विराटनगर महानगरपालिकामा कर नबढ्ने, नागरिकता र मृत्यु दर्ता निस्शुल्क

| 2018 Aug 15 | 06:56 pm 3843

विराटनगर, साउन ३० : विराटनगर महानगरपालिका कर बढाउने निर्णयबाट पछि हटेको छ । चौतर्फी दबाव बढेपछि महानगर कर बढाउने निर्णयबाट पछि हटेको हो ।

महानगरपालिकाले आर्थिक ऐन २०७५ मा संशोधन गरी वृिद्ध गरेको करको दर, शुल्क तथा महशुल घटाएको हो । कार्यपालिकाको सम्पन्न बैठकबाट ऐन संशोधन गरी कर, शुल्क, महशुल, नवीकरण दस्तुर आदिमा व्यापक हेरफेर गरेर छ ।

महानगरले नागरिकता सिफारिसमा ५० रुपैयाँ सेवा शुल्कलाई संशोधन गरी निस्शुल्क गरेको छ । जन्म, विवाह, मृत्यु दर्ता ३५ दिनभित्र गर्नेलाई निस्शुल्क र त्यसपछि गर्नेलाई ५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । मृत्यु दर्ता र छोरीको जन्म दर्तामा ३५ दिनपछि पनि शुल्क नलाग्ने व्यवस्था गरिएको महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् । यसअघि उक्त शीर्षकमा ५ सय शुल्क तोकेको थियो ।

सम्बन्ध विच्छेदको सिफारिस शुल्कलाई ३ हजारबाट घटाएर ५ सय कायम गरेका छ । संघ संस्था दर्ता सिफारिस शुल्कमा पनि संशोधन गरिएको छ । नगर, वडास्तरीय गैरसरकारी संस्था दर्तामा यसअघि लिँदै आएको दुई हजारलाई एक हजार र र जिल्लास्तरीयलाई तीन हजारबाट दुई हजार तोकिएको छ ।

महानगरले नक्सा पास भएका घर निर्माण गर्न काठको सिफारिसका लागि यसअघि तोकिएको दुई हजार पाँच सय शुल्कमा संशोधन गरी दुई हजार निर्धारण गरेको हो । घरबाटो सिफारिसमा कच्ची बाटोमा यसअघिको दुई हजारलाई संशोधन गरी १ हजार ५ सय शुल्क तोकेको छ । घर नक्सा पास गर्दा लाग्ने करमा पनि घटाइएको छ ।

एक हजार फिटसम्मको घर नक्सा पास गर्दा प्रति वर्गफिट १० रुपैयाँबाट घटाएर ७ रुपैयाँ, १ हजार ५ सय वर्गफिटसम्मका १५ बाट घटाएर १२ रुपैयाँ र २ हजार ५ सय वर्गफिटसम्म २४ बाट २० रुपैयाँ र २ हजार ५ सय वर्गफिटभन्दा माथि २४ रुपैयाँ कायम गरिएको छ ।

सम्पत्ति करमा २० लाखसम्मलाई यसअघि तोकिएको ०.०८ प्रतिशतलाई ०.०५, ५० लाखसम्मको ०.१५ लाई ०.१० प्रतिशत तोकिएको छ । ज्वेलरी व्यवसाय वार्षिक कर यसअघि तोकेको साना व्यवसायीको १५ हजारलाई ७ हजार, मझौलाको २५ हजारलाई १२ हजार र ठूलाको ३५ हजारलाई २० हजार तोकेको छ । महानगरवासीसँग प्रत्यक्ष सरोकार भएको अन्य शीर्षकमा पनि बैठकले संशोधन गरेको राजस्व महाशाखाले जनाएको छ ।

विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीका अनुसार महानगरको मापदण्ड पूरा गर्नुपर्ने, २० वर्षदेखि वृद्धि नभएको, महानगरको विकास गर्न कर वृद्धि गर्नुपर्ने बाध्यता थियो । तर, महानगरवासीको आग्रहमा करको दरमा संशोधन गरेको उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.