राष्ट्रपति र प्रधानमन्त्रीले अक्षम्य अपराध गरे

रिपोर्ट नेपाल | 2021 May 17 | 03:57 pm 32797

  • वसन्त भुजेल

राष्ट्रपति भण्डारी – ‘म खड्गप्रसाद ओली प्रतिज्ञा गर्छु, सत्यनिष्ठताका साथ……. ।’ प्रधानमन्त्री ओली –‘म केपी ओली सत्यनिष्ठताका साथ ।’ राष्ट्रपति भण्डारी –‘ प्रतिज्ञा गर्छु ।’ प्रधानमन्त्री ओली –‘ त्यो त पर्दैन ।’ राष्ट्रपति भण्डारी –‘ हिहिहिहिहि…………।’

झट्ट सुन्दा कुनै सिद्धहस्त साहित्यकारले भिषण प्रेम कहानीका लागि तयार गरेको नाटकको पटकथा जस्तो लाग्ने यो संवाद गत बैशाख ३१ गते राष्ट्रपति कार्यलयमा भएको यथार्थ घटना हो । कुनै नाटक होइन । नेपालको संविधान अनुसार ओली अल्पमतको प्रधानमन्त्री नियुक्त भएपछि उनको सपथ ग्रहण समारोहमा भएको यथार्थता हो यो ।

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीलाई गराइएको सपथ ग्रहण समारोहमा विद्यादेवी भण्डारी र खड्गप्रसाद ओलीद्धारा भएको यो हर्कतले यतिबेला विश्वको ध्यान नेपाल तर्फ मोडिएको छ । नेपालमा यस्ता यस्ता पात्र राष्ट्रपति र प्रधानमन्त्री पदमा पुगेका रहेछन् भन्दै विश्व जगतले आश्चर्य प्रकट गरेको छ । फेरी दोहोर्याएर सपथ ग्रहण गराउन माग गर्दै कानुनविदहरुले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । चन्द्रकान्त ज्ञवालीसहितका वरिष्ठ अधिवक्ताहरुले पेस गरेको रिटमा भनिएको छ, ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८ बैशाख ३१ मा भएको सपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक सपथ ग्रहण गर्नु–गराउनु भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरिपाऊँ । साथै प्रधानमन्त्री तथा मन्त्रीले लिने सपथको ढाँचासहितको संघीय कानुन अविलम्ब बनाउनु भनी विपक्षीहरूको नाममा परमादेशको समेत आदेश जारी गरिपाऊँ । ’ संविधानअनुसार सपथ ग्रहण गर्न प्रधानमन्त्री ओलीले अस्वीकार गरेको र सो कुरालाई राष्ट्रपति भण्डारीले सहजै स्विकार्नु संविधान मिच्ने कार्य भएको उल्लेख छ । रिट निवेदनमा भनिएको छ –‘सम्माननीय प्रधानमन्त्री ओलीले सपथ ग्रहणमा आफ्नो नामसम्म भन्नुभएको छैन । उहाँले म केपी ओली भनेर सपथ ग्रहण गर्नुभएको छ, जुन संविधानले केपी ओलीलाई नभई खड्गप्रसाद ओलीलाई मात्र चिन्दछ ।’

राष्ट्रपतिले तयारी सपथ ग्रहणको ढाँचा प्रधानमन्त्रीलाई सुनाउने र प्रधानमन्त्रीले त्यही ढाँचा जस्ताको तस्तै बोल्ने प्रक्रिया नै सपथ ग्रहण हो । नेपाली बोलिचालिको भाषामा कसम भनिन्छ । कानुनी भाषामा सपथ भनिन्छ । चलनचल्तीको भाषामा प्रतिज्ञा भनिन्छ । तर राष्ट्रपति र प्रधानमन्त्रीद्धारा त्यसको मर्यादा पालन गरेको देखिएन ।

