मानव जीवनको लक्ष्य चिन्तन

| 2018 Aug 27 | 05:40 am 4260

“आत्म–साक्षात्कार एवम् भगवानसँग छुटेको सम्बन्ध स्थापित गर्नु नै मानव जीवनको मूलभूत लक्ष्य हो । वर्तमान कालमा यस लक्ष्यको कतिपनि अनुभूति नभएका अन्धा नेताहरुले सम्पूर्ण मानव समाजलाई दिग्भ्रान्त तुल्याइदिएका छन् ।…. कृष्णभावनामृत अभियानका माध्यमबाट मानव समाजमा यिनै महत्पूर्ण विषयमा शिक्षा दिन खोजिएको छ ।”
मानव समाजलाई आध्यात्मिक मृत्युबाट बचाउनकै लागि यो कृष्णभावनामृत अभियान सुरु गरिएको हो । आत्म–साक्षात्कार एवम् भगवानसँग छुटेको सम्बन्ध स्थापित गर्नु नै मानव जीवनको मूलभूत लक्ष्य हो । आजकाल यस लक्ष्यको कतिपनि अनुभूति नभएका अन्धा नेताहरुले सम्पूर्ण मानव समाजलाई दिग्भ्रान्त तुल्याइदिएका छन् । हुन पनि मानिसहरु यस विषयमा एकदमै अनभिज्ञ छन् । कृष्णभावनामृत अभियानका माध्यमबाट मानव समाजमा यिनै महत्वपूर्ण विषयमा शिक्षा दिन खोजिएको छ ।
वैदिक सभ्यताको मान्यताअनुसार जीवले भगवान् श्रीकृष्णसँगको आफ्नो नित्य सम्बन्ध बोध गर्नु जीवनको पूर्णता मानिएको छ । भगवद्गीता सम्पूर्ण वैदिक वाङ्मयहरुको सार–सर्वस्व हो र समस्त आचार्यहरुले यो कुरालाई स्वीकारेका छन् । भागवद्गीतमा मानिसलगायत सबै प्राणीहरु भगवान्का अंश हुन् भन्ने बताइएको छ । हाम्रा हात, गोडा, औंला, कान आदि विभिन्न अंगहरुले सिङ्गो शरीरको सेवा गरेजस्तै अंशी भगवान्को सेवामा सदा समर्पित रहनु अंशहरुको स्वरुपगत धर्म हो । हामी जीवहरु भगवान्का अंशविशेष हौं र हामी उहाँकै सेवामा समर्पित हुनुपर्दछ ।
हामी परिवार, समाज, समुदाय वा राष्ट्रको सेवामा खटिएका छौं । सेवा नगरी हामी बस्नै सक्दैनौँ । कसैले कसैको सेवा गरिरहेका हुन्छन् यहाँ । कसैको सेवा गर्नु छैन वा सेवा गर्नै पाइएको छैन भने मानिसले आफ्नो घरमा कुकुर वा बिरालो पाल्छ र तिनै पशुहरुको सेवामा उ मस्त भइरहन्छ । यस अर्थमा सेवामा संलग्न भइरहनु नै जीवको स्वरुपगत धर्म हो भन्ने कुरा व्यवहारिक रुपमा प्रष्ट हुन्छ तर जसको जतिसुकै सेवा गरे पनि हामी सन्तुष्ट हुन सक्दैनौ । हामीले जसको सेवा गरिरहेका छौं, उनीहरु पनि कहिल्यै सन्तुष्ट भएका देखिँदैनन् । सेवा गर्ने र सेवा पाउने दुबैथरि असन्तुष्ट छन् । सेवकले सेव्य ठम्याउन नसकेकै कारण हरेक व्यक्ति यहाँ असन्तुष्ट हुने गर्छन् । उदाहरणार्थ रुखको सेवा गर्नुछ भने त्यसको जरामा पानी हाल्नुपर्दछ । रुखका हाँगा, डाँक्ला र पातहरुमा मात्र पानी हाल्यो भने रुखले खासै सेवा पाउन सक्दैन । रुखको जरामा पानी हाले हाँगा, डाँक्ला र पातहरुले स्वतः पानीको रस पाउनेछन् । यसैगरी हामीले बुझ्नुछ – सम्पूर्ण सृष्टिका मूल स्वयम् भगवान् हुनुहुन्छ । अंशी ईश्वरको सेवा गरे ईश्वरका अंशरुप जीव र जगत् स्वतः सन्तुष्ट हुनेछन् । भगवद्सेवा गरेर नै पारिवारिक, सामाजिक, राष्ट्रियलगायत अन्य सबै प्रकारका सेवामूलक गतिविधिहरुले पूर्णता पाएको अनुभूति गर्न सकिनेछ ।
