विद्या र विद्यार्थी

रिपोर्ट नेपाल | 2023 Sep 15 | 03:21 pm 2721

– दीन पन्थी

विद्या त्यो प्रकाश हो जसले भ्रमहरू हटाउँछ । हामी अज्ञानको अन्धकारमा असत्यलाई सत्य ठानी भ‌ड्किरहेछौं । विद्याले सत्यको स्वरूप चिनाउँछ । हामी अविद्याको अन्धकारमा डोरीलाई सर्प ठान्छौं तर उज्यालोमा डोरी चिनिन्छ । ज्ञान नहुन्जेल रहन्छन् भ्रमहरू । प्रकाश नहुन्जेल रहन्छ अन्धकार । अविद्यालाई अन्धकार र विद्यालाई प्रकाशसँग तुलना गरिन्छ । विद्या ज्ञान पनि हो विज्ञान पनि हो । विद्या सत्यको, ज्योतिको अमृतको प्रतीक हो । या विद्या सा विमुक्तये अर्थात् विद्या त्यही हो जसले मुक्ति दिन्छ । विद्याले जडताबाट, अज्ञानबाट, कूपमण्डूकताबाट, अहङ्कारबाट मुक्ति दिन्छ । जीवनजगतको यथार्थ बुझेपछि अहङ्कार रहँदैन । तत्त्वज्ञान भएपछि व्यर्थ स्वाङ् लोकाचार, लाल्चा, आडम्बर रहन्नन् । संसार चिनेपछि कूपमण्डूकता रहन्न । चेतना खुलेपछि जडता त्यसै भाग्छ । फलेको हाँगो झुकेजस्तै विद्वान् पनि विनम्र हुन्छ ।

विद्या किताबबाट मात्र प्राप्त हुँदैन । अनुभूत ज्ञानराशि हो विद्या । किताब विद्याका साधन हुन्, साध्य होइनन् । किताबमा, श्रुतिस्मृति परम्परामा, अनुभूतिमा र नवीन अन्वेषणमा ज्ञानधारा प्रवाहित भएको हुन्छ । विद्या विश्वविद्यालयका तुलाले जोखिने वस्तु पनि होइन । यो संसार एउटा पाठशाला हो । यो प्रकृति विश्वविद्यालय हो । ज्ञानको भोक जोसँग छ त्यही विद्यार्थी हो । जसबाट सज्ञान प्राप्त हुन्छ, तिनै गुरु हुन् । जीवनजगतका रहस्यहरू खोतल्दै जानु विद्याको काम हो । सुगा रटाइले रहस्यका ढोका खुल्दैनन् । विद्याकै सहाराले मान्छेले भूगर्भ खोतलेको छ, खगोल चहारेको छ, ग्रहनक्षत्रहरूको गणना गरेको छ, पदार्थहरूका गुण र स्वभावहरू पर्गेलेको छ । आखेट युगदेखि रकेटयुगसम्मको मानवजातिको महायात्रामा विद्याको भूमिका सर्वोपरि छ । विद्याले धर्म, आत्मा, जीवन, मृत्यु, सौन्दर्य, पुरुषार्थ, मनजस्ता विषयहरूका अनन्त जिज्ञासालाई सम्बोधन गरेको छ । विद्याको सीमा छैन । नित्यनूतन कुरा आइरहन्छन् संसारमा । मानव सभ्यता अघि बढिरहन्छ । स्थापित मान्यतामै अल्झिएर बस्ने हो भने हामी जति हिडे पनि कोलका गोरू झैं जहाँका तहीं हुन्छौं । उपनिषद्ले भन्छ ‘चरैवेति, चरैवेति’ अर्थात् निरन्तर गतिशील बन, अघि बढ । हामीलाई लाग्छ झोलामा किताब बोकेर हिड्ने मात्र विद्यार्थी हो । हामीलाई लाग्छ विद्या भनेको सम्पत्ति आर्जन गर्ने कला मात्र हो । विद्यार्थीसँग त कहिल्यै नभरिने जिज्ञासाको झोला हुन्छ । किताबका कुरा सबै कण्ठ गरे पनि तत्त्व बुझिएन भने विद्वान् भइन्न । बडे-बडे पोथी पढकर पण्डित भए न कोय अथात् ठुल्ठुला ग्रन्थ रट्दैमा कोही पण्डित हुँदैन ।

