किन गरियो गोर्खालीलाई काखा र पाखा ?

रिपोर्ट नेपाल | 2021 Apr 09 | 11:46 am 5221

वसन्त भुजेल
भिक्टोरिया क्रस, जसलाई छोटकरीमा भिसी भनिन्छ । भिसी बेलायत सरकारको सबै भन्दा ठूलो पदक हो । देशका लागि आइपरेको ठूलो संकटलाई ज्यानको बाजी लगाएर परास्त गर्ने सैनिकलाई भिसी पदकबाट सम्मान गर्ने परम्परा छ । बेलायतको गोर्खा फौजमा कार्यरत उल्लेख्य नेपालीहरुले प्रथम र दोस्रो विश्वयुद्धमा भिसी पाए । त्यस यता भने भिसी पाउने नेपालीहरुको संख्या नगण्य छ । त्यसैले यतिबेला भिसी पाउने जिवित नेपालीहरुको संख्या नितान्त कम छ । तीनै कम नेपाली मध्ये एक हुन्, रामबहादुर लिम्बु ।

May be an image of 1 person

भिक्टोरिया क्रस विजेतालाई बेलायत सरकारले कतिसम्म सम्मान गर्छ भन्ने एक उदाहरण हेरौं । रामबहादुर लिम्बुलाई चाहेको बेला बेलायतको संसदमा छिर्ने अधिकार छ । जब उनी संसद भित्र छिर्छन् तब समाभुख आफ्नो आशनबाट जुरुक्क उठ्छन् । भिसी लिम्बुले आदेश नदिएसम्म उनी बस्दैनन् । सभामुख तथा प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुकको त कुरा नै छाडिदिउँ, कुनै अवसरमा महारानी समेत श्रीपेच लगाएर संसदमा पुग्छिन् । त्यतिबेला भिसी विजेता रामबहादुर लिम्वु संसद प्रवेश गरे भने उनको सम्मानमा महारानी समेत श्रीपेच लगाएरै आसनबाट उठ्नु पर्छ । लिम्बुले आदेश नदिएसम्म बस्न मिल्दैन ।

तर राजदरवारमा हुने समारोहमा भने भिसी प्रवेश गर्दा महारानी उठ्नु पर्दैन, राजपरिवारका अन्य सदस्य तथा प्रधानमन्त्री एवं सो भन्दा तलका भने उठ्नै पर्छ । बस्नका लागि भिसीको आदेश पर्खनै पर्ने हुन्छ ।

नेपालका कतिपय भिसी विजेताहरु आफूले पाएको पदकको प्रतिष्ठा नबुझिकनै विते । उदाहरणका लागि लछुमन गुरुङलाई लिन सकिन्छ । करिव दुई दशक अघि उनले उपचारका लागि बेलायत जान काठमाडौं स्थित दुतावासमा आवेदन दिए, तर आवेदनका क्रममा भिक्टोरिया क्रस विजेता भएको कुरा उल्लेख नगरेका कारण भिसा लागेन । केही समयपछि भिक्टोरिया क्रस विजेता भएको उल्लेख गर्दै आवेदन दिए । तत्काल भीषा लाग्यो । उनी बेलायतका लागि प्रस्थान गरे । जब उनी चढेको हवाइजहाज बेलायतको आकाशमा प्रवेश गर्यो, तब अन्य सबै उडानहरु स्थगित गरियो । विश्वकै सबैभन्दा व्यस्त आकाश हो बेलायतको । तर लछुमन चढेको हवाईजहाजको प्रवेश पछि करिव एक घण्टा अन्य उडान हुन पाएन । उनलाई एयरपोर्टमा लिन मन्त्री पुगे । सम्मानका लागि सिधै राजदरवार पुर्याइयो । सम्मान समारोहमा उनी पुग्नासाथ महारानी बाहेक सबै उठे । आफ्ना लागि तयार गरिएको आशनमा लछुमन गुरुङ बसे । राजपरिवारका अन्य सदस्यहरु, प्रधानमन्त्री, मन्त्रीहरु उठेको उठै भए । विचरा लछुमनलाई के थाहा, आफूले आदेश नदिएसम्म राजपरिवारका अन्य सदस्य तथा प्रधानमन्त्रीहरु उठेको उठै हुन्छन् भन्ने कुरा । केहीबेरको असहज परिस्थितिपछि लछुमानलाई कसैले कानमा सुनाई दियो, तपाँइले आदेश नदिएसम्म राजपरिवारका सदस्य तथा प्रधानमन्त्री एवं मन्त्रीहरु बस्न मिल्दैन भनेर । आफै चकित पर्दै लछुमनले बस्ने आदेश दिए ।

