सत्ता छोडेर सडक आन्दोलनमा मन्त्री !

| 2018 Sep 03 | 07:19 am 1910

जनकपुर, भदौ १८: मन्त्रीको काम त सरकार तथा सत्ता सञ्‍चालन गर्ने जसका लागि नियम तथा कानुनको कार्यान्वयन गर्ने र विकास निर्माणका कामकारबाहीलार्इ अघि बढाउने हो। तर, सरकारका मन्त्री नै सत्ता र सरकारका कामकारबाहीलार्इ अघि बढाउनुको साटो दुर्इ दिनदेखि विपक्षी दल वा जनताले झैं सडक आन्दोलनमा उत्रिएका छन्।

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा आइतबार दोस्रोपटक धर्ना दिए।

उनी दिनभर कार्यालयको गेटमा बसे। मन्त्री यादवसँगै संघीय समाजवादी फोरमका दुई दर्जन कार्यकर्ता पनि धर्ना बसे । प्रदेश सरकारले कृष्ण जन्माष्टमीको अवसरमा बिदा दिएको थियो । प्रदेश सरकारलाई स्थानीय प्रशासनले नटेरेको भन्दै मन्त्री धर्नामा बसेका हुन् ।

प्रदेश सरकारले बिदा दिए पनि संघीय सरकार मातहतका कार्यालय खुलेका थिए । प्रदेश सरकारको निर्णयलाई नमान्ने परम्परालाई अन्त्य गर्न आफू धर्नामा बसेको मन्त्री यादवले बताए । यादवसँगै धर्ना बसेका फोरमका कार्यकर्ताले संघीय सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको नेतृत्वमा गएका सुरक्षा अधिकारीको टोलीले धर्ना फिर्ता लिन आग्रह गरेको थियो । तर, मन्त्री यादवले मानेनन् । यस्ता आन्दोलनले कर्मचारीको मनोबल खस्किने लामिछानेको भनाइ थियो ।

प्रदेश सरकारको निर्णयमा धर्ना बसेको बताउँदै मन्त्री यादवले फिर्ता लिन नमिल्ने बताएका थिए । ‘मेरो नेतृत्वमा अनुगमन गर्ने निर्णय भएकाले नै म आएको हुँ,’ उनले भने ।

मन्त्रीको धर्नाअघि मधेसवादी दलका युवाले बैंकलगायत सरकारी कार्यालय बन्द गराएका थिए । डेढ दर्जनको संख्यामा रहेका युवालाई केही घण्टाका लागि प्रहरीले पक्राउ गरेर छाडेको थियो ।
ने क पाका प्रदेश सांसद मञ्जु यादवले कानुन नबुझ्ने मन्त्रीले आन्दोलनको नाटक गरिरहेको आरोप लगाइन् । प्रदेश सरकारले उच्च अदालत जनकपुर, जिल्ला प्रशासन कार्यालय, प्रदेश २ का सबै जिल्ला, जिल्ला समन्वय समितिको कार्यालय, प्रदेश प्रहरी कार्यालय र नेपाल राष्ट्र बैंकलाई बन्द गर्न निर्देशन दिएको थियो ।

प्रदेश सरकारले दिएको बिदा अवज्ञा गरेको भन्दै यसअघि अन्तरिम मामिला मन्त्री यादवले रक्षाबन्धनका दिन राष्ट्र बैंकको जनकपुर कार्यालयको मूल गेटमा ताला लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.