मोरङ, २७ कातिक : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको समृद्धि, विकास र शान्तिका लागि छठ व्रत बसेका छन् ।उनले आफ्नो संकल्प पूरा गर्न विराटनगर महानगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिरबाट आज दिउँसो १२ः४ बजे प्रणाम गर्दै छठ पर्व मनाउने घाटतर्फ प्रस्थान गरेका हुन् ।
करीब साढे तीन किमीको यात्रा उनले चार घण्टा घस्रदै अर्थात् दण्डप्रणाम गर्दै नदी किनारमा पुगेर बेलुका सूर्य भगवानलाई अघ्र्य दिनछन् ।
छठ पर्वमा गर्ने सबै विधि अपनाएर उनले यस वर्ष १५ औँ पटक दण्डप्रणाम गर्दै छन् भने उनलाई दुई जना भतिजा रमेश पराजुली र मनिष पराजुली साथ दिएका छन् ।
आफ्नो लागि त सबैले व्रत बस्छन् तर नगरको विकासका लागि संकल्प लिएर कठिन व्रत बसेर दण्ड प्रणाम गर्दै नदी किनारसम्म जाने यस्तो जनप्रतिनिधिको संकल्प पूरा होस् भनी स्थानीय इन्द्रप्रसाद दाहालले कामना गरेका छन् ।