यस पंक्तिकारले भिसी विजेता रामबहादुर लिम्बुसँग ब्रुनाईमा सहकार्य गर्ने अपूर्व अवशर प्राप्त गरेको छ । उनले बु्रनाईमा फाइरिङरेन्ज कमाण्डरका रुपमा काम गरेका थिए । साधारण गोर्खाली सिपाही भन्दा फरक शैली मैले उनमा पाइन । उनको स्वभावमा कत्ति पनि बडप्पन पाइन । उनी एलटी लेफ्टिनेन्ट पदमा थिए । जब फोन उठाएर उनी बोले, एउटै बाक्यले म स्तब्ध भएँ । कसैले गरेको फोनमा उनले जबाफ दिँदै भनेका थिए–‘पदको हिसावले ठूला मान्छे यहाँ धेरै होलान तर बहादुरीको हिसावले यहाँको सबै भन्दा ठूलो मान्छे बोलेको छु ।’ यस पछि उसले थाहा पाएछ, यो त भिसी विजेता पो बोलेको रहेछ । अनी उसले सलाम साहेव भनेर संवोधन गरेछ । फोन गर्ने क्रममा सुरुमा उसले सबै भन्दा ठूलो मान्छेलाई फोन देउ भनेपछि लिम्बुले यस्तो जवाफ दिएका रहेछन् । ‘भिल्लाको देशमा मणि’ भन्ने उखानै छ । वास्तवमा पुरानो पुस्ता भिक्टोरिया क्रसको महत्व नै थाहा नपाई वितेर गयो । नयाँ पुस्ताले अब भिक्टोरिया क्रस पाउने सम्भावना धेरै नै न्युन छ । हाम्रै मुलुक नेपालको सन्दर्भमा त भिक्टोरिया क्रम विजेताहरुको कुनै सम्मान नै रहेन । विश्वलाई बहादुरहरुको देशका रुपमा चिनाउने गोर्खालीहरुलाई बेलायतले सम्मान गर्न कुनै कन्ज्युसाँइ गरेको छैन । भिसी पछिको दोस्रो पदक एमसी (मिलिटरी क्रस) पाउने गोर्खालहिरुको संख्या उल्लेख्य छ अहिले सम्म । तर बेलायतमा गोर्खा सेना भर्ना गर्ने क्रम धेरै नै घटेको छ ।

अब पहिलाको जस्तो खुकुरीका भरमा बहादुरी देखाउन सक्ने जमाना छैन । युद्धका तौर तरिकाहरु धेरै परिवर्तन आइसकेका छन् । युद्धको रणनीतिमा पनि परिवर्तन आइसकेको छ । परम्परागत तौर तरिका तथा रणनीतिमा गोर्खाली फौज भनेपछि अहिले पनि सबै देशका फौजको सातो जान्छ । तर यो अवस्था अब कहिले सम्म ? भन्ने प्रश्न उठिसकेको छ । हाम्रो गोर्खाली खुकुरीको सान कहिलेसम्म कायम रहन्छ ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।

आज आएर गोर्खालीको बहादुरीको कदर गर्दै बेलायतले आवासिय भिषाको प्रवन्ध गरेको छ । औषधी उपचारका लागि विशेष भत्ताको प्रवन्ध समेत गरेको छ । गोर्खालीका छोराछोरीलाई बेलायतमा पढाइको सुविधा पनि छ । जसका कारण धेरै नेपालीले बेलायतमा उच्च शिक्षा पढ्ने अवसर पाएका छन् । नयाँ पुस्ताका गोर्खालीका लागि तलव र पेन्सन पनि गोरा सरह नै छ । तर पुराना पेन्सनरहरुलाई भने अहिलेसम्म पनि विभेद जारी छ ।

दोस्रो विश्वयुद्ध समाप्त भएपछि लाखौं गोर्खाहरुलाई खालीहात र खाली खुट्टा घर पठाइएको थियो । प्रथम र दोस्रो विश्वयुद्धमा कति गोर्खालीहरु मारिए त्यसको लेखाजोखा समेत छैन । खाली हात र खाली खुट्टा घर पठाइएका गोर्खालीहरुलाई गोर्खा वेलफेयर ट्रष्टले केही टोकन भत्ता मात्र दिएको छ । यो विश्वकै सबै भन्दा अपहेलित विभेद हो । त्यसै कारण केही गोर्खालीहरुले बेलायतमा विरोधका लागि आवाज उठाइरहेका छन् । पीडीतहरु न्यायालय समेत गए, तर बेलायती अदालतले न्याय दिएन । मानवअधिकारवादीलाई गुहारे, कुनै सुनुवाई भएन, उनीहरुले न्याय पाउलान जस्तो देखिँदैन ।