भगवान्सँग विद्यमान रहेको स्वरुपगत शाश्वत सम्बन्ध बोध गर्नु र सोहीअनुसार कार्य गर्नु हरेक मनुष्यको कर्तव्य हो । यस कर्तव्यको निर्वाह गरियो भने मानव जीवन सफल भएका मानिनेछ । हाम्रासामु यदाकदा चर्को चुनौती सुन्न पाइन्छ, “ईश्वर छँदैछैन”,“ईश्वर मरिसक्यो”, “ईश्वर भए पनि मलाइ के मतलब ?”,“म आफैं ईश्वर हुँ”,“हामी सबै ईश्वर हौं” । यस्तो चुनौतीले सत्यलाई आझेलमा पार्न सक्दैन किनभने जतिसुकै चुनौती दिए तापनि ती चुनौतीहरुले नास्तिकहरुलाई बँच्न र बाँच्न दिएका छैनन् । यथार्थ के हो भने भगवान् हुनुमुन्छ र हामी उहाँलाई कण कणमा दर्शन गर्न सक्छौं । जसले मानव जीवन पाएर पनि भगवान्को दर्शन गर्न खोज्दैन र आँखा चिम्लिएर बस्न खोज्छ, त्यस्ताका अगाडि भगवान् महाकाल वा मृत्युका रुपमा प्रस्तुत भइदिनुहुन्छ । भगवान्लाई भगवान् स्वयम्कै रुपमा दर्शन गर्न नखोजे अर्कै रुपमा देखिनेछ । भगवान्का विविध रुपहरु छन् किनभने उहाँ नै सम्पूर्ण जीव जगत्का मूल हुनुहुन्छ । यसका अर्थमा हामीहरु कोही पनि उहाँको नियन्त्रणबाट उम्किन सक्दैनौँ ।
यो कृष्णभावनामृत अभियान धर्मान्धता र भावुकता होइन । अनि, यो अभियान धर्मान्धहरुले सुरु गरेको विद्रोह पनि होइन । यो अभियान अखण्ड वैदिक परम्परादेखि अवतरित हुँदै आएको आधिकारिक धार्मिक साँस्कृतिक अभियान हो, जसमा जीवको शाश्वत् स्वरुप तथा परम पुरुष भगवान्सँग उसको शाश्वत् सम्बन्धबारे साधनामूलक शिक्षा दिइन्छ । कृष्णभक्तिका मूलभूत विषय हुन् – सम्बन्ध ज्ञान, अभिधेय ज्ञान र प्रयोजन ज्ञान अर्थात यसमा भगवान्सँग जीवको शाश्वत् सम्बन्धबारे बताइन्छ । भगवान्प्रति जीवको स्वरुपगत् कर्तव्यबारे बताइन्छ र अन्तमा कृष्णप्रेमको महत्वबारे बताइन्छ । कृष्णभक्तिको साधनाद्धारा साधकलाई मानव जीवनको सर्वोच्च सिद्धि वा कुष्णप्रेम मिल्दछ ।
जीवनले लाखौं बर्षको देहान्तरण – चक्र पार गरिसकेपछि यो मानव शरीर पाउँदछ । मनव जीवनमा सजिलैसँग भौतिक एवम् आर्थिक आवश्यकताको परिपूर्ति हुने गर्दछ जबकि पशुपंक्षीजस्ता योनीहरुका लागि त्यति सहज छैन । कुकुर, बिरालो, सुँगुर, ऊँट र गधाजस्ता पशुहरुको पनि भौतिक एवम् आर्थिक आवश्यकता नहुने होइन, तर तिनको आवश्यकताको परिपूर्ति सजिलैसँग हुँदैन । मानिसहरुलाई चाहिँ प्राकृतिक नियमअनुसार सुखद जीवन व्यतीत गर्न पर्याप्त सुविधाहरु दिएका छन् ।
