पाँच लाखभन्दा बढी मुल्यका ३४ थान मोबाइल बरामद

रिपोर्ट नेपाल | 2018 Nov 05 | 03:15 pm 2228

सिरहा, कात्तिक १९ : प्रहरीले राजश्व छली भारतीय बजारबाट नेपाल ल्याउँदै गरेको पाँच लाखभन्दा बढी मुल्यका ३४ थान मोबाइल सेट बरामद गरेको छ।सशस्त्र प्रहरी लहानको टोलीले पाँच लाखभन्दा बढी मुल्यका ३४ थान मोबाइल सेट बरामद गरेका हुन्।

लहान-ठाडी सडक खण्डको लहान नगरपालिका- १९ स्थित कटहाचौक र प्रयागपुर गाउँको बीचमा सशस्त्र प्रहरीलाई देखे पछि त्यही मोबाइलको झोला छाडेर भागेको सशस्त्र प्रहरीका डीएसपी नविन कुमार खडकाले बताए।

उनका अनुसार प्रहरीलाई देखेर ती व्यक्तिले छाडेको झोला चेक गर्दा विभिन्न कम्पनीको ३४ थान मोबाइल फेला परेको छ ।चाडपर्व समयमा तस्करले सीमावर्ती भारतीय बजारबाट विभिन्न मालसमानको तस्करी बढाएको छ।

दुईदिन पहिले पनि यही स्थानबाट सशस्त्र प्रहरीले कपडा बरामद गरेको थियो। लहान बजारको अधिकांश मोबाइल पसलमा भारतबाटै राजश्व छली गरी ल्याइएको मोबाइल छयापछयाप्ती छन्।

यहाँका पसलमा मोबाइल किन्दा बील पनि नदिने गरेको स्थानीय उपभोक्ता विरेन्द्र यादवले सुनाए। ‘आफूले तीन दिनअघि मात्रै मोबाइल किन्दा पसलले बिल दिएन’, उनले भने, ‘राजश्व छल गरी ल्याएकै समान बजार भरिएको छ, तैपनि अनुगमन गर्ने निकाय मौन छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.