यस सन्दर्भमा नेपाल सरकार पनि दोषी छ । राणाकाल र पंचायतकालमा त नेपाल सरकारका तर्फबाट कुरा राखिने गुन्जाइस नै थिएन । २०४६ सालमा प्रजातन्त्र पुनर्थापनापछि पिडित गोर्खालीहरुले आफ्नो सरकार समक्ष पनि गुहार नमागेका होइनन् तर नेपाल सरकारको अडान फितलो देखिँदै आएको छ । नेपाल सरकारले गोर्खालीहरुको समस्याको मुद्धालाई प्राथमिकतामा नराखेकै कारण पनि पीडितहरुले न्याय नपाएका हुन् । आश्वसन दिने तर कार्यान्वयन नगर्ने काम नेपाल सरकारका तर्फबाट पनि भएको छ ।

राज्यको मुलधारमा गोर्खाली तथा उनका परिवारको उपस्थिति नहुनाले पनि नेपाल सरकारको तर्फबाट गोर्खालीहरुका मुद्धा उठाउन जाँगर नदेखाएको होकि ?, भन्ने शंका उत्पन्न भएको छ । नेपाल सरकारले अडान लिने हो भने बेलायत सरकार पीडितका माग सम्वोधन गर्न तयार हुने निश्चित छ । तर गोर्खालीको पसिनाको रोयल्टी बेलायतले मात्रै होइन नेपाली शासकहरुले पनि खाएका कारण पीडितको पक्षमा आवाज नउठाएका हुन् कि जस्तो देखिएको छ ।

यदी गोर्खाली प्रति बेलायती जनताको माया ममता नभएको भए गोर्खालीहरुले बेलायतमा आवाशीय भिषा समेत पाउने थिएनन् । यदी आजसम्म नपाएको पेन्सन तथा मृतकहरुको क्षति पूर्ति रकम पाउने हो भने नेपालमा दुई वर्षको वजेट भन्दा पनि बढी रकम भित्रिन्छ । तर नेपालको सरकारमा रहनेहरुले यस विषयमा कुरा बुझेकै छैनन् ।

सबै गोर्खालीहरुको पेन्सन गोरा सरह हुने हो भने नेपालको जिडिपी ह्वात्तै बढ्छ । त्यो रकम गोर्खालीहरुले आफ्नै देशमा लगानी गर्ने हुनाले रोजगारी पनि ह्वात्तै बढ्ने थियो । गोर्खालीहरु पैसाका लागि मात्रै लडाँइ लडेका थिएनन् , बेलायतसँगको विशेष सम्वन्धका कारण विश्वभर लडाँइ लडेका थिए । प्रथम विश्व युद्ध यता करिव दुई लाख नेपालीहरुले बेलायतका लागि ज्यानको कुर्वानी दिएका छन् । ज्यानको कुर्वानी दिनेहरु भिक्टोरिया क्रस पदकका हकदार हुन् । तर तिनै भिसीहरुको जीवन आहुती गल्लीको कुकुर मरे सरह भएको छ । यति त्यतिबेला दुई लाख गोर्खालीहरुले आफ्नै देशमा रगत र पसिना बगाएको भए नेपाल हालको जापान भन्दा समृद्ध हुने थियो । तर तिनै जापानीलाई मार्न प्रयोग हुँदा दुई लाखको ज्यान गयो । बाँचेकाहरु अधिकांश खालीहात र खाली खुट्टा फर्कन वाध्य भए ।

के त्यतिबेला यति ठूलो विभेदमा बेलायतको मात्रै हात थियो त ? कदापी थिएन । हाम्रो देशका नालायक शासकहरुको पनि भूमिका थियो । राज्यसत्तामा बस्नेहरु निकम्मा भएकै कारण आज नेपालीहरु विश्वभरी तल्लो दर्जाको रोजगारीका लागि भौंतारी रहेका छन् । विचरा स्वािभमानी नेपालीहरु आफ्नो रगत र पसिना उधारोमा बेचेर सडकमा दुई हात फैलाउँदै बेलायतको सडकमा भिखारी जस्तै दुई हात फैलाउन वाध्य छन् । यो कस्तो न्याय हो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.