पशुहरुका तुलनामा मानिसलाई सबैभन्दा बढी सुविधा किन दिइयो ? एउटै कार्यालयमा काम गर्ने सामान्य कर्मचारीलाई भन्दा उच्च पदाधिकारीलाई किन बढी सुविधा दिइन्छ ? उत्तर एकदमै सरल छः उच्च पदाधिकारीले सामान्य कर्मचारीले भन्दा जिम्मेदारीपूर्ण कर्तव्य निर्वाह गर्नुपर्दछ । यसैगरी, मानिसहरुलाई पशुलाई भन्दा बढी सुविधा किन दिइएको छ भने मानिसले पेट भर्नकै लागि मात्र जतासुकै दौडिरहने पशुहरुका तुलनामा उच्चतर कर्तव्य निर्वाह गर्नुपर्दछ । तर, वर्तमान समाजको बिडम्बनालाई हामी लुकाउन सक्दैनौँ । प्रकृतिको नियमानुसार अहिलेको पाशविक सभ्यतामा विकसित समाजका मानिसलाई बिहान बेलुकाको छाक टार्नै पनि गाह्रो भइरहेको छ । अनि, यिनै शिष्ट पशुहरुको समाजमा उभिएर आध्यात्मिक जीवनको खाँचो औल्याइयो भने उनीहरु ठाडै भन्ने गर्छन्, “गाँसबासको व्यवस्था गर्नु नै हाम्रो धर्म हो ” । ब्रह्मजिज्ञासा वा ईश्वरको जिज्ञासा गर्नाले हामीलाई केही लाभ छैन । मानिसहरु यसरी पेट भर्नैका लागि मात्र काम गर्न खोजे पनि बरोजगारीका चर्का समस्याले उनीहरुलाई उत्तिकै सताइरहेका छन् । यति धेरै समस्याहरुको मार खेप्नु परे पनि उनीहरु भगवान्लाई स्वीकार्न खोज्दैनन् ।
यो मानव शरीर कुकुर, बिरालो, सुँगुर र गधाले जस्तो काम गर्नका लागि दिइएको होइन । यो शरीर हामीलाई दिइएको छ, परम पुरुषार्थ प्राप्तिका लागि मानव शरीर पाएर पनि जीवनको पूर्णता पाउन खोजिन्न भने मानिसले पनि प्रकृतिको नियमानुसार गधाले जस्तो कठिन श्रम गर्नुपर्नेछ । यस कलिकालका मानिसले बिहान बेलुकी दुई छाक खानका लागि गधाले झैँ काम गर्नुपरेको छ । मानिसको कठिन यात्रा सुरु भइसकेको छ । हरेक बर्ष थोरै ज्यालामा धेरै काम गर्नुपर्ने स्थिति जन्मिएको छ । तर, यस्ता कठिनाइहरुको सामना गर्नु परे पनि पशुले जस्तै काम गर्न र आयु त्यसै खेर फाल्न मानव जीवन दिइएको होइन । मानव शरीर पाएर पनि मानवोचित कर्तव्य निर्वाह गरिएन र गर्न सकिएन भने प्राकृतिको नियमानुसार पुनः नीच पशुपंक्षी योनीहरुमा आर्लिनु पर्दछ । जीवात्माले प्राकृतिको नियमानुसार यस संसारमा जन्म लिई विषयभोग भोग्न उपयुक्त शरीर तथा इन्द्र्रियहरु कसरी पाउँछन् ? भन्ने विषयमा भगवद्गीतामा सविस्तार वर्णन गरिएको छ ।
भगवद्गीतामा फेरि यस्तो कुरा पनि बताइएकोछ, जो भगवान्को समीपमा पुग्न अग्रसर भएर पनि कारणवश पुग्न सफल भएका छैनन् अर्थात् भक्तिसाधनामा पूर्णता पाउन समर्थ भएका छैनन्,उनीहरुलाई संस्कार सम्पन्न ब्राह्मण कुलमा वा आर्थिकरुपले सम्पन्न वैश्य कुलमा जन्मन पाउने अवसर दिइन्छ । यस्ता योगभ्रष्ट अथवा असफल योगीहरुलाई उच्च कुलमा जन्मने अवसर प्रदान गरिन्छ भने सिद्ध योगीहरुको सद्गती बारे के भन्ने ? त्यसैले, भगवत्प्राप्तिका लागि गरिने प्रयासमा आधा मात्र सफलता पाउन सकिए पनि दोस्रो जन्ममा शुभ जन्म पाइने पक्का छ । संस्कार सम्पन्न ब्राह्मण कुल र वैभव सम्पन्न वैश्य कुल दुवै मै साधना पथमा प्रगति गर्न अत्यन्त उपयोगी मानिन्छन् किनभने यी कुलहरुमा जन्मिएका मानिसले पूर्वजन्ममा जहाँ पुगेर अगाडी बढ्न सकेका थिएनन् त्यहीँबाट फेरि अगाडि बढ्ने मौका पाउँदछन् । उच्च कुलमा प्राप्त हुने साधना र संस्कार साथै वाञ्छनीय वातावरणले आध्यात्म ज्ञानको अनुशीलन गर्न सजिलो बनाइदिन्छ । यी भाग्यशाली मानिसहरु पूर्व योगभ्यासका कारण उच्च कुलमा जन्म लिन पुगेका आइपुगेका हुन् भन्ने कुरालाई भगवद्गीतामा स्पष्ट पारिएको छ । दुर्भाग्यवश यिनै उच्च कुलमा जन्मिएका अहिलेका छोराछोरीहरुमा मायामुग्ध भएका कारण भगवद्गीताको पावन सन्देशबाट विमुख भएका छन् ।
भौतिक सुविधाले सम्पन्न परिवारमा जसको जन्म भएको छ, उसलाई प्रारम्भदेखि नै गाँसबासको समस्याले सताएको हुन्न र आगामी दिनहरुमा पनि उसले सुखद जीवन पाउँदछ। यस्तो परिस्थितिमा उसलाई आध्यात्मिक साधनामा उत्तरोत्तर उन्नति गर्ने अवसर मिल्छ, तर भाग्यले यसरी साथ दिएको अवस्थामा पनि यन्त्रसँगै यन्त्रवत् काम गर्ने कलियुगको धनाढ्यका छोराछोरीहरु विषयभोगमा रमिरहेका छन् । उनीहरुका लागि ज्ञानको द्वार एकदमै खुल्ला भए पनि त्यस्तो शुभ अवसरलाई आँखा चिम्लिएर उनीहरुले बिर्सिदिएका छन् । अनि, यता प्रकृतिले पनि निर्धारित नियमानुसार यी स्वर्णिम घरहरुमा आगो झोसिदिएको छ । राक्षसहरुको राजा रावणको सुनौलो लङ्कापुरीलाई पनि यसरी नै ध्वस्त पारिएको थियो । यही नै प्रकृतिको नियम हो ।
भगवद्गीतामा कृष्णभक्तिको स्वाध्याय सुरु हुन्छ । भगवदेगीताको सन्देशअनुरुप आर्थिक लगाएत अन्य सबै प्रकारका कार्ययोजनाहरु तयार गर्नु सबै जिम्मेवारी राष्ट्र प्रमुखहरुको कर्तव्य हो । भौतिक तथा आर्थिक समस्याहरुको सामाधान खोज्नका लागि मात्र हामीले मानव शरीर पाएका छैनौं । अहिले यतिखेर त हामीले संसारका सबै खाले दुःखहरुको जरोलाई नै उखेल्न सक्नुपर्दछ । आत्मा क्रियाशील र गतिशील नभए सभ्यता पनि ठप्पै हुन्थ्यो । आत्माले यो शरीरलाई चलाउँछ र सजीव शरीरले विश्वलाई हाँक्ने गर्छ । हामीलाई यही शरीर र शरीरका आवश्यकताहरुको चासो छ । तर, जसले यो शरीरलाई चलाइरहेको छ, त्यस आत्माका बारेमा हामीलाई जानकारी छैन । शरीरमा आत्माले बास गरेको छैन भने शरीरको कुनै महत्व रहन्न । न त्यो चल्छ, न त्यो बोल्दछ । त्यस्तो मुर्दा शरीरको कुनै मूल्य हुन्न ।
