राहतको अपेक्षामा बसेका पीडितले कतैबाट पनि सहयोग नगरेपछि उपेक्षाको महसुस

रिपोर्ट नेपाल | 2019 Apr 04 | 09:18 am 1870

बारा, चैत्र २१ : जिल्लाको महागढीमाई नगरपालिका, सुवर्ण र देवताल गाउँपालिकामा हावाहुरीपीडित स्थानीयले ४ दिन बितिसक्दा पनि सरकारी र गैरसरकारी निकायबाट राहत सहयोग प्राप्त गर्न सकेका छैनन् ।

हुरी प्रभावित क्षेत्रका लागि भनेर सरकारी र निजी क्षेत्रले वितरण थालेको राहत फेटा गाउँपालिकामा मात्र केन्द्रित भएपछि अन्य क्षेत्रका बासिन्दा थप बिचल्लीमा परेका छन् । राहतको अपेक्षामा बसेका पीडितले कतैबाट पनि सहयोग प्राप्त गर्न नसकेपछि उपेक्षाको महसुस गर्न थालेका छन् ।

फेटासँग सीमा जोडिएको देवतालको रामपुर्वा, सुवर्णको पर्शुरामपुर, हर्दिया, बगही र जमुनिया, महागढीमाईको तेलगाई टोलमा हुरीले धनजनको ठूलो नोक्सानी पुर्याएको छ । आइतबार आएको हुरीबतासबाट सुवर्ण र महागढीमाईमा गरी ३ जनाको ज्यान गएको र यस क्षेत्रमा पक्कीसहित ७ सय घर भत्किएको बारा क्षेत्र नम्बर २ बाट संघीय संसद्का सदस्य रामसहाय यादवले जानकारी दिए । उनले अन्य निकायबाट राहत र सहयोगमा चासो नदेखाइपछि पीडित स्थानीय थप बिचल्लीमा परेको पनि सुनाए ।

उनले बारम्बारको अनुरोधपछि बुधबार दिउँसोबाट जिल्ला प्र्रशासन कार्यालय र केही निजी क्षेत्रबाट पनि राहत आउने क्रम शुरु भएको तर पर्याप्त नभएको बताए । सुवर्ण गाउँपालिका–४ का ३२ वर्षीया रजिया खातुन, ७० वर्षीय श्रीप्रसाद यादव र महागढी नगरपालिका तेलगाईका ७२ वर्षीया कैलीदेवी यादवको ज्यान गएको छ । २ गम्भीरसहित घाइतेको संख्या यो क्षेत्रमा पनि ३ सयभन्दा बढी छ । सुवर्णका दुई गम्भीरको गम्भीर अवस्थामै काठमाडौंमा थप उपचार भइरहेको छ ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पनि अहिलेसम्म गाउँमा कतैबाट पनि राहत÷सहयोग नआएको बताए । राहत अभावमा स्थानीयले खाने सामग्री र बस्ने स्थानको समस्या बेहोर्नु परेको उनले बताए । गाउँपालिकाले नजिकैको विद्यालयमा राखेर पीडितलाई २ छाक खाना र रात बिताउने व्यवस्था गरेको छ, अध्यक्ष यादवले भने– बाहिरको सहयोग पाइएको छैन ।

संघीय सांसद तथा संघीय समाजवादी फोरम नेपालका महासचिव समेत रहेका रामसहायप्रसाद यादवले सबैको ध्यान फेटामा मात्र रहेकोले अन्य क्षेत्रका पीडित ओझेलमा परेको बताए । मंगलबार दिउँसो उपचारको क्रममा थप एक बालकको मृत्युपछि फेटामा हुरीबतासको वितण्डाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । सबैको ध्यान एकातर्फमा गएको छ, उनले भने– मानवीय क्षति कम भए पनि घरगोठ र धनमालको हिसाबले अन्य क्षेत्रमा फेटाको पुरैनिया र भलुहिभर्वोलियाको भन्दा बढी क्षति भएको छ । फेटाबाहेक अन्य हुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश मुख्यमन्त्री लालबाबु राउतले पनि बेवास्ता गरेको आरोप लगाए । प्रधानमन्त्री र संघीय सरकारका अन्य मन्त्री त आएनन् आएनन्, मुख्यमन्त्रीले पनि आउँछु भनेर ढाँटे –उनको भनाइ छ ।

आफ्नो बस्तीमा सान्त्वनासम्म पनि दिन कोही नआएकोमा हुरीका कारण श्रीमती गुमाएका महागढीका नपाका ८५ वर्षीय जगदीशप्रसाद यादवसँग ठुलो दुखेसो छ । गाउँको सडकबाट राहत बोकेका गाडी हुइँकिन्छन्, उनले भने– बस्तीमाथिको आकासबाट हेलिकोप्टर पनि उड्छ तर हेर्दै नहेरी सबै उतै हुइँकिन्छन ।

यसैबीच विध्वंशकारी हुरीले भएका भौतिक क्षतिको विरण सरोकारवालाले अझै संकलन गर्न सकेको छैन् । सरोकारवाला निकाय स्थानीय तह, प्रशासन, प्रहरी र विषयगत कार्यालयले विवरण संकलन गर्न नसक्दा अझै पनि क्षति यकिन हुन सकेको छैन । किसानको बालीनाली, घरभित्रको अन्नपात, भौतिक सामाग्री, भवनको भौतिक संरचना, नगद, गरगहना वा अन्य सम्पत्तिलगायत विद्युतको पोल तार, ट्रान्सफरमर, सार्वजनिक भवन समेत गरी जिल्लामा अर्बौंको क्षति भएको अनुमान गरिएको छ ।

सरकारी कार्यालयहरुबीच समन्वय र कर्मचारीको सक्रियता अभावमा यस्तो स्थिति आएको बताइएको छ । ‘स्थानीय तह, विषयगत कार्यालयलगायतलाई राखेर क्षतिको विवरण संकलन गर्ने बारेमा सम्बन्धित निकायले अहिलेसम्म कुनै निर्देशन नगरेको एक सरकारी अधिकारीले बताए । (आजको नेपाल समाचारपत्रमा प्रकाशित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.