प्रजातन्त्र जोगाउने आन्दोलनको नेतृत्व कांग्रेसले लियोस

रिपोर्ट नेपाल | 2020 Dec 09 | 11:34 am 3760

  • बसन्त भुजेल

विश्वको महाशक्ति राष्ट्र अमेरिकामा जो बाइडेनको उदयले भ्रष्ट, दुष्ट र अहंकारी शासकहरुका दिन छोटिँदै गएको संकेत देखाएको छ । अब विश्वले छोटे किम जो उन जस्ता लोकतन्त्रको खोल ओढेका नेपालका अधिनायकवादी नेताहरुको पनि अन्त्य हुने दिन नजिकिँदै आएको छ । निभ्न लागेको बत्ति केहीबेरका लागि चम्के जस्तो नेपालका अधिनायकबादीहरु यतिबेला चम्केका छन् ।

हरेक १२ वर्षमा खोलो पुरानै ठाउँमा फर्कन्छ भन्ने उदाहरण छ । नेपालका सन्दर्भमा पनि हरेक दश–दश वर्षमा राजनीतिक उथल पुथल हुने गरेका दृष्टान्तहरु धेरै छन् । अब राजनीतिक परिवर्तन हुने बेला आइसकेको हो की भन्ने संकेत १८ पटक प्रधानमन्त्री पदका लागि चुनाव लडेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीले गरेको छ । आफ्नो गृह जिल्ला गएर सामान्य कार्यक्रममा सरिक हुन समेत पौडेललाई लोकतान्त्रिक शासन व्यवस्थाले अवरोध पुर्यायो । लोकतन्त्रको नाममा कस्तो शासन व्यवस्था स्थापना भएको रहेछ ? भन्ने कुरा पौडेलले अब बुझे होलान ।

नेपालका सन्दर्भमा हेर्ने हो भने शासन सत्ताका पात्र बदिलिए पनि प्रवृत्ति बदलिन सकेको देखिन्न । नयाँ बोतलमा पुरानै रक्सी राखे जस्तो देखियो । उदाहरणका लागि मुलुक एकीकरण पछिका घटनालाई लिन सकिन्छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको देहवासन पछि लामो कालखण्डसम्म मुलुक यस्तो दुश्चक्रमा फस्यो कि, कुनै पनि प्रधानमन्त्री आफ्नो कालगतिले मर्न पाएनन् । हुँदा हुँदा नेपाल अंग्रेजसँग सुगौली सन्धी गर्नुपर्ने वाध्यतामा फस्यो । नेपालको एकतिहाई भूभाग मात्रै गुमेन, अंग्रेजको अर्ध उपनिवेस जस्तो बन्यो । त्यो दुस्चक्रलाई तोड्दै जंगबहादुर राणाले शासन सत्ता हातमा लिए । अकालमा प्रधानमन्त्री मारिने दुस्चक्रको अन्त्य गरे । आफ्नो पालामा जंगबहादुरले धेरै काम गरे । अंग्रेज कालिन भारतसँगको सीमाना व्यवस्थित गरे । सुगौली सन्धीमा गुमेको भूभागमध्ये कैलाली, कञ्चनपुर, बाँके, बर्र्दिया फिर्ता ल्याए । जंगबहादुरले आरम्भ गरेको राणा शासन १ सय ४ वर्ष चल्यो । नेपालको आधुनिक इतिहासमा सबै भन्दा लामो राजनीतिक स्थिरता यही कालखण्डमा भयो । तर राणा शासकहरुले युग सुहाउँदो विकास गर्न सकेनन् । नेपाली कांग्रेस र राजाको सक्रीयतामा भएको २००७ सालको जनक्रान्तिले राणा शासन ढल्यो । तर राजा र काँग्रेसको स्वार्थ बाझिँदा मुलुक फेरी राजनीतिक अस्थिरता तर्फ धकेलियो । नेपाली कांग्रेसले राणाहरुले प्रयोग गरेको अधिकार जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले प्रयोग गर्नु पर्ने लाइन लियो । यता राजाले भने आफ्ना पुर्खाबाट राणाहरुले हडपेको अधिकार आफुमा फिर्ता आएको ठाने । यही टकरावका कारण २०१७ सालको काण्ड भएको थियो । जनताका प्रतिनिधिहरुलाई जेलमा राखेर राजाहरुले ३० वर्षसम्म निरंकुश शासन गरे ।