मानव शरीर वास्तवमा एउटा उत्कृष्ट साधन हो, जसको सदुपयोग गरे हामी नित्यतामा पुग्न सक्छौं । अज्ञानको अन्धकार हटाई संसार सागर पार गर्ने यो एउटा अति दुर्लभ एवम् महत्वपूर्ण डुङ्गा हो । यो डुङ्गालाई गन्तव्यमा पुर्याइदिने समक्ष माझी अथवा गुरुदेवको करुणापूर्ण मार्गदर्शन पनि हामीलाई उपलब्ध छ । उनै गुरुदेवको करुणाले मानव शरीररुपी डुङ्गालाई मन्द वायुको बहावमा भवसागरबाट तार्दछ । साधु, शास्त्र, गुरु एवम् मानव शरीरजस्ता साधन र सुविधाहरु पाएर पनि संसार सागर तर्न नखोज्ने को होलान् ? जसले यस्तो अवसर त्यसै गुमाउँछ, उसले केवल आत्मघात गरिरहेको हुन्छ ।
रेल गाडीको प्रथम श्रेणीको कक्षमा राम्रो व्यवस्था र सुविधा हुन्छ । तर, त्यो रेल गाडी आफ्नो गन्तव्यतर्फ अगाडि बढिरहेको छैन भने त्यस्तो वातानुकुल सुविधासम्पन्न कक्षको के महत्व हुन्छ र ? आधुनिक सभ्यताले शरीरकै सुख र सुविधा मात्र दिएको छ । पाएको छ मानव शरीर र भोगिरहेको छ उत्कृष्ट शारीरक सुविधा, तर कसैलाई पनि थाहा छैन, जीवनको यथार्थ उद्देश्य, जुन उद्देश्य हो भगवान्को सान्निध्यमा वा भगवद्धाममा फर्किनु । रेल गाडीको उत्कुष्ट कक्षमा उत्कृष्ट सुविधा भोगेर चुपचाप बस्नुमा कुनै बुद्धिमत्ता छैन, यदि रेल गाडी गन्तव्यतर्फ अगाडि बढिरहेको छैन भने । रेल गाडी गन्तव्यतर्फ अगाडि बढे नबढेको हामीले ख्याल गर्नुपर्दछ । त्यसैगरी, अनन्त जीवनयात्राको गन्तव्यलाई च्याट्टै बिर्सेर अर्थात स्वरुपको बोध नगरी जिवनभरि शरीरकै सुविधाका लागि मात्र चिन्तनशील हुनाले कसैलाई कुनै लाभ छैन । मानव जीवन आफैंमा यस्तो डुङ्गा हो, जसको रचनाअनुसार परमार्थ प्राप्तिका लागि अगाडि बढ्न सक्छ । दुर्भाग्यवश यो शरीररुपी डुङ्गा पाँच प्रकारका मोहका साङ्लाहरुले बाधिँएका हुँदा अगाडि बढ्न सकिरहेको छैनः १) आत्म ज्ञानको अभावमा शरीरप्रति मोह, २) शारीरिक सम्बन्धका कारण स्वजनहरुप्रति मोह, ३) जन्मथलो एवम् घरबार, जग्गा जमिन, व्यवसाय व्यापार र सम्पत्तिप्रति मोह, ४) आध्यात्मिक उज्यालो नपाएर सधैँ रहस्यकै ओझेलमा बसिरहने भौतिक विज्ञानप्रति मोह, ५) तीर्थहरुका तीर्थ स्वयम् मानिने भगवान् र भगवद्भक्तहरुका बारेमा ज्ञान नभई कोरा धार्मिक कृत्यप्रति मोह । मानव शरीररुपी डुङ्गालाई अगाडि बढ्न नदिइ एकै थलोमा अल्झाइ राख्ने यी मोहका सन्दर्भमा भगवद्गीताको पन्ध्रौ अध्यायमा सविस्तार वर्णन गरिएको छ । यी मोहलाई जमिनमुनि जरो गाडेर बसेको पीपलको वृक्षसँग तुलना गरिएको छ । जमिनमा जरो गाडेर बसेका पीपल रुखलाई उखेल्नु गाह्रो भए पनि भगवान्ले निम्न सुझावहरु प्रस्तुत गर्नुभएको छः “यस रुखको स्वरुपलाई यहाँ संसारमा कसैले देख्न र अनुभव गर्न सक्दैन । यो कहाँबाट सुरु भएको छ , यसको मूल कहाँ छ र कहाँ यसको अन्त्य हुन्छ, यसबारे कसैलाई पनि थाहा छैन । तर पनि, दृढ सङ्कल्प गर्दै वैराग्यरुपी शस्त्रले यो रुखलाई काट्नुपर्दछ । यसरी जहाँ पुगेपछि यस संसारमा फर्किनुपर्दैन, त्यस ठाउँ (परम पद) को खोजीगर्नुपर्छ । त्यहाँ पुगेपछि उनै परम पुरुष भगवान्को शरण लिनुपर्दछ, जसबाट अनादिकालदेखि सृष्टिको विस्तार भएको छ ।” (भगवदेगीता १५।३–४)
