बगरको कमाइले दशैँ

रिपोर्ट नेपाल | 2018 Oct 18 | 08:05 am 1920

स्याङ्जा, कार्तिक १: धेरै मजदूरको लागि परिवार पाल्ने र घरखर्च चलाउने आम्दानीको स्रोत बनेको छ– आँधीखोला किनारमा रहेको बगर । आँधीखोलाको किनारमा बालुवा चाल्नुका साथै गिट्टी कुटेर धेरै मजदूरले आफ्नो परिवार पाल्दै र पर्व मनाउँदै आएका छन् ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङकी २७ वर्षीया राधा विश्वकर्मा बाँयेटारी बजारस्थित आँधीखोलाको किनारमा बालुवा चालेर कमाएको पैसाले दशैँमा छोराछोरीलाई नयाँ कपडा किनीदिएका छन् । राधाका श्रीमान् वैदेशिक राजगारीको सिलसिलामा विदेशमा छन्।

श्रीमान्को कमाइको पैसा प्राप्तिको ठेगान नहुने भएकाले आफूले काम गरेर घर परिवारको खर्च चलाउँदै आएको बताइन्। उनले भने, “श्रीमान्ले कहिले पठाउनु हुन्छ निधो हँुदैन गाउँघरमा दशैँको बेलामा अरुसँग माग्नभन्दा आफैँले कमाएर दशैँ मनाउन ठीक लागेर काम थालेको छु ।”

बिहानदेखि साँझसम्ममा एक ट्र्याक्टर बालुवा जम्मा गर्ने र एक ट्र्याक्टरको रु एक हजार २०० मा बिक्री गर्ने गरेको उनले बताए।

बोधिभञ्ज्याङकै सुमित्रा विकले पनि श्रीमान् विदेशमा भएको बताउँदै अरुसँग दुईचार पैसा के माग्नु भन्दै आफैंले दुःख गरेर कमाएर छोराछोरीको कापीकलम र घरखर्च चलाउनको लागि काममा आएको बताइन्। श्रीमान्ले विदेशमा दुःख गरेर कमाएको पैसामा मात्रै भर परेर बस्नुभन्दा आफूले पनि सानोतिनो काम गरेर केही पैसा कमाउन सके परिवार पाल्न र छोराछोरीको पढाइ खर्च चलाउन सहयोग पुग्ने सोचेर खोला किनारमा काम गर्न आएको बताइन्।

वालिङ नगरपालिका–१२ स्थायी घर बताउने हाल ठूलाखेत बाँयेटारीमा बस्दै आएकी माया गुरुङले घरमा यतिकै बस्नुभन्दा काम गर्दा समय बितेको पनि थाहा नहुने र साथीसँग काम गर्दा रमाइलो हुने भएकाले काम गर्न आएको बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.