जनकपुरधाम, मंसिर १९ : जनकपुरधाम क्षेत्रको सरसफाइ कार्यक्रममा प्रदेश नम्बर दुईका मुख्यमन्त्री सहभागी भएका छन् । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा हुने रामजानकी विवाह महोत्सवका लागि गरिएको बृहत् सरसफाइ कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत आफैँ झाडू लिएर खटिएका हुन् ।
मुख्यमन्त्री राउतसँगै मन्त्रीहरूको समेत सहभागिता थियो । बाह्रविघा रंगभूमि मैदान, जनकी मन्दिर, राम मन्दिर, रामनन्द चोक लगायतका स्थानमा सफाइ गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विद्यार्थी, सामाजिक संघसंस्थाका साथै सुरक्षा निकायको पनि सफाइ कार्यक्रममा सक्रिय सहभागिता थियो ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री एवं गोरखपुरस्थित गोरखनाथ पीठका मठाधीश आदित्यनाथ योगी जन्तीमा सामेल हुने प्रार्थी भई सीताराम विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिले जनाएको छ ।
रामसीताको स्वयंवर मङ्सिर २६ गते दिउँसो १ बजे र शुभ विवाह यसै दिन साँझ ६ बजे गर्ने लग्न तय भएको छ । गुठी संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाका अनुसार नगर दर्शन २१ गते साँझ ४ बजे, फूलवारी लीला २२ गते दिउँसो ३ बजे, धनुषयज्ञ २३ गते अपराह्न ४ बजे र तिलक महोत्सव २४ गते १ बजे र २५ गते मटिकोर सकिएपछि २६ गते स्वयंवर र त्यसै साँझ विवाह भई २७ गते रामकलेवा सम्पन्न गरी विवाह उत्सव मनाइने तय भएको छ ।