‘हामीले काम गर्न सकेनौँ भने जनताले पत्याउँदैनन्, अर्को विकल्प खोज्छन्’ : अध्यक्ष प्रचण्ड

| 2018 Sep 24 | 04:06 pm 2230

चितवन, असोज ८ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सोमबार चितवन जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभा उद्घाटन गर्दा उक्त धारणा राखेका हुन् ।

जिससको सभा उद्घाटन गर्दा अहिले काम गर्न नसक्ने हो भने कम्युनिष्ट पार्टीलाई जनताले नपत्याउने धारणा भने राखे । जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’

तलदेखि माथिसम्म नेकपाकै सरकार हुदाँ पनि केही गर्न नसके अर्को पटक जनताले नपत्याउने समेत बताए । ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले भने, ‘यो त कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’

विकासको काममा कुनै विरोध हुँदैन भनेर प्रतिपक्षले भनेको समयमा सरकारले काममा ध्यान केन्द्रित गर्नु पर्ने उनले बताए । हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक बर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयका बारेमा जानकारी दिन सक्नुपर्ने उनको भनाइ छ ।

संविधानले संघीय, प्रदेश र स्थानीय तहलाई मन्यता दिए पनि जिल्लाको भूमिकालाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए । ‘हिजो संविधान बन्दै गर्दा दुई खाले छलफल भएको हो । एउटा मत थियो अधिकार, संरचना र भौतिक सम्पती प्रदेश सरकार र स्थानीय तहमा गाभिने भएका कारण जिल्ला नै नराखौं भन्ने थियो । अर्को मत जसरी अहिलेसम्म चलेको छ त्यसैलाई निरञ्तरता दिँदै जिल्ला विकास समितिलाई पनि तहकै रुपमा मान्यता दिएर जाउँ भन्ने थियो,’ दाहालले सुनाए । तर समन्वय समितिको रुपमा राखौं भनेर त्यो बेला बीचको बाटो निकालेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.