प्रदेश दुईका अर्थमन्त्री र उद्योग सचिवबीच कुटाकुट, सचिवको मुख फुट्यो

| 2019 Jan 13 | 04:15 pm 2260

जनकपुर, पुस २९  : गरिबी निवारणको कोषको रकम सञ्चालनको विषयलाई लिएर प्रदेश दुई सरकारका अर्थमन्त्री र उद्योग , पर्यटन तथा वातावरण मन्त्रालयका सचिव बिच कुटाकुट भएको छ ।

आज प्रदेश दुईको अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री विजय यादव र उद्योग , पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झाबीच कुटाकुट भएको हो ।

गरिबी निवारण कोषको रकम सञ्चालनका लागि एनजीओ छनोट गर्ने क्रममा मन्त्री यादव र सचिव झाबीच विवाद हुँदा कुटाकुट भएको हो । कुटाकुट हुँदा सचिव झाको मुख फुटेको छ । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए। मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मन्त्री यादवले आफूले नकुटेको दाबी गरेका छन्। उनले सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडी ‘म लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको बताए।

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए। केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.