विचौलियालाई मन्त्री चक्रपाणीले दिए चेतावनी

रिपोर्ट नेपाल | 2018 Jul 03 | 06:03 pm 3467

काठमाडौं,असार १९ : कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले मुलुकको हरेक क्षेत्रमा रहेका विचौलियालाई समाप्त नपारेसम्म देश र जनताले सुख नपाउने बताएका छन् ।

विचौलियाले सबै भन्दा बढी मेहनत गरेर उब्जनी गर्ने कृषकलाई शोषण गरेको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै मन्त्री खनालले भदौसम्म पनि कालिमाटी तरकारी बजारमा भइरहेको ज्यादति नहटाए कालिमाटी बजार नै हटाईदिने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाएको बताउँदै आफूले भदौसम्म सुध्रने मौका दिएको जानकारी दिए ।

मन्त्री खनालले भने, ‘भदौसम्मपनि कुनै सुधार भएन भने कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं । सुधारको लागि हदैसम्मको समय दिइएको छ ।

त्यति गर्दा पनि कुनै सुधार भएन भने बजार हटाइन्छ ।’ उनले कालिमाटी फलफुल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरुले समितिले निर्धारण गरेको मूल्यभन्दा दशौं गुणा बढि मूल्य लिएको भेटिएकोले आफूले स्थलगत अनुगमनका क्रममा सुधार हुन निर्देशन दिएको बताए ।

‘समितिसँग १० हजारमा स्टलहरु उक्त स्टलहरु आफूले नचलाइकन दशौं गुणा बढि पैसा लिएर अरुलाई चलाउन दिइएको भेटियो । दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको मन्त्री खनालको भनाइ रहेको थियो ।

यो हदैसम्मको लापरवाही र विचौलियापन भएको मन्त्री खनालले बताए । समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ यदि त्यसो नगर्ने हो भने तुरुन्त स्टल खोस्नु पर्ने खनालको भनाइ छ ।

यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु ।’ कतिपय स्टलहरुमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरु राखिएको उनको कथन छ ।

मन्त्री खनालले किसानहरुले आफूले उत्पादन गरेका वस्तुहरु सिधै उपभोक्ताहरुसमक्ष पुर्याउने वातावरण बनाउने पनि विश्वास दिलाए । उनले भने, ‘अहिले त धेरै लेयरहरु देखिएका छन् । ती सबै तोड्न जरुरी छ ।

ताजा वस्तु, सही समयमा त्यो पनि उचित मूल्यमा उपभोक्ताहरुले पाउने वातावरण बनाउँछु ।’ मन्त्री खनालले दुध र पानीमा कोलिफार्म र सोडा भेटिएको उल्लेख गर्दै भने, ‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दुधका नमूना संकलन गरेर परिक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुनै मात्रामा सोडा पाइएको छ ।

तर, धेरैजस्तो दुधमा दुध नफाटोस भनेर मात्रै सोडा प्रयोग गरेको पाइयो । अब त्यसो पनि गर्नुभएन । उपभोक्ताले स्वच्छ दुध पिउन पाउनुपर्छ ।’ त्यस्तै जार र मिनरल वाटर लगायतका पिउने पानीमा समेत कोलिफार्म भेटिएको मन्त्री खनालको भनाई थियो ।

खनालले पानीमा देखिएको खराबीमा आफूहरुले दिएको निश्चित् समयसिमाभित्र पनि सुधार नगरे बाध्य भएर पानी उद्योगमा तालाबन्दी गर्ने पनि चेतावनी दिए ।

उनले भने, ‘पानीको ४२ वटा नमूना लिँदा झण्डै ३९ नमूनामा कोलिफार्मको मात्रा भेटिएको छ यसलाई पनि शुन्यमा झार्नुपर्छ ।

मन्त्रालयमा गठित अनुगमन संयन्त्रलाई निर्देशिका तत्काल लागु गर्नका लागि निर्देशन दिएको बताउदै मन्त्री खनालले आगामी तीन महिनाभित्र सुधार नभए निर्देशिका बमोजिम जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई आवश्यक कारबाही गरिने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.