पोखरा, २० असार : प्रदेश नम्बर ४ को नाम गण्डकी हुने पक्का भएको छ । नेकपाको संसदीय दलको बुधवार बसेको बैठकले गण्डकी प्रदेश बनाउने सर्वसम्मत निर्णय गरेको हो।
बैठकले गण्डकी नाममा सर्वसम्मत् निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बिकास लम्सालले बताए। नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले पनि सोही नाम सिफारिश गरेका थिए। तर साविककै माओवादी केन्द्रका तर्फबाट भने त्यस्तो कुनै नाम दिइएको थिएन।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपा संसदीय दलमा प्रदेशको नामका विषयमा फरकफरक धारणा आएको सार्वजनिक भएको थियो। अधिकांशले गण्डकी राख्नु पर्ने भनेका थिएभने केहीले जातीय पहिचानका आधारमा नामाकरण हुनुपर्ने र केहीले हिमालयको नाममा राख्नु पर्ने भनेका थिए।
प्रदेशको नामकै विषयमा समान धारणा बनाउन यसअघि तीन पटकसम्म नेकपा संसदीय दलको बैठक बसेको थियो। तर समान धारणा बन्न नसकेपछि मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको थियो।