सरकार भाेकाे पेटलाई लात हानेर आफूलाई बचाउँदैछ

रिपोर्ट नेपाल | 2021 Apr 19 | 05:27 pm 9229

  • वसन्त भुजेल

भोकोपेट भर्नकै लागि अर्काको देशमा रगत पसिना बगाउन मात्रै होइन आफ्नै जीवन आहुती गर्नु पर्ने नियती नेपालीहरुले कतिञ्जेल बेहोरी रहने ? यो प्रश्न ज्यादै गम्भीर छ । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा नेपालीहरुले ठूलो बहादुरी प्रदर्शन गरेको बखान गरिए पनि बास्तविकता चाँही भोको पेट नै हो । भूपी शेरचनको कविता ‘हामी बुद्धु छौं र त बहादुर छौं, हामी बहादुर छौं र त बुद्धु छौं’ ज्यादै सान्दर्भिक छ ।

गत वर्ष लकडाउनको सुरुमा चैत–वैशाखतिर कोरोनाको त्रासले भारतबाट फर्कनेको नाकामा थामिनसक्नु भिड लागेको थियो । तर, घरमा लामो समय बेरोजगार बस्दा छाक टार्नसमेत समस्या भएपछि उनीहरू संक्रमण उत्कर्षमै रहेका वेला केही महिनामै भारत फर्किएका थिए । एक वर्ष अघि लकडाउनको सुरुमा घर आउने जत्तिकै थामिनसक्नुको भिड यतिखेर दक्षिण तर्फका नाका हुँदै भारतबाट फर्किनेको देखिएको छ ।

महामारीका वेला हजारौँ युवा स्वदेश फर्के पछि उनीहरूलाई रोजगारी दिने कार्यक्रम सरकारले ल्याउन सक्नु पथ्र्यो । गरिबीका कारण मजदुरी गर्न भारत जानुपर्ने विगतदेखिको बाध्यता अन्त्यका लागि तीनै तहका सरकारले काम गर्न सकेनन् । संक्रमणकै वेला ज्यान जोखिममा राखेर भारत जान बाध्य भएकाहरूको भिड सरकार, राजनीतिक दलका नेता र नीति निर्माणकर्ताले देखेनन् । सामान्य कामका लागि पनि भारत जानुपर्ने बाध्यताको पीडा देश चलाउनेले बुझेनन् । कोरोनाकै वेला नाकामा आउने र जानेको भिड देख्दा देख्दै रोजगारी सिर्जना गर्ने योजना ल्याउनको बदला संसद नै विघटन गरेर सत्ता समिकरणको खेल अघि बढाउने सम्मको अपराध भयो । प्रधानमन्त्रीले मात्रै होइन अरुदलका नेताहरु समेत भीड जम्मा गर्ने प्रतिस्पर्धामा उत्रे ।

यथार्थमा भन्ने हो भने कोरोना संक्रमणका प्रसंगमा नेपालले यति धेरै क्षति बेहोर्नु परेको भारतकै लापरवाहीले हो । भारतमा पहिलो चरणको कोरोना संक्रमण मुस्लिमहरुको धार्मीक संगठन जमातीका कारण देशको कुना काप्चामा पुगेको हो । अहिले भएको दोस्रो चरणको संक्रमण हिन्दुहरुले हरिद्धारमा आयोजना गरेको कुम्भ मेलाका कारण फैलिएको हो । तर लापरवाही गर्छ भारत, क्षति बेहोर्नु परेको छ गरिव नेपालीले । चरम गरिवीका कारण आज पनि लाखौं संख्यामा नेपालीहरु भारतमा सस्तो मजदुरीमा गइरहेका छन् । कति नेपाली भारतमा काम गर्न जान्छन् एकिन तथ्यांक छैन, तर भारतको राजधानी दिल्लीमा मात्रै १० देखि १५ लाख नेपाली श्रमिक रहेको अनुमानित तथ्यांक छ ।

यतिबेला भारतमा संक्रमण तीव्र गतिले बढ्न थालेपछि नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किरहेका छन् । चरम गरिबीका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारतका विभिन्न सहर जानेको संख्या ठूलो छ । त्यसपछि प्रदेश २ बाट धेरै नेपाली भारत जान्छन् । तुलनात्मक रुपमा प्रदेश १ र वाग्मती प्रदेशबाट कामका लागि भारत जानेहरुको संख्या थोरै छ ।

