जनकपुरधाम, पुस ३० : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन् ।
सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपीट गरेको झाको आरोप छ । कुटपिटबाट घाइते भएकाले अस्पताल भर्ना गरिएको झाको परिवारले जनाएको छ ।
मन्त्री यादवको थप्पड र लात्ती प्रहारबाट मुख र दाँतको भित्री भाग (मस्कुर) सुन्निएको तथा दाँया हातको हाड भाँच्चिएको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको सचिव झाले बताएका छन् । ‘शरीर कमजोर भएको छ । रातीबाटै स्लाइन चढाएको छ । हातको एक्सरे पनि गरिएको छ,’ सचिव झाले बताए ।
आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सभामुख सरोज कुमार यादवकै अगाडी हात र लात्तले हानेको सचिव झाको आरोप छ । तर, मन्त्री यादवले भने उनीमाथि हातपात नगरेको दावी गर्दै आएका छन् ।