सुकरातले कुन स्कूलमा पढेथे ? लियोनार्दो दा भिन्ची पढ्ने बेलामा स्कूलबाट भाग्थे । शेक्सपीयरले उच्च शिक्षा पढेका होइनन् विश्वविद्यालयमा । वेदव्यास र वाल्मीकिलाई पढाउने को थियो त्यतिबेला उनीहरूभन्दा श्रेष्ठ ? गोर्कीले विद्यालय कुचेनन् । सिद्धिचरण आठकक्षा फेल हुन् । बालकृष्णसमको औपचारिक शिक्षा इन्टरमिडियटसम्म हो । यिनीहरूले जगतबाट सिके, जीवनबाट पढे । दत्तात्रेयका चौबीस गुरु थिए । पृथ्वी, परेवा, पुतली, माहुरीजस्ता गुरु थिए उनका । उनले पृथ्वीबाट क्षमाशील बन्नुपर्छ भन्ने सिके, परेवाबाट बढ्ता प्रेममा आसक्ति गर्न हुन्न भन्ने सिके, पुतलीबाट रूपमा आसक्त हुनुहुन्न भन्ने बुझे, माहुरीबाट बढी धनसञ्चय गर्न हुन्न भन्ने जाने । यसरी जिज्ञासा भए सिक्ने कुरा धेरै छन् जगतमा । न्युटनले फल तल खसेको तथ्य खोज्दा गुरुत्वाकर्षण पद्धति पत्ता लगाए । यो जगत् नै विश्वविद्यालय हो ।

जो सँग विद्या हुन्छ, त्यसलाई विद्वान् भनिन्छ । विद्याको न कुनै सीमा छ न पूर्णता छ । छोटो जीवनमा मान्छेले पढेको बुझेको कुरा अत्यन्त अल्प हुन्छ । विद्या प्राप्त गर्न इच्छुक विद्याव्यसनी व्यक्ति नै विद्वान् हो । जोसँग सरलता छैन, अहंकारी छ, संकीर्ण छ त्यो विद्वान् होइन । मूर्खहरू आफ्नो अत्यल्प जानकारीलाई पूर्ण ठानी मख्ख पर्छन् । ममात्रै जान्ने हुँ भन्ने अविनम्र व्यक्ति सबैभन्दा मूर्ख हुन्छ । विद्वानहररु त म केही जान्दिनँ भन्छन्, विनम्र हुन्छन् । अल्पज्ञानी खहरे झै गुड्कन्छ, ज्ञानी सागर मैं शान्त हुन्छ । विद्वान् समदर्शी हुन्छ, उदारचित्त हुन्छ । धनीहरूसँग झुकेर कुरा गर्ने र गरीबहरूलाई हप्कीदप्की गर्ने स्वभाव विद्वानको हुँदैन । जुन विद्यामा मानवता, स्वाभिमान र स्वतन्त्रता छैन त्यो कुविद्या हो । कुविद्या भन्दा अविद्या राम्रो हुन्छ । नराम्रा कुराहरू लेखेको कागजभन्दा कोरा कागज राम्रो ।

(किरण पुस्तकालय, तम्घास, गुल्मीबाट प्रकाशित हुटिट्याउँको मन निबन्ध स‌ंग्रहका कृतिकार दीन पन्थी हाल रेसुङ्गा क्याम्पस तम्घासमा अध्यापनरत हुनुहुन्छ)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.