विदेशमा जाने नेपालीहरुलाई एउटै डालोमा राखेर विश्लेषण गर्न मिल्दैन । कोही भोको पेट भर्नकै लागि विदेश गएका छन् भने कोही धन सम्पत्ति कमाउन र सुविधानजक जीवन यापन गर्न विदेश गएका छन् । तर धन सम्पत्ति कमाउन र सुविधाजनक जीवन यापन गर्न विदेश गएका नागरिकहरु प्रति सरकारले गर्ने व्यवहार र भोको पेट भर्नका लागि विदेशिएका नागरिकहरु प्रति सरकारले गर्ने व्यवहारमा ठूलो फरक छ । कोरोना महामारीकै सन्दर्भलाई हेर्ने हो भने भोको पेट भर्न विदेशीएका नेपालीहरुलाई स्वदेश फर्कने क्रममा पनि निकै ठूलो सास्ती र यातना दिइएको छ । कैयौं दिनसम्म पैदल हिँडेर मुलुकको सीमा सम्म आइपुगेका नेपालीहरुलाई क्वारेन्टाइनका नाममा खुला आकाश मुनी भोकै राखिएको छ । उनीहरु क्वारेन्टाइनमै झाडा पखाला लागेर मरिरहेका छन् । विद्यालय जानुपर्ने कलिला किशोरदेखि कपाल सेताम्य भएका वृद्धसम्म कामको खोजीमा भारत जाँदै गरेको दृश्यले राज्य सञ्चालन गरिरहेकालाई नछुनु धेरै ठूलो विडम्बना हो ।
धनसम्पत्ति कमाउन तथा सुविधा जनक जीवन यापन गर्न विदेशीएका नेपालीहरुलाई सरकार आफैले विशेष विमानको व्यवस्था मात्रै गरेको छैन क्वारेन्टाइनमा राख्नका लागि सुविधासम्पन्न होटलको व्यवस्था गरिएको छ । किनकी विशेष विमान तथा सुविधा सम्पन्न होटलको व्यवस्था गर्दा प्रसस्त कमिसन खान पाइन्छ ।

नाकामा सबैको स्वास्थ्य परीक्षण गरिएको छैन । जसका कारण संक्रमणको जोखिम बढेको छ । भारतबाट फर्केकामा संक्रमण देखिने क्रम बढेको छ । यस्तो वेला परीक्षण नगरीकनै घर पठाउँदा संक्रमण झन् चाँडो फैलने जोखिम अत्यधिक बढ्नु स्वभाविकै हो । उदाहरणका लागि सुदुरपश्चिमको त्रिनगर नाकामा मात्रै २ चैत यता भारतबाट फर्केका आठ सय जनामा संक्रमण देखिएको छ । नाकामा स्वास्थ्य सुरक्षा पनि अपनाइएको छैन । भारतबाट फर्किने नेपालीको स्वास्थ्य जाँच गर्न सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कमा जनशक्तिको चरम अभाव छ । कतिपय नाकामा हेल्थ डेस्क नै राखिएको छैन । कतिपय नाका बन्द गरिएका कारण अरु नै बाटोबाट ह्वार ह्वारर्ती मानिस छिरिरहेका छन् । उदाहरणका लागि विराटनगरको जोगबनी नाका नेपाल–भारत दुवैतर्फ सिल छ । तर, आसपासका क्षेत्रबाट भने खुला सिमानाको फाइदा उठाउँदै निर्वाध आवतजावत चलिरहेको छ । नेपालीहरू दैनिक किनमेल गर्न भारतीय बजार जोगबनी जाने गरेका छन् । उनीहरूको आउजाउमा प्रहरीले पनि खासै कडाइ गरेको छैन । दरैया, मटेर्वा, इस्लामपुरलगायतका चोरबाटोबाट तस्करी पनि उत्तिकै हुने गरेको छ । नेपालमा सुरक्षित छ भन्दै आउने भारतीयहरुको संख्या पनि निकै ठुलो छ । उनीहरु भारतबाट नेपाल प्रवेश गरेपछि सीधै सार्वजनिक यातायात चढेर गन्तव्यसम्म पुग्छन् ।

एउटै नाका बाट दैनिक १०–१५ हजार फर्किरहेका छन्, तर परीक्षणका लागि ३–४ जना जनशक्ति छन् । त्यसमा पनि उनीहरुले विहान १० देखि बेल्ुका ५ बजेसम्म मात्रै ड्युटी गर्छन् । जबकी सबै भन्दा धेरै मानिस भित्रिने भनेको बिहान १० बजे अगाडि र बेलुका ५ बजे पछाडी हो । हेल्थ डेस्कलाई प्रभावकारी बनाउन अझै कम्तीमा आठ–आठ जना दक्ष जनशक्ति दुई सिफ्टमा ब्यबस्था गर्नु पर्ने मागलाई स्वास्थ्य मन्त्रालयले बेवास्था गरिरहेको छ । सीमा नाकामै पर्याप्त चेक जाँच गरेर संक्रमितलाई नजिकैको अस्पतालमा लैजाने प्रवन्ध मिलाउने हो भने मात्रै गाउँका कुना काप्चामा कोरोना संक्रमण फैलिँदैन भन्ने कुरा सरकारमा रहनेहरुले नबुझेका हुन् भने यहाँ भन्दा धिक्कार योग्य कुरा अर्को हुनै सक्दैन ।

