रौतहट, पुस १५ : रौतहटको कटहरिया नगरपालिकाले आज आईतबार दिएको सार्वजनिक बिदा रद्ध गरेको छ ।
यसअघि नगरपालिकाले नगर प्रमुख जेलबाट छुटेको खुसीयालीमा आईतबार सार्वजनिक बिदा दिने सूचना प्रकाशित गरेको थियो । तर मेयर सियाराम कुशवाहाले सार्वजनिक बिदा रद्ध गरी नियमति रुपमा काम संचालन गर्न सूचना मार्फत जानकारी गराएका हुन् ।
आईतबार विहान ७ बजे जारी भएको सूचनामा प्रमुख प्रशासकिय अधिकृत मार्फत दिईएको सार्वजनिक बिदा रद्ध गरी कार्यालयको नियमित काम गर्न र गराउन निर्देशन दिईएको मेयर सियाराम कुशवाहाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
यसअघि निमित प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले शनिबार प्रमुखस्तरीय निर्णयबाट सार्वजनिक बिदा दिएको सूचना प्रकाशित गरेका थिए । सार्वजनिक बिदाको आलोचना भएपछि आईतबार बिहान मेयर कुशवाहाले बिदा रद्ध भएको सूचना प्रकाशित गरेका हुन् ।
सर्वोच्च अदालतबाट सफाई पाएपछि हेलिकप्टर चार्टर गरी रौतहट आईपुगेका मेयर कुशवाहा अहिले विभिन्न स्थानमा भएको स्वागत कार्यक्रम व्यस्त छन् ।
विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा उच्च अदालतले जन्मकैदको सजाय सुनाइएका मेयर कुश्वाहालाइ सर्वोच्च अदालतले निर्दोष सावित गर्दै सफाइ दिएको थियो ।
उनलाइ उच्च अदालतको फैसलापछि सिआइविको टोलीले गएको बैशाखमा काठमाडाैँबाट कुश्वाहलाई पक्राउ गरेको थियो । मेयर कुश्वाहलाई गएको फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो । तर जिल्ला अदालत पर्साले भने त्यसअघि निर्दोष ठहर गर्दै रिहा गरेको थियो ।
वीरगन्जमा २०६७ साल असार १२ गते तिवारीलाइ अज्ञात व्यक्तिहरुले गोली हानी हत्या गरेपछि कुशवाहासहित केही व्यक्तिमाथि आरोप लगाइएको थियो ।