बारा, चैत १६ : माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगित भएपछि प्रदेश नम्बर – २ मा आन्दोलन चर्कीएकाे छ । एसईईकाे प्रश्नपत्र लगातार बाहिरिएपछि सरकारले अनिश्चितकाल परीक्षा स्थगित गरेकाे थियाे । त्यसपछि एसईई परीक्षार्थीले आन्दोलन चर्काएकाे हाे। परीक्षा स्थगित भएपछि आक्रोशति विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा गरेका छन् । प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । विद्यार्थी प्रर्दशन रोक्न बारा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले रोकि राखेको गाडीमा आगजनी गर्न थालेपछि हवाई फायर गरेको हो । विद्यार्थीहरुले प्रहरीको ना १ झ ७१२ गाडीमा आगजनी गरेका छन् । एसईई परीक्षा स्थगीत भएको विरोधमा शनिबार बिहान विद्यार्थीहरु सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाई सडक खोल्ने प्रयास गरेपछि झडप सुरु भएको हो । जारी एसईई परीक्षा अन्तर्गत प्रदेश २ मा सञ्चालित परीक्षामा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरलेलले पत्रकार सम्मेलन गरी सम्पूर्ण परीक्षा स्थगत गर्न निर्देशन दिएका थिए । सोहीको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानबिन समिति गठन गरेर छानबिन समेत थालिएकाे छ । स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएकाे छ।