काठमाडौं, फागुन १९ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लास्थित शम्भुनाथ नगरपालिकाका प्रमुख जीतेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले इन्जिनियर साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर रामचन्द्र साहलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस÷रिसवतबापतको रकम लिइसकेको अवस्थामा गत ३ माघमा पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा नगरप्रमुख गुप्ता र इन्जिनियर साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ लिएको पाइएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । राजधानी दैनिकबाट