प्रधानमन्त्रीले त्यो पर्दैन भन्नु र राष्ट्रपति खितिति हास्नु त रोमियो र जुलेटको प्रेम कथाको संवाद भन्दा बढी देखियो । भनिन्छ युद्ध र प्रेममा जे कुरा पनि क्षम्य हुन्छ । तर सपथ ग्रहण समारोह न प्रेम हो, न युद्ध हो । यो त विशुद्ध सम्वैधिानक प्रक्रिया हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुवैले आफ्नो पदीय मर्यादालाई विर्से । हिँजो यो जिम्मेवारीमा रहँदा उनीहरु के कस्तो व्यवहार गर्थे ? त्यो चासोको कुरा रहेन । प्रेमिकाले खाना पस्किएर दिँदा, भो अब पर्दैन भन्नु सामान्य हो, स्वभाविक पनि हो । तर तिनै प्रेमिका राज्यको माथिल्लो तहमा पुगिन र संविधान तथा कानून अनुसार निर्देशन दिइन् भने भो पर्दैन भन्न मिल्दैन । आपत्ति जनक नै मानिन्छ ।

उदाहरणका लागि २०३१ सालमा शुभराज्यभिषेकका अवसरमा राजा वीरेन्द्रले सम्वोधन गर्दै विदेशी अतिथिहरुलाई धन्यवाद दिने क्रममा ‘म र मेरी श्रीमती’ भन्ने वाक्यांश प्रयोग गरेका थिए । यथार्थमा बडामहारानी ऐश्वर्य राजा वीरेन्द्रकी श्रीमती नै थिइन । तर यो मामिला घरयासी नभएर राज्यको औपचारिक समारोह भएको भन्दै तत्कालिन बडागुरुज्यूले तुरुन्तै सच्याउन लगाए । मेरी श्रीमती भन्ने ठाउँमा ‘हाम्रा बडा महारानी’ उल्लेख गर्न लगाए । राजतन्त्रकालमा समेत त्रुटी सच्याउने हिम्मत तत्कालै गरिएको थियो, तर अहिलेको ओली राजले त राजतन्त्रलाई समेत माथ गर्यो । यस्तोे भयानक हेपाह प्रवृत्तिलाई पनि महान काम भन्दै समर्थन गर्नेहरुको झुण्ड देखिएको छ ।

यसैगरी हिँजो पंचायतकालमा धनुषाका हेमबहादुर मल्लले आफ्नी श्रीमतीलाई चुनाव जिताएर राष्ट्रिय पंचायतमा पुर्याएका थिए । घर भित्र जे भने पनि सार्वजनिक रुपमा उनले आफ्नी श्रीमती शारदा मल्ललाई माननीय ज्यु नै भन्थे । उनीहरु राष्ट्रिय पंचायतमा होस् या मन्त्रालयमा होस, सार्वजनिक रुपमा कहिल्यै जिस्किएनन् । यिनिहरु श्रीमान् श्रीमती पनि हुन् भन्ने कुरा चिन्नेले बाहेक अरुले महसुस नै गरेनन् ।

यतिबेला भण्डारी देशको राष्ट्र प्रमुख हुन् । ओली मुलुकको प्रधानमन्त्री । हिजो भण्डारी ओलीकी कार्यकर्ता थिइन् । नेताले कार्यकर्तालाई हप्काउन मिल्थ्यो, निर्देशन दिन मिल्थ्यो, तर अहिले भण्डारी राष्ट्रपति छिन् । ओली कार्यकारी प्रमुख छन् । पदीय मर्यादाले पनि राष्ट्रपतिको आज्ञा प्रधानमन्त्रीले इन्कार गर्न मिल्दैन । त्यसमा पनि सपथ ग्रहणको मामिलामा त मिल्दै मिल्दैन । यो त सार्वभौमसत्ताको अपमान हो ।

विगतमा उपराष्ट्रपति परमानन्द झाले गरेको त्रुटी भन्दा यतिबेला राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले गरेको त्रुटी ठूलो छ । विगतमा उपराष्ट्रपति झाले हिन्दीमा सपथ ग्रहण गरेवापत कार्यभार सम्हाल्न सर्वोच्च अदालतले रोक्यो । चार महिनापछि पुन सपथ ग्रहण गरेर उनले कार्यभार सम्हाले । यस पटक प्रधानमन्त्री ओलीले नेपाली भाषाको सट्टा अंग्रेजी भाषाको प्रयोग गरे । उदाहरणका लागि म खड्गप्रसाद ओली भन्नु पर्नेमा उनले म केपी ओली भने । प्रतिज्ञा गर्छु भन्ने वाक्य भन्दै भनेनन् । राष्ट्रपतिले दोहोर्याएर भन्न लगाउँदा प्रधानमन्त्री ओलीले त्यो त पर्दैन भनेर इन्कार गरे । प्रधानमन्त्रीको यो इन्कारीपछि राष्ट्रपति भण्डारी कि त गम्भीर हुनु पथ्र्यो, नभए चुप लागे पनि हुन्थ्यो । खितिति हाँस्न थालिन ।

