल्न सक्दैनन् । यहाँ राजनीतिक संस्कारको कमी छ । हाम्रो देशका दलमा सिद्घान्त, निष्ठा, आदर्श, विचार र पद्घतिको कुनै वास्ता छैन ।

नेपालका मिडिया पनि राजनीतिकदल तथा नेतामुखी छन् । डिएफ आइडी र गोर्खा वेलफेयर ट्रष्टले गरेका राम्रा काम कुनै मिडियाले लेख्दैनन् । सरकारमा रहनेहरुले समेत थाहा नपाएको जस्तो गर्छन् । मेलम्चीको खानेपानी काठमाडौं आउन विसौं वर्ष लाग्छ । डुब्न लागेको विद्युत प्राधिकरणको उद्धार गरेर लोडसेडिङ मुक्त गरेवापत कुलमान घिसिङलाई दण्डित गरिन्छ र आफ्ना साला भतिजालाई विद्युत प्राधिकरणमा पजनी गरिन्छ । चोरलाई चौतारी र साधुलाई शुली चढाउने तिनै केपी ओलीको जय जयगानमा राज्यको ढुकुटी खर्चेर जय जयगान गरिन्छ । अनि केपी ओली जस्तै कहावत बन्छ देश ।

बेलायतमा जस्तै सरकारले गरेका राम्रा नराम्रा सबै कामहरु मिडियामा पारदर्शी रुपमा आउने हो भने हाम्रो मुलुकका धेरै विकृतिहरु समाप्त हुनेछन् । आफूले तिरेको कर कहाँ कहाँ र कसरी कसरी खर्च भइरहेको छ ? भन्ने कुरा जनताले थाहा पाउनु पर्छ कि पर्दैन ? यदी पारदर्शी हुने हो भने नेपालले विकास र समृद्धिमा छलाङ मार्न धेरै वर्ष लाग्दै लाग्दैन । यदी भ्रष्टाचार नहुने र विकासको वातावरण बन्ने हो भने चाहिए जति लगानी विश्वबाट ओहिरो लाग्नेछ । अरु धेरैलाई गुहार्नै पर्दैन, विश्वभरी छरिएर रहेका नेपालीहरुलाई आह्वान गरिदिए मात्रै पुग्छ ।

भिराला पहाडहरुलाई डोजरले उधिन्नु मात्रै विकास होइन । जलस्रोत, कृषि र पर्यटनको विकासमा लगानी बढाउनु पर्छ । यसो भयो भने जनता आफै समृद्ध हुनेछन् । ठूला उद्योग स्थापनाका लागि वातावरण बन्नासाथ रोजगारी सृृजना हुन्छ । सस्तो पारिश्रमिकमा काम गर्न युवाहरुलाई विदेश पठाउने र उनीहरुको रेमिट्यान्सले दैनिक उपभोग्य बस्तु आयात गर्ने वर्तमान शिलशिला जहिलेसम्म अघि बढ्छ तहिलेसम्म देश कंगाल हुँदै जान्छ । यस्तो पाराले मुलुक कहिल्यै आत्मानिर्भर हुँदैन ।

नेपालको आर्थिक समृद्धिका लागि सम्भावनाको क्षेत्र भनेको कृषि र पर्यटन नै हो । अरु सम्भावनाका क्षेत्र भनेका अस्थायी हुन् । नेपालको जनगणना, २०६८ का अनुसार कृषि क्षेत्रमा ७३ प्रतिशत श्रमशक्ति काम गरिरहेको छ । सदियौं देखि कृषि नै रोजगारी र सम्पत्तिको आधार बनेको छ । बहुसंख्यक मानिसहरू कृषि पेशामा आवद्ध छन् । कृषि योग्य भूमि कृषक परिवारको अचल सम्पत्तिका रूपमा रहेको छ । कृषि क्षेत्रले मुलुकको जडिपीमा करिव ३५ प्रतिशत योगदान गरिरहेको छ । ७३ प्रतिशत मानिस काम गर्ने क्षेत्रमा यो अनुपात निकै न्यून हो । यसबाट के देखिन्छ भने कृषि व्यवसाय अंगाल्नेहरूमा गरिवीको मात्रा बढी छ । फेरी ८३ प्रतिशत मानिसहरू ग्रामीण भेगमा बस्ने र ती मध्ये अधिकांशको पेशा कृषि नै रहेको छ । गरिवीको मात्रा गाउँमा बढी भएको तथ्यले पनि कृषि व्यवसायीहरू बढी गरीव छन् भन्ने देखिन्छ ।

कृषि क्षेत्रको संचालन परम्परागत ढंगबाट हुँदै आएको छ । नयाँ कृषि प्रविधिको विकास हुन सकेको छैन । जीविका निर्वाहको आधार मात्र बनेको छ कृषि । यसको व्यवसायिकरण हुन नसकेको अवस्थाले बढी योगदान गर्न नसकेको देखिएको छ । कृषि उत्पादन अभिवृद्धि गर्न पूर्वाधार विकास जरुरी छ । कृषिलाई सिंचाई सुविधा महत्वपूर्ण छ । करिव १८ प्रतिशत खेतियोग्य भूमिमा मात्र सिंचाई सुविधा पुगेको छ । ग्रामीण सडकहरूको विकास अझै महत्वपूर्ण पक्ष हो । यसैगरी कृषि वजारको विकासले कृषि क्षेत्रको समग्र विकासमा योगदान गर्दछ । तर कृषिका पूर्वाधारहरू पर्याप्त हुन सकेका छैनन् ।

