रौतहट, असार २०: बिमा वापतकाे रकम पाउने लोभमा रौतहटका एक निर्दयी बावुले आफ्नी चार वर्षीया छोरीको हत्या गरेको रहस्या खुलेको छ । असार १६ गते राति लक्ष्मीको घाँटी थिचेर हत्या गरेको र पोखरीमा फ्याकेको अवस्थामा १७ गते शव फेला परेको थियो ।
बिमाबाट आउने २५ लाख रकमको लोभमा चार वर्षीया छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको प्रहरी अनुशन्धान बाट खुलेको छ।
जिल्लाको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए।
हत्या गर्ने पूर्व तयारी गरी बीमाको रकम निकाल्ने योजनाअनुरुप नै यादवले छोरीको बिमा गराएको र बिमाको २९ औं दिनमा छोरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। राति आमासँगै घरमा सुतिरहेकी छोरीलाई बोकेर पोखरीको डिलमा लगेर नाक मुख थुनी हत्या गरी पोखरीमा फालेको आरोपी यादवले स्वीकार गरेका छन्।
बिमा गरेको एक महिना भित्रमा बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले उनले बिमा गराएको एक महिना नपुग्दै छोरीको हत्या गरेको हुनसक्ने डीएसपी कार्कीले बताए। शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरी छोरीको हत्या गरी पोखरीमा शव फ्यालेको आरोपमा बाबु रामकिशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।