निर्मलाका बाबुले भकानिदै भने- ‘न्याय माग्दा किन सिआइडी लगाइन्छ ? सरकार !’

| 2018 Sep 13 | 05:20 pm 8598

काठमाडौं, भदौ २८ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले न्याय माग्दा सिआइडी लगाएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजना भएको पत्रकार सम्मेलनमा न्याय माग्दा सिआइडी लगाएको बताएका हुन् ।

सम्मेलनमा बोल्दा बोल्दै रुन थालेका उनले आफूलाई सम्हाल्दै सरकारसँग न्यायको भिख माग्न काठमाडौँ आएको बताए । उनले न्याय नपाएसम्म घर नर्फकने पनि बताए ।  उनले भने, ‘न्यायकै लडाइँमा कञ्चनपुरमा ठुलो आन्दोलन भयो, सरकारले गोली ठोक्यो, एक बालक शहीद भए तर पनि खै किन हाम्रो आवाज सरकारले सुने जस्तो लागेन त्यसैले न्यायको भिख माग्दै काठमाडौँ आएको छु, अब न्याय नपाएसम्म घर फर्कँदैन ।’

साउन ९ गते रोशनी बमले घरमा आएर निर्मलालाई फकाइफुलाई आफ्नो घरमा बेलाएर  लागेकाे पनि उनले बताए ।  उनले भने,  ‘निर्मलालाई बहिनी भाेली जसरी भए पनि आऊ, अम्बा पनि पाकेका छन् भनेर बोलाएर लगिन्। ‘  १० गते निर्मला साँझ ६ बजेसम्म नआएपछि सोध्न जाँदा उनीहरूले  नै उल्टै ‘तेरो छोरी पोइला गइन होला’ भनेर हप्काएका समेत बताए ।

उनले गड्डा चौकी र माइती नेपालमा पनि सूचना दिएका बताए । तर वडा प्रहरी कार्यालयले अहिले हामी जान सक्दैनौँ भनेर जफाव दिएको उनले बताए । उनले भने, ‘गड्डा चौकी जान नमानेपछि राति १२ बजे सालघारी चौकी पुग्यौँ। प्रहरी जानलाई बर्दी र जुत्ता लगाए तयार भए तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा फोन गरेर सोध्दा नजान भनेर आदेश दियाे ।

उनले आफ्नी छोरी निर्मला पन्तको हत्या घटनामा प्रहरीले प्रमाण नष्ट पारेर अपराधी बचाउन खोजेको आरोप लगाए । उनले सरकारले न्याय दिन नसके आफूहरूलाई पनि गोली ठोकेर हत्या गर्न आग्रह समेत गरेका छन्। उनले भने, ‘एउटा बलात्कारीलाई पक्रन नसक्ने हो भने, सरकार हामीलाई भनिदिनुहोस हामीले सकेनौँ भनेर, त्यसपछि हाम्रो छातीमा गोली ठोकिदिनुहोस्, न्याय पाउने हैन भने हामी बाँच्न सक्दैनौँ मर्न चाहन्छौँ।

निर्मला पन्तको हत्या घटनामा प्रहरीले प्रमाण नष्ट पारेर अपराधी बचाउन खोजेको आरोप  लगाउँदै उनेल भने, ‘सरकारको यस्तो लापरबाहीले यहाँ हजारै छोरीहरूको ज्यान जानेछन् ।’ उनले सुरुदेखि नै प्रहरीले प्रमाण नष्ट पारेको आरोप लगाएका छन् । छोरी खोज्दिन आग्रह गर्दा आफूलाई नै प्रहरीले हप्काएको समेत बताए ।

उनले अनुसान्धन गर्नु पर्ने काम केही नगरेको उनकाे अाराेप छ । मानसिक सन्तुलन गुमाएको दिलीप विष्टलाई प्रहरीले सार्वजनिक गरेर वास्तविक हत्यारालाई लुकाएको आरोप  लगाए । उनले भने, ‘एसपीलाई मात्रै होइन उनको सबै टिमलाई नै सरकारले जबसम्म थुन्दैन तबसम्म वास्तविक हत्यारा पत्ता लाग्दैन ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला चित्त समेत दुखाए । बम दिदीबहिनी शंकाको घेरामा रहेको तर, सरकारले उनीहरुलाई सपोर्ट गरेको उनको गुनासो छ । उनले गहभरी आँसु पार्दै भने, ‘यति प्रमाण हुँदाहुँदै सरकारले उल्टै बबितालाई सपोर्ट गर्दैछ । प्रधानमन्त्रीले तगडा बनाइदिएका छन् ।

कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानबिन समिति त बनेको छ तर, हत्यामा संलग्नहरुको अत्तोपत्तो छैन । हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै पन्तका बाबु यज्ञराज र आमा दुर्गादेवी केही दिनदेखि काठमाडौंमा छन् ।

याे पनि पढ्नुहाेस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.