परम्परागत खेतीवाली र पशुपालनमा आधारित रहेको छ– कृषि क्षेत्र । भौगोलिक अवस्थिति अनुसार कृषिको विविधकरण हुन सकेको छैन । बहुखेती प्रणाली, नगदेवालीको उत्पादन, फलफूल खेती, पशुपंक्षी पालन जस्ता क्षेत्रले योगदान दिन सक्छ । विश्वमा भईरहेको जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा बढी पर्दछ, कारण सिंचाई सुविधामा हुने फरकपना, अतिवृष्टि, अनावृष्टि, तापक्रम वृद्धिबाट वाली विकासमा हुने अवरोध, रोगको संक्रमण आदि । नेपाल जस्ता अति कम विकसित राष्ट्रले वातावरणीय दुस्प्रभावबाट बच्ने असरहरूलाई न्यून गर्ने उपाय अवलम्बन गर्न नसक्दा यस्ता असरहरू बढी हुने खतरा पनि रहन्छ ।

नेपालको विकास योजनाहरूमा कृषि जहिले सुकै प्राथमिकताको क्षेत्रमा परेको देखिन्छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरालाई सबै जसो योजनाहरूले जोड दिएका छन् । कृषिको उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्न सिंचाई सुविधाको विकास गर्ने, आधुनिक प्रविधि अनुशरण गर्ने, वजार पहूँच स्थापित गर्ने र कृषि सडकको विकास गर्ने कुरामा पनि योजनाले जोड दिएका छन् । कृषकहरूलाई व्यवसायिक कृषिका लागि सहुलियतपूर्ण कर्जा, वीउ, मलमा अनुदान दिने नीति पनि रही आएको देखिन्छ । उन्नत जातका कृषि वालीको अनुसन्धान तथा विकास गर्ने तथा कृषकलाई परामर्श दिने जस्ता कार्यक्रम पनि योजनामा समावेश हुने गरेका छन् ।

यसैगरी नेपालमा पर्यटनको सम्भाव्यता अत्याधिक रहेको छ । नेपालमा भौगोलिक तथा प्राकृतिक विविधता रहेको छ । साथै सांस्कृतिक विविधता, ऐतिहासिक धरोहरहरूका कारण पनि नेपाल पर्यटकीय गन्तव्यका रूपमा रहन सक्ने देखिन्छ । पर्यटन प्रवद्र्धनकै कारण विश्वमा धेरै राष्ट्रहरूको आर्थिक विकासमा सहयोग पुगेको छ । थाइल्याण्ड, माल्दिभ्स, जमैका, स्वीट्जरल्यान्ड जस्ता देशहरूको अर्थतन्त्रमा ठुलो हिस्सा पर्यटनले ओगट्दछ । विश्वकै अग्ला हिमश्रृंखला, हिमनदी, ताल तलैया, दुर्लभ वन्यजन्तु र चराचुरुंगी पाइने राष्ट्रिय निकुञ्जहरूका कारण पर्यटकीय आकर्षण बढ्न सक्ने देखिन्छ । पर्यटन अर्थतन्त्रको दिगो श्रोत पनि हो । यस क्षेत्रको लाभलाई ग्रामीणस्तर सम्म र सिमान्तकृत वर्गसम्म सजिलै पुर्याउन सकिन्छ । विदेशी मुद्राको प्राप्ति, रोजगारी सिर्जना, घरेलु उद्यमको विकासबाट आयमा वृद्धि, स्थानीय उत्पादनको खपत, होटल –रेष्टुरेन्टको प्रवद्र्धन, हवाई तथा स्थल यातायातको विकास गर्ने माध्यम हो पर्यटन । यसले धार्मिक–सांस्कृतिक क्रियाकलापको अभिवृद्धि समेत गर्दछ । त्यसैले आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा पर्यटन रहेको हुन्छ । पर्यटनको विकासमा महत्वपूर्ण माध्यम बन्ने हवाई सेवाको विकास र विस्तारमा निजी क्षेत्रले योगदान गरेको छ, यद्यपि अन्तर्राष्ट्रिय हवाई सेवा विस्तारमा भने प्रगति हुन सकेको छैन ।

कृषिको उन्नती गर्ने हो भने सिंचाइ र मलको राम्रो व्यवस्था गर्नुको विकल्प छैन, तर अथाह जलस्रोत खेर गइरहेको छ, किसानहरु आकाशेपानीमा भरपर्न वाध्य छन् । रासायनिक मल कारखाना स्थापना तर्फ सरकारले ध्याननै दिएको देखिन्न । जवकी नदीहरुमा वाँध बाँधेर जलविद्युत निकाल्ने, यसरी बनेको जलासयबाट सिंचाईको प्रवन्ध गर्ने, जलासयमा माछापालन, पर्यटन तथा साना पानीजहाज चलाउने हो भने नेपालीहरु विश्वकै सुखी तथा समृद्ध नागरिक बन्ने छन् । कोही पनि रोजगारीका लागि विदेश जानु पर्ने छैन । नेपालको चिसो पानीमा पाइने असला तथा ट्राउट माछा विश्वका ठूला शहरमा महंगो मुल्यमा विक्रि हुन्छन् । नेपालको चिसो हावा पानीमा उत्पादित अग्र्यानिक कृषि उपज विश्व वजारमा चर्को मुल्यमा विक्रि हुन्छ । उच्च पहाडी क्षेत्रमा भेडा बाख्रा पालनको सम्भावना उत्तिकै छ । हरियो वन नेपालको धन भन्ने उखान त्यसै बनेको होइन । वनको संरक्षण गरिदियो भने मात्रै पनि विदेशी पर्यटकको ओहिरो लाग्छ । पछिल्ला दिनमा उच्च पहाडी क्षेत्रमा जंगल ट्रेकिङ धनी पर्यटकहरुको अब्बल रोजाईमा पर्न थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.