प्रत्यक्षवादी वैज्ञानिकहरु साथै अनुमानवादी दार्शनिक (ज्ञानी)हरुले अहिलेसम्म जीवजगत्को विषयमा कुनै निक्र्यौल गर्न सकेका छैनन् । उनीहरुले यस जगत्लाई भिन्ना भिन्नै दृष्टिकोणबाट हेर्ने गरेका छन् र आ आफ्नै सिद्धान्त प्रस्तुत गरेका छन् । कसैले जगत्लाई सत्यको रुपमा स्वीकारेका छन्ः कसैले यसलाई स्वप्न जस्तै झुठो मानेका छन् र कसैले यसलाई शाश्वतरुपमा विद्यमान रही आएका बताउँछन् । लौकिक विद्वान्हरुले यस्तै मत मतान्तरहरु दिएका छन् । यथार्थ के हो भने प्रत्यक्षवादी वैज्ञानिक तथा अनुमानवादी दार्शनिकहरुले जगत्को प्रारम्भ कसरी भयो र यसको विस्तार कसरी हुन गयो ? भन्नेबारे केही पनि पत्ता लगाउन सकेका छैनन् । विश्वको सृष्टि कहिले र कसरी भयो ? साथै विश्व ब्रह्माण्डहरु आकाशमा कसरी तैरिरहेका छन् भन्नेबारे कसैले केही पनि बोलेका छैनन् । गुरुत्त्वाकर्षणको नियमजस्ता कतिपय सिद्धान्तहरुलाई उनीहरुले जनसमक्ष प्रस्तुत गरे पनि त्यस्ता सिद्धान्तहरुलाई व्यावहारिक प्रयोगमा ल्याउन सकेका छैनन् । विश्व ब्रह्माण्डको विषयमा यथार्थ खोज्दा हरेक व्यक्तिले आफ्नौ मत प्रस्तुत गर्दै ख्याति बटुल्न खोजेको देखिन्छ तर यथार्थ के हो भने यो संसार दुःखालय हो । यस संसारका विषयमा विभिन्न मतहरु प्रस्तुत गर्दैमा दुःखको निवृत्त हुन सक्दैन । भगवान् सम्पूर्ण सृष्टिका ज्ञाता हुनहुन्छ र उहाँले हामीलाई यस संसाररुपी दुःखालयबाट बाहिर निस्कने सुझाव दिनुभएको छ । यहाँ हामीले जे जसलाई राम्रै भनेर दाबी गरिरहेका छौं, त्यसबाट हामी विरक्त हुनुपर्दछ । संसारमै रहेर पनि संसारको प्रपञ्चभन्दा माथि उठी समग्र वृत्ति र व्यवहारलाई भक्तिमय बनाउनु पर्दछ । फलाम आगो होइन, तापनि यसलाई अगेनोमा झोसी राखे यसले आगोकै काम गर्छ । त्यसैगरी, निष्काम कर्म गरे सकाम कर्मबाट छुट्न सकिन्छ । अकर्मण्यताले मात्र कर्मबन्धन छुट्दैन । कर्मत्याग अकर्मण्यता हो, जबकि निष्काम कर्म वा भक्ति सकाम कर्मको त्याग मात्र नभई स्वरुपगत वृत्ति हो । हामीले सच्चिदानन्दमय जीवनको खोजीगर्नुछ, अर्थात् हामीलाई मानव जीवन दिइएको छ, ब्रह्म जिज्ञासा गर्नका लागि । भगवद्गीतामा भगवद्धामलाई अविनाशी परमधाम भनेर बताइएको छ, जहाँ पुगपछि कोही पनि यहाँ मत्र्यलोकमा फर्किँदैन । त्यही नै भगवान्को परमधाम हो ।
