स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

| 2023 Jan 11 | 01:32 pm 1593

धनुषा, पुस २७ः जिल्ला प्रहरी कार्यालय, धनुषाले स्रोत नखुलेको १६ लाख नगद रुपियाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहबी महिनाथपुर बस्ने ४२ वर्षीय राजेशकुमार साह रहेका छन् ।

उनलाई सो रकमसहित मङ्गलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताए ।

जिल्लाको विदेह नगरपालिका–२ स्थित सडकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा बिआर ३२ एसी ७६७९ नम्बरको स्कुटरमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका साहमाथि शङ्का लागि सवारी जाँच गर्दा डिक्कीभित्र कालो प्लाष्टिकमा स्रोत नखुलेको १६ लाख रुपियाँ बरामद भएको उनले जानकारी दिए ।

निजको साथबाट एक हजार दरका ७४८ वटा, पाँच सय दरका पाँच सय वटा, सयको २६० वटा र ५० दरका ८० वटा बरामद भएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहलाई र स्कुटर आवश्यक कारबाहीका लागि मङ्गलबार नै भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.