अनुशासको पालना गर्ने कर्मनिष्ठ आठ प्रहरी पुरस्कृत

रिपोर्ट नेपाल | 2018 Jun 22 | 10:56 pm 3682

काठमाडौँ,असार ८: निति, नियम र अनुशासनलाई पालना गर्दै उत्कृष्ट काम गर्ने आठ प्रहरीलाई नगदसहित महानगरीय प्रहरी परिसर काठमाडौँले सम्मान गरेको छ ।

नेपाल बंगलादेश बैंकसँग गरेको सम्झौतामा स्थापना भएको ‘काठमाडौँ प्रहरी अवार्ड’द्वारा आज जवानदेखि अधिकृतसम्मलाई सम्मान गरेको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापा र बालाजु वृत्तका प्रमुख विश्वराज खड्कालाई संयुक्तरुपमा रु ५० हजार प्रदान गरियो ।

त्यस्तै, महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी निरीक्षक राजु लामा र नागढुङ्गा प्रभागका प्रहरी निरीक्षक केशवदत्त भट्टलाई संयुक्त रुपमा रु ३५ हजार प्रदान गरियो ।

यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब निरीक्षक धनसिंह ऐरी र महानगरीय प्रहरी कार्यालय, भृकुटीमण्डपका अजयजंग थापाले संयुक्तरुपमा रु २५ हजार प्राप्त गरेका छन् ।

यसैगरी, महानगरीय प्रहरी प्रभाग, गोँगबुका प्रहरी हवल्दार ढालबहादुर क्षेत्रीले रु १५ हजार र महानगरीय प्रहरी वृत्त, कीर्तिपुरमा कार्यरत प्रहरी जवान केशव महताराले रु १० हजार प्राप्त गरे ।

पुरस्कृत हुनेलाई आज एक कार्यक्रमकाबीच परिसरका प्रमुख विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पुरस्कार प्रदान गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.