श्रोत नखुलेको रकम ३५ लाख ५० हजार सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 19 | 08:12 pm 1435

बारा, मंसिर ३: अवैध रुपमा हुण्डीको पैसा लिएर आइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नं ७ झवानी टोलका २३ वर्षीय सुनिल महतो नुनिया र २२ वर्षीय राजन कुमार दुवे रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा व्यक्तिहरु मोटरसाइकलमा चढी आउदैछन भन्ने प्राप्त जानकारी अनुसार सुरक्षा प्रहरी वेश क्याम्प लंगडाचोक तथा प्रहरी विशेष ब्यूरो समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

बारा पचरौता नगरपालिका वडा नं ८ लंगडाचोक स्थित सडकमा पुर्व सिम्रौनगढ, महेन्द्र आदर्श तर्फबाट आएको ना २६ प १६४९ नं को मोटरसाईकल चेकजाँच गर्दा उक्त पैसा फेला परेको प्रहरीले जनाए ।

पैसा मोटरसाईकल चालक र पछाडी सवार व्यक्ति साथमा रहेको ब्याग चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार व्यक्तिले पिठ्युमा बोकेको BIAOWANG लेखिएको खरानी रंगको झोला भित्र फेला परेको थियो ।

उक्त व्यागमा नेपाली रुपैया एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान गरी जम्मा ३५ लाख ५० हजार  रुपैया फेला परेको हुँदा तत्काल निजहरुलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरुले आफुसाथ बोकेको रकम बारे स्रोत खुलाउन नसकेको र दुई मध्ये राजन कुमार दुबैको साथमा रहेको मोबाईल भित्रको Whatsapp मा विभिन्न बैंक तथा वित्तिय संस्थासंग सम्बन्धित चेक तथा भौचरहरुको फोटो तथा कारोवारको Voice रेकर्ड तथा करोडौ रुपैयाको कारोवार गरेको विवरणहरु समेत फेला परेको थियो ।

उनीहरुलाई पक्राउ गरी  दुबैलाई बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूर २०७३ अन्तर्गत कसुरमा सम्मानित बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप भै अनुसन्धान तथा कारवाही भईरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.