सिरहा, मंसिर ६: शुक्रबार बिहान भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयका सूचना अधिकृत तथा उपसचिव हरिप्रसाद घिमिरेका अनुसार मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको जानकारी दिए ।
मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका बुझिएको छ ।
घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको थियो। यसबारेमा विस्तृत विवरण आइसकेको छैन। मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिइ बर्दिबास लगिएको बताइएको छ।