विकास निर्माण तथा सामाजिक चेतना अभिवृद्धिको दृष्टिकोणले १ सय ४ वर्षको राणा शासन भन्दा ३० वर्षको पंचायती शासन राम्रो मानिन्छ । तर जनताको चेतना स्तर धेरै नै माथि पुगेका कारण पंचायती निरंकुुशता टिक्न सकेन । २०४६ सालको आन्दोलनद्धारा पंचायत फालियो । मुलुकमा बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापना भयो । जननिर्वाचित शासन सत्ता स्थापना भयो । तर शासकहरुको कार्यशैली भने राणा र पंचायतको भन्दा फरक महशुस जनताले गर्न पाएनन् । जनता असन्तुष्ट बने । यही असन्तुष्टिको मौका छोपेर राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए । दलहरुले फेरी आन्दोलन गरे । राजा फाल्ने शर्तमा भारतले आन्दोलनमा साथ दियो । भारतकै साथ सहयोगका कारण राजतन्त्र फालियो । राजतन्त्र फालिएको पनि १२ वर्ष पुगिसेको छ । जनता फेरी राजतन्त्र पुनर्वाहालीका लागि सडकमा उत्रेका छन् ।

बहुदलीय प्रतिस्पर्धामा भाग लिएर आवधिक निर्वाचन मार्फत शासन सत्तामा पुग्नु कम्युनिष्टहरुको मुल सिद्धान्त होइन । बलप्रयोग गरेर शासन सत्ता कब्जा गर्ने र त्यसपछि सँधैका लागि शासन चलाउनु नै कम्युनिष्टहरुको मुल सिद्धान्त हो । तर नेपालमा कम्युनिष्टहरु बहुदलीय संसदीय व्यवस्थामै समाहित भए । आवधिक निर्वाचनमा भाग लिए । बहुदलीय व्यवस्थाकै अंग बने । प्रजातन्त्रका लागि यो सकरात्मक कुरा थियो । तर नेपालका कम्युनिष्टहरु नक्कली पो रहेछन् । विदेशीका अरौटे भरौटेहरु पो रहेछन् । देश जोगाउनु पर्छ, देश विकास गर्नु पर्छ, जनतालाई सुख शान्ति दिनु पर्छ भन्ने चेत यिनिहरुमा एकरत्ती पनि रहेनछ । सत्तामा पुगेर राज्यका स्रोत साधन आफ्नो कब्जामा लिने र बाँडी चुँडी खाने उद्देश्यका लागि कम्युनिष्टको खोल ओढेर संगिठत भएको झुण्ड पो रहेछ । यो रहस्य अब छताछुल्ल भएको छ ।

विदेशीको रिमोट कन्ट्रोलमा चल्नेहरुको झुुण्डको हातमा मुलुकको शासन सत्ता पुग्नु भनेको सामान्य समस्या होइन । नेपाली जनता उठ्नु पर्ने बेला गुज्रिन लागिसकेको छ । बेला गुज्रेपछि उठ्नुको कुनै अर्थ रहन्न । गणेशमान सिंहले नेपाली जनताको प्रवृत्तिलाई भेडाको संज्ञा दिएका थिए । हो कि क्या हो जस्तो देखिएको छ । केही दिन भयो जनता जाग्न थालेका छन् । यो शुभ संकत हो । यदि नेपालको भविष्य अन्धकार छैन भने अहिले सुरु भएको आन्दोलनले छिटै गति लिनेछ । राज संस्था कि, प्रजातन्त्र ? भन्ने विकल्पका लागि अहिले आवाज उठेको होइन । वर्तमान शासन व्यवस्था नाम मात्रैको प्रजातन्त्र हो । बास्तविक प्रजातन्त्र यो हुँदै होइन । नेपालका सन्दर्भमा वास्तविक प्रजातन्त्र भनेको बेलायतको जस्तै राजसंस्था सहितको प्रजातन्त्र हो । अर्थात राष्ट्रियता सहितको प्रजातन्त्र हो । अहिलेको प्रजातन्त्र त राष्ट्रियता विनाको प्रजातन्त्र हो । राष्ट्रियता विनाको प्रजातन्त्र भनेको जिउँदो लाश जस्तै हो । राजा सहितको प्रजातन्त्रका पक्षमा ९० प्रतिशत जनता छन् । तर यसका लागि आन्दोलनको नेतृत्व इमान्दार हुनु जरुरी छ । गाई र हिन्दूत्वको नारा बोकेर पुर्व पश्चिम गरिरहेको कमल थापा नेतृत्वको जुन झुण्ड छ । यो झुण्डले जनताको विश्वास गुमाई सकेको छ । सत्ताको अवसर पाउना साथ कम्युनिष्टहरुसँग साँठगाँठ गर्ने र ओलीको पिछलग्गु बन्ने प्रवृत्तिका हातमा यो आन्दोलनको नेतृत्व पुग्यो भने जनताले साथ दिने छैनन् । यस्ताले नेतृत्व गरेको आन्दोलन सफल भयोभने पनि फेरिमुलुकमा दुस्चक्र सुरु हुनेछ ।