यस संसारमा जीवको जीवनयात्रा कहिलेबाट सुरु भयो भन्नेबरे कतै मेसो पाइन्न । हामी किन र कसरी संसार बन्धनमा फस्न आईपुग्यौं ? भन्नेबारे पनि बुझ्नै सकिन्न । हामी यतिमात्र बुझ्न सक्छौं, अनादिकालदेखि सृष्टि चक्र चलिरहेको छ र सबैकारणहरुका कारणस्वरुप भगवान्का चरणकमलमा हामी शरणगत हुनुछ । भगवान्को परमधाममा फर्किनका लागि आवश्यक पर्ने योग्यताबारे भगवद्गीता (१५।५) मा यसरी वर्णन गरिएको छः “जो मान र मोहबाट मुक्त भएको छ, जसले सङ्गदोषलाई जितिसकेको छ, जसले नित्यताको बोध गरिसकेको छ, जो काम ववासनाबाट निवृत्त भएको छ, जो सुखदुःखको द्वन्द्वबाट मुक्त भएको छ, साथै जसले भगवान्को शरण ग्रहण गरेको छ, त्यसले नै अव्यय पद अर्थात् शाश्वात् सनातन धाम प्राप्त गर्दछ ।”
जसले आफ्नो चिद्स्वरुप बोध गरिसकेको छ र जो देहात्मबुद्धिबाट मुक्त भएको छ, जो मोहबाट मुक्त भई निर्गणत्वमा पुगिसकेको छ, जो आध्यात्मज्ञानको परिशीलनमा निरन्तर लगनशील रहेको छ र जसले आफूलाई संसारको भोगवासनाबाट विरक्त बनाएको छ, ऊ भगवद्धाममा पुग्न सक्छ । यस्ता मानिसलाई ‘अमूढ’ भनिन्छ भने अज्ञानी मानिसलाई ‘मूढ’ भनिन्छ । ज्ञानी व्यक्ति सुखदुःखको द्वनद्वबाट मुक्त भइसकेको हुन्छ ।
अनि भगवद्धामको स्वरुप कास्तो छ ? यस सन्दर्भमा भगवद्गीता (१५।६) मा यसरी वर्णन गरिएको छ : “मेरा त्यस परमधामलाई सूर्य, चन्द्र, तेज वा विद्युतको प्रकाशले उज्याले बनाएको छैन । त्यो धाम स्वयम् प्रकाशमान छ । जो त्यहाँ पुग्छ, ऊ कहिल्यै पनि यस संसारमा फर्किँदैन ।”
भगवान् सर्वेश्वर भएका कारण सृष्टिको हरेक ठाउँ उहाँकै राज्य भित्र पर्दछ, तर पनि उहाँको निजि धाम छ । त्यो धाम यो दृश्यमान विश्व ब्रह्माण्डभन्दा पूर्णरुपमा फरक छ । त्यही धामलाई परमधाम भनिएको हो । यही पृथ्वीलोकमा पनि यस्ता देशहरु छन्, जहाँ जीवनस्तर उच्च एवम् न्यून भएका पाइन्छन् । पृथ्वीबाहेक यस ब्रह्माण्डमा असंख्य लोकहरु छरिएर रहेका छन् । ती लोकहरु पनि कुनै उत्कृष्ट र कुनै निकृष्ट मानिन्छन् । तर, ‘माया’ वा प्रकृतिअन्तर्गत रहेका यी सबै लोकहरुमा जीवनयात्राका लागि सूर्य, चन्द्र, अग्नि वा विद्युतको उज्यालो चाहिन्छ किन भने यो विश्व ब्रह्माण्ड आफैँमा अँध्यारो ठाँउ हो । यस प्रकृत जगत्भन्दा पर अर्को अप्राकृत वैकुण्ठ जगत् पनि छ, जहाँ सबै कुरा भगवान्को परा प्रकृति वा योगमायाको अधीनमा क्रियाशील रहेका छन् । त्यही वैकुण्ठ जगत्लाई उपनिषद्हरुमा यसरी वर्णन गरिएको छ, “त्यहाँ सूर्य, चन्द्र वा ताराहरुको आवश्यकता छैन । त्यो धामलाई अग्नि वा विद्युतको प्रकाशले उज्याले बनाएको छैन । यहाँ दृश्यमान् जगत्भित्र सबै विश्व ब्रह्माण्डहरुलाई ब्रह्मज्योतिको एउटै प्रतिविम्बले उज्यालो बनाएको छ । परा प्रकृति आफैँमा स्वयम् प्रकाशमान् भएकाले हामी यस लोकमा रातको अन्धाकारमा पनि केही न केही उज्यालो आएको अनुभव गर्छौं ।” हरिवंशमा भगवान्ले परा प्रकृतिका बारेमा यसरी वर्णन गर्नुभएको छ : “निराकार ब्रह्मको दीप्तिमान् ज्योतिले सबै चिद् अचिद् सत्तालाई