अब चर्चा गरौं हाम्रो मुलुकको स्वास्थ्य क्षेत्रको अवस्थाको । स्वास्थ्य सुचांकमा उल्लेखनीय प्रगति भएको देखाईको छ, तर तुलनात्मक रुपमा हेर्ने हो भने पहिलो विश्वयुद्ध हुँदाको अवस्थामा भन्दा पनि नेपालको स्वास्थ्य क्षेत्र विग्रेको छ । दक्षिण एशियाली मुलुकहरुसँग तुलना गर्दा हाम्रो स्थान औषत भन्दा कम देखिन्छ । मानव विकास सुचकांकमा हाम्रो अवस्था अफगानिस्तान र पाकिस्तान भन्दा मात्र राम्रो स्थितिमा छ । हामी श्रीलंका, माल्दीव्स, भुटान, भारत र बंगलादेश भन्दा पछाडि छौं ।

हामी विश्वको औषत मानव विकास सुचकांक (०.७३७) भन्दा त निकै पछाडि अर्थात् १८९ देशमध्ये १४२ औं स्थानमा छौं । एक त हामी विश्वको औषत भन्दा निकै पछाडि छौं, त्यसमाथि भएको प्रगति पनि सवै बर्ग, समुदाय र क्षेत्रमा समान छैन । बरु स्वास्थ्य सुचकहरुले असमानता बढेको देखाउँछन् । गरिब, दलित, सिमान्तकृत समुदाय र दुर्गम क्षेत्रका बासिन्दा स्वास्थ्य सुचकमा निकै पछाडि रहेका छन् । पहिला भन्दा स्वास्थ्य सेवाको विस्तार भए पनि अधिकांस अस्पताल काठमाडांै र ठुला शहरहरुमा नै केन्द्रित रहेका छन् । स्वास्थ्य सेवा शहरमुखीे नै छ । दुर्गम स्थानमा स्वास्थ्य सेवा पुग्न सकेको छैन।अहिले पनि त्यसमा खासै सुधार आएको छैन । स्वास्थ्यमा निजि क्षेत्रको सहभागिता निकै बढेको छ तर निजी स्वास्थ्य संस्थाहरु सेवा गर्न भन्दा नाफा कमाउन उद्यत देखिन्छन् ।

शहरका ठुला र महंगा अस्पतालको सेवा लिन जायजेथा बेच्नु पर्ने अवस्था छ । संविधानले स्वास्थ्यलाई मौलिक अधिकार मानेर निःशुल्क आधारभुत स्वास्थ्य सेवाको ग्यारेण्टी गरे पनि जनसंख्याको ठुलो हिस्सा यो अधिकार उपभोग गर्नबाट बञ्चित छ । हाम्रो स्वास्थ्य हामी कहाँ जन्मीएका छौं, कुन ठाउँमा बस्छौं, के काम गर्छौ, के खान्छौं, कस्तो हावामा सास फेर्छौ भन्ने कुरामा भर पर्दछ । हाम्रो खेति प्रणालीमा रासायनिक मल र विषादिको प्रभुत्व बढेको छ । हाम्रो खानपान विषाक्त बन्दैछ । हाम्रो आकाश धुलो र धुवाँले ढाकिएको छ । हामीले फेर्ने स्वास सुरक्षित छैन । हामीले पीउने पानी स्वच्छ छैन । जल, थल र आकास सवै प्रदुषित बनेको छ ।

अवस्था निकै जटिल छ । हाम्रो स्वास्थ्य सेवा बढी उपचारमुखी छ । त्यो पनि धनीका लागि । रोकथाम भन्दा उपचारले प्राथमिकता पाउँछ । वायुमण्डलको प्रदुषण रोक्ने विषयले प्राथमिकता पाउँदैन । खाद्यान्न तथा फलफुलमा विषादी रोक्ने क्रियाकलापहरु प्राथमिकतामा पर्दैनन्, बरु रोग लागे पछि उपचार सेवाको व्यवस्था गर्न स्वास्थ्य बीमा प्राथमिकतामा पर्दछ । तर बिमा क्षेत्रमा गरिबको पहुँच नै छैन । त्यसमा पनि भोको पेट भर्न भारत जानेहरुको त पहुँच हुने कुरै भएन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.