भन्सार विभागको टोली अनुसन्धानका लागि विमानस्थलमा

| 2023 Jul 20 | 11:29 am 1369

काठमाडौँ, साउन ४ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट बुधबार बाहिरिएको सुनका विषयमा अनुसन्धान गर्नका लागि भन्सार विभागले विहिबार एउटा विशेष छुट्टै टोली खटाएको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले करिब १ सय किलो सुन बरामद गरे पछि विभागले अनुसन्धानका लागि विशेष टोली खटाएको हो ।

बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा रहेको बुझिएको छ । जिम्मेवारीमा रहेका चन्द र ढकालले नै उक्त सामानको जाँचपास गराएको समाचार स्रोतको दावी छ ।

समाचार स्रोतका अनुसार पैठारीकर्ताले आफ्नो विवरण उल्लेख गरी कार्गोमार्फत् सुन नेपाल ल्याएका थिए । कार्गोमार्फत् आउने सबै सामान विमानस्थलको कार्गोबाट सोझै भन्सार कार्यालयको गोदाममा आउने गर्छ ।

गोदाममा आएका सामानहरु जाँचपास गरेपछि मात्रै सम्बन्धित व्यक्तिले बाहिर ल्याउन पाउँछ तर त्यति ठूलो मात्राको सुन बाहिरिएको घटनाले यस्ता कृयाकलाप यस अघि पनि नभएको भन्न सकिने अवस्था रहेन । फ्रान्सेली नागरीक चाल्र्स शोभराजले नेपाली एयरपोर्टबाट सुनको हात्ति छिराइदिन सक्ने भनेर दिएको अभिव्यक्तिलाई स्मरण गराउने गरी बुधवार बाहिरिएको सुनका विषयमा गहिरो अनुसन्धान गरी तस्करी गराउने कर्मचारीलाई हदैसम्मको कारवाही हुनु पर्ने सर्वसाधारणको माग रहेको छ । मुलुक आर्थिक संकटले छटपटाइरहेको बेला यति धेरै मात्राको सुन भन्सार छलि गराइनु भनेको जघन्य अपराध भएकोले झारा टार्नका लागि विशेष अनुसन्धान समिति नभएर जनताले देखिने गरी कारवाही हुनु पर्ने आवाज उठेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका अरुण पोखरेल बिरामी भएका कारणले दुई महिना घर विदामा बसेका बेला उनको स्थानमा निमित्त कार्यालय प्रमुखका रुपमा नारद गौतम रहेका छन् । सुन तस्करीमा संलग्न कर्मचारीलाई मात्र निलम्बन गर्ने की गहन अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्ने आवाज उठन थालेको छ । यसका लागि सम्बन्धित निकायले गम्भिर भएर ध्यान दिन जरुरी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.