बुबाको स्मृतिमा संचालित व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रिपोर्ट नेपाल | 2018 Sep 17 | 10:10 am 1864

पाल्पा, असोज १: इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयको स्वर्गीय बुवा दिनानाथ पाण्डेयको ३१ औं पुण्यतिथि पारेर ईलाका प्रहरी कार्यालय रामपुरको खेल मैदानमा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा इलाका प्रहरी कार्यालय रामपुरको परिसरमा रहेको खेल मैदानमा संचालित प्रतियोगिता आइतबार सम्पन्न भएको हो । गुल्मी, पाल्पा, स्याङजा, नवलपरासी र रुपन्देहीका गरि जम्मा ४४ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगिताको फाइनलमा पाल्पा लेघुवाको रामेस्वर नेपाल र जीवन थापाको टिमले आयोजक रामपुर नगरपालिकाको भोजराज पाण्डेय र शंकर बहादुर खाँडको टिमलाई २ – ० सेटले पराजित गर्दै नगद १५,००० कप र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेका थिए ।

प्रतियोगितामा रामपुरकै भानु शाही र तानसेनको सागर महर्जनको टिमले तेश्रो स्थान प्राप्त गरेका थिए भने पुर्वखोलाका बिकाश न्यौपानेले उत्कृष्ट खेलाडीको पुरस्कार जित्न सफल भएका थिए ।

नगर खेलकुद बिकास समितिका अध्यक्ष शंकर बहादुदर खाँडको अध्यक्षतामा प्रतियोगिताको समापन भएको र पुरस्कार वितरण प्रमुख अतिथि ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बिजेता टिमहरुलाई पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहको मन्तव्य दिँदै प्रहरी निरीक्षक पोण्डेयले समाजमा शान्ति सुव्यवस्था कायम राख्ने कार्यको महत्वपूर्ण कडीको रुपमा रहेको नागरिक सम्बन्धलाई प्रभावकारी बनाउन यस प्रकारका खेलले प्रमुख भूमिका निर्वाह गर्ने हुँदा आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए ।

समापन समारोहका सभापति तथा रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले राष्ट्र सेवाको अलावा खेल क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याउनु हुने प्रहरी निरीक्षक भोजराज पाण्डेयलाई दोसल्ला ओढाई सम्मान गर्दै बालक, युवा तथा प्रौढहरुको रोजाई पर्दै आएको व्याडमिन्टन खेललाई उत्थान गर्न आगामी दिनहरुमा खेलकुदको विकासको लागि निरन्तर रुपमा कार्यक्रम गरिने खाँणले बताएका।

कार्यक्रमको संञ्चालन नगर खेलकुद विकास समितिका सचिव दुर्गेश मल्लले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.