यो प्रकरण विरुद्ध सर्वेच्च अदालतमा रिट निवेदन परेको छ । यस्ता त्रुटी हुँदा पुन सपथ ग्रहण गराएको पुरानो नजीर भएकोले सर्वोच्च अदालतले कत्ति पनि ढिलाई नगरी फैसला गर्नु पर्छ । तर झुक्किएर भन्दा पनि जानाजान गरेको अपराध भएकोले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई महाअभियोगको प्रक्रिया विपक्षीदलहरुले अघि बढाउनु पर्छ । पारित होला या नहोला त्यो आफ्नो ठाउँमा छ, तर संविधान माथि यत्रो हर्कत हुँदा विपक्षीदलहरु तमासे बनेर बस्न मिल्दैन । नभए जनताले सडकमा उत्रेर यसको हिसाब किताव गर्छन् ।

सपथ ग्रहण भनेको केटाकेटी खेल होइन । शितल निवासमा कुनै नाटक मञ्चन गरिएको पनि होइन । मुलुकको संवेदनशील मामिलालाई उखान टुक्का हालेर उडाउँन पाइँदैन । यो अक्षम्य अपराध हो । प्रेमीले जिस्क्याउँदा प्रेमिकाले हिहिहि गर्दै मज्जा लिएको अभिव्यक्ति गरेजस्तो सपथ ग्रहणमा कहीँ पनि हुँदैन । यो लैला मजनुको नाटक मञ्चन गरिएको होइन । विश्वका सभ्य तथा विकसित मुलुकमा यस्तो हर्कत गरिएको भए दुवैलाई तत्काल पदमुक्त गरी गिरफ्तारी गरिन्थ्यो । विश्व सामु देशको यति ठूलो अपमान हुँदा चुुप लागेर बस्नु भनेको अर्को अपराध हो । यस घटना विरुद्ध जनता उठ्नु पर्छ । राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको जिम्मेवारी देशको अपमान गर्नका लागि होइन । जिम्मेवार पदमा रहेर देशलाई अपमान गर्नेहरु सजायको भागिदार भएका नजीरहरु विश्वमा धेरै छन् ।

अब्राहम लिंकनले भनेका छन्–‘हज्जार सर्वसाधारण मुर्ख भए पनि देशलाइलाई केही हुँदैन तर एउटा नेता मुर्ख भए सिंगो देश बरवाद हुन्छ ।

हाम्रो मुलुकको गतिविधि सारा संसारले हेरिरहेको छ । सूचना प्रविधिको यो युगमा कुनै पनि घटना क्षणभरमा विश्वका कुना कुनामा पुग्छ । हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिले गरेको यो हर्कतले विश्व सामु तहल्का मच्चाइ सकेको छ । नेपालको लोकतन्त्रले प्रधानमन्त्री र राष्ट्रपतिमा यस्ता व्यक्तिलाई पुर्याएछ भन्दै कुरा काट्न थालेका छन् ।

भलै कर्नरमा पारिएको होस्, यो देशमा अझै राजा छन्, राजा माथि अगाध जनविश्वास कायमै छ । सेना छन् । सेना प्रति भरोषा कायमै छ । त्यसैले यो मुलुकलाई कसैले खेलौना बनाउन सक्छु भन्ने नसोचे हुन्छ । नेपाली जनतालाई कठपुतली बनाउन पाइँदैन । यस्ता असफल व्यक्तिहरु बहादुरीका साथ साइडलागे हुन्छ । यो भन्दा बढी नांगो नाच अब चल्दैन । ‘इनफ इज इनफ’ भइसक्यो । यस्ता बाँदरहरुको राँइदाइँका लागि नेपालको जन्म भएको होइन । राष्ट्रभक्त बहादुर नेपालीको देश हो यो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.