उज्याले बनाएको छ । हे भारत, यो ब्रह्म तेज पनि मेरै अङ्ग प्रभा हो भन्ने तिमी बुझ ।” अनि यता ब्रह्मसंहितामा पनि फरि यही कुरालाई प्रष्ट्याइएको छ । अन्तरिक्षयानजस्ता कुनै पनि भौतिक साधनद्वारा त्यो वैकुण्ठ लोकमा पुग्न सकिन्न । हामीले त्यस्तो कहिल्यै नसोचे हुन्छ, तर जो श्रीकृष्णको त्यस परमधाममा पुग्छ, उसले शाश्वत सच्चिदानन्दमय जीवन पाउँछ भन्ने कुरामा चाँही हामी पक्का गर्न सक्छौं । हामी जीवहरु तटस्थ शक्तिका प्रकाश हौं । त्यसैले, हामीलाई दुई वटा सत्तामा रहने विकल्प दिइएको छ । एउटा अचिद् सत्ता हो, जसका हामीले जन्म, मृत्यु, बृद्धावस्था र रोगजस्ता दुःख दोषहरुको सामना गर्नुपर्दछ । अर्को हो, चिद् सत्ता, जसमा हामी उक्त दुःखहरुलाई देख्न सुन्नै पाउँदैनौँ र सच्चिदानन्दमय जीवन पाएर रमाइरहन्छौं । यस संसारमा हामी शरीर तथा मनको अहंकारद्वारा शासित हुन्छौं, तर अप्राकृत वैकुण्ठ जगत्मा भगवान्को न्यानो सान्निध्य पाएर शाश्वत सुखको अनुभूति गर्छौ र रमाइरहन्छौं । वैकुण्ठमा भगवान् हाम्रो दृष्टिबाट कहिल्यै पनि टाढा रहनुहुन्न । विश्वभरि फैलिएको यस कृष्णभावनामृत अभियानले मानव समाजमा तिनै चिद् सत्ता वा वैकुण्ठ सत्ताको सन्देश दिइरहेको छ । हामीले यस संसारमा देहात्मबुद्धि बोकेर हिँडेका छौं र हामी भोगवादी जीवनमा चुर्लुम्मै डुबेका छौं । यस्तो देहात्मबुद्धिलाई कृष्णभक्तिको साधनाद्वारा यथाशीघ्र हटाउन सकिने छ । भगवद्भक्तिको साधनाले देहात्मबुद्धि हट्नेछ र हामी जस्तोसुकै गतिविधि र कर्तव्य कर्महरुमा संलग्न भए पनि सत्त्व गुण, रजो गुण र तमो गुणको प्रभावबाट मुक्त हुनेछौं । यस कृष्णभावनामृत संघद्वारा प्रकाशित भगवद्दर्शन पत्रिका र अन्य ग्रन्थहरुको अध्ययन गरेमा सांसारिक जीवनको प्रपञ्चमा भौँतारिरहेका सबै मानिसहरुले अत्यधिक लाभ उठाउन सक्नेछन् । यी ग्रन्थहरु अध्ययन गरेमा मानिसहरुले संसाररुपी पीपल रुखको जरो उखेल्न सक्नेछन् । यी ग्रन्थहरुमा संसारको भोगलाई त्याग्ने र पाइला पाइलामा भक्ति रस आस्वादन गर्ने शिक्षा दिइएको छ । जति श्रीकृष्णमा अनुराग बढ्यो, त्यति नै संसारप्रति वैराग्य हुनेछ । मन, वचन र कर्मद्वारा भगवद्सेवामा संलग्न भए जो पनि जीवनमुक्त हुनेछ । अन्य आध्यात्मिक साधनाहरुमा महत्वकांक्षा र सुख वासनाहरु लकेका छन्, तर शुद्धभक्तियोगमा सबै अभिलाषा एवम् ज्ञान कर्मका वासनाहरुको दोष कति पनि रहेको हुन्न । तसर्थ, जसलाई भगवद्धाममा जानुछ र भगवान्को सान्निध्यमा फकिँनुछ, उनीहरुले यस कृष्णभावनामृत अभियानको साधनाविधिलाई स्वीकारी परम पुरुष भगवान् श्रीकृष्णका चरणकमलमा सधैँ चिन्तन गरिरहनेछन् । (आत्मविज्ञानबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.