काठमाडौ, २४ असार : संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारी नेकपाका सांसद योगेश भट्टराईलाई दिन तयारी गरेएको छ । नेकपाको संसदीय दलमा भट्टराईलाई संसदीय समितिको सभापति बनाउने विषयमा छलफ भएको नेताहरूले बताएका छन्।
नेकपाले युवा नेता भट्टराईलाई सुनुवाई समितिको सभापति बनाउन खोज्नुको अर्थ समितिको प्रभावकारिता बढाउनु रहेको एक नेताले बताए ।
चुनावको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई आफूले मन्त्री बनाउने बताएका थिए। तर उनले भट्टराईलाई मन्त्री भने बनाएनन्। अहिले संसदीय समिति मध्येको महत्वपूर्ण मानिने संसदीय सुनुवाई समितिको सभापति दिने तयारी भएको छ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा अवरुद्ध पारेका कारण संसदीय सुनुवाई समितिमा सांसदहरुको नाम अनुमोदन हुन सकेको छैन । दलहरुबाट भने समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम सिफारिस भइसकेको छ ।