वास्तवमा तत्कालिन राजा ज्ञानेन्द्रलाई फसाएर गणतन्त्रवादीहलाई सहयोग पुर्याएको यही झुण्डले हो । यो झुण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोकेका छन् । बास्तवमा भन्ने हो भने सत्तारुढ नेकपामा अहिले देखिएको दुई धार वीचको लडाँइ धार भनेको होली वाइनको वकालत गर्ने र रोटीवेटीको सम्वन्धको बकालत गर्ने हरुको भुण्डबीचको हो । उत्तरको छिमेकीको इशारमा चल्ने तेस्रो झुण्ड पनि छ । यो तेस्रो झुण्डले जुन धारलाई साथ दिन्छ उहीधार बलियो हुने अवस्था छ । चिनिया राजदूतको घरदैलो कार्यक्रम त्यसैका लागि हो । यस्तो प्रवृत्तिले देशलाई सिक्किम या तिब्बत बनाउँछ । तिब्बत र सिक्कीम दुवै देशमा राजतन्त्र थिए । राजाका सहयोगीहरुले गद्धारी गरेपछि चीनले सिधै सेना लगाएर तिब्बतलाई आफ्नो कब्जामा लिन सफल भयो । यता सिक्किममा भने भारतले सुरुमा राजतन्त्र फालेर अहिलेको नेपालमा जस्तै नक्कली प्रजातन्त्र खडा गर्यो । दल तथा तीनका नेताहरुलाई हातमा लिएन जनमत संग्रह मार्फत आफ्नो देशमा विलय गरायो । आज तिब्बत स्वतन्त्रताको आवाज उठिरहे पनि सिक्कम स्वतन्त्रताको आवाज उठेको छैन । भारतले सिक्किमकै मोडेल नेपालका सन्दर्भमा अवलम्वन गर्ने खतरा रहेको २०३३ सालमै दूरदर्शी राजनेता वीपी कोइरालाले औंल्याइसकेका थिए । त्यसै कारण राजसंस्थालाई मुलुकको रक्षा कवचका रुपमा राखि रहने वीपी कोइरालाकोमार्ग दर्शन थियो । तर वीपीको निधन पछि उनकै पार्टी नेपाली कांग्रेसका नेताहरु विक्रि भए ।

बाख्राको पुच्छर काटेर बोकालाई सजिलो भने जस्तै नेपाली कांग्रेसका नेताहरु गणतन्त्रमा गएर भारतीय डिजाइनलाई सजिलो बनाई दिए । जसको प्रतिफल यतिबेला नेपाली कांग्रेसका नेताहरुले भोग्दै छन् । आफ्नो गृहजिल्लामा जाँदा रामचन्द्र पौडेलले जुन परिणाम भोगे वास्तवमा त्यो पाप कुर्लेको हो । वीपीलाई धोका दिँदै गणतन्त्रमा गएर मुलुक बर्वाद गरेको पापको प्रतिफल कांग्रेसका नेताहरुले अझै धेरै भोग्न बाँकी छ । यो त सुरुवात मात्रै हो । अब थु्प्रै अरिंगालहरुले कांग्रेसका नेताहरुलाई डस्न थाल्ने छन् । अनि मात्रै गणतन्त्रमा गएको गल्ती सच्याउन कांग्रेसका नेताहरु वाध्य हुनेछन् ।

राजसंस्था पुनर्वहालीको आन्दोलनमा समाहित हुन ढिलो चाँडो कांग्रेसका नेताहरु वाध्य हुनेछन् । जति ढिलाई गर्यो, कांग्रेसलाई र मुलुकलाई त्यति नै नोक्सान छ । त्यसैले नेपाली कांग्रेसले यथाशिघ्र गल्ती सच्याउँदै राजसंस्था पुनर्वाहालीको अभियानको थालनी गरोस् । यो आन्दोलनको नेतृत्व कांग्रेसले लिना साथ मुलुक वाँच्ने अवस्था छ । किनकी कांग्रेसमा अझै पनि इमान्दार नेता तथा कार्यकर्ताहरुको कमी छैन । जनताको विश्वास मरिसकेको छैन । अन्तर्राष्ट्रिय जगतले पनि जिम्मेवार पार्टीका रुपमा कांग्रेसलाई हेर्ने गरेको छ । हरेक गाउँ टोलसम्म विगत ७५ वर्ष देखिको कांग्रेसको संगठन अटुट छ । आफ्नो यो शक्तिलाई सदुपयोग गर्नासाथ कांग्रेस फेरि पुरानै अवस्थामा पुग्नेछ । गणतन्त्रमा गएर गल्ती गरेकै कारण पार्टी खुम्चिएको हो भन्ने चेतना कांग्रेसका नेताहरुको दिमागमा छिटो आओस् । समय घर्किसकेपछि आउनुको कुनै अर्थ हुन्न ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.