-
वसन्त भुजेल
सामान्यतया नाम चलेका पत्रकारहरुका लेखहरु सकेसम्म खोजीखोजी अध्ययन गर्ने मेरो पुरानो बानी हो । पत्रकारहरुका लेखहरु तर्क र तथ्यपूर्ण हुन्छन् भन्ने छाप मेरो दिमागमा पहिले देखि नै छ । विदेशमा पत्रकारहरुले आफ्नो पेशा तथा जीवनका भोगाई तथा अनुभवलाई समेटेर पुस्तक समेत लेख्ने गरेको पाइन्छ, तर नेपालमा भने यो क्रम अत्यन्त कम छ । पहिलो कुरा त नेपालमा पत्रकारिताको इतिहास छोटो छ । दोस्रो कुरा आफ्नो पेशा र कलम प्रति इमान्दार पुराना पत्रकारहरु मेरो नजरमा अत्यन्त कम छन् । तर पनि पत्रकारहरुले जे जति पुस्तक लेखेका छन्, तिनलाई खोजि खोजी पढ्ने गरेको छु । मैले पढ्ने र मेरो दिल र दिमागलाई विश्वास जितेका वरिष्ठ पत्रकार हुनुहुन्छ खिलध्वज थापा । अन्य पत्रकारहरुले आफ्नो जीवन भोगाईका अनुभव मात्रै नभएर केही साहित्यक कृति पनि सार्वजनिक गरिरहँदा मैले खिलध्वजजीको प्रतिक्षा गरेको पनि धेरै भइसेकेको थियो । किनकी म उहाँका लेख तथा उहाँले सम्प्रेषण गरेको समाचारबाट विद्यार्थी जीवनदेखि नै प्रभावित थिएँ । विद्यार्थी जीवन सकेर लामो समय बेलायती सेनामा काम गरेँ । काठमाडौंमा बसेर नयाँ व्यवसायिक जिन्दगी सुरु गरेपछि आफ्नो मनमा बसेका पत्रकार थापाजीका लेख रचनाबाट फेरि साक्षतहुने मौका मिल्यो । व्यवसायिक व्यस्तताका कारण पढ्ने र लेख्ने आफ्नो रहर यदाकदा बाहेक थाति नै रहन पुगेको थियो । पछिल्लो समय शारिरिक असक्तताका कारण व्यवसायहरुलाई निरन्तरता दिन सकिन । अधिकांश समय घरमै बस्नु पर्ने भएकोले नाम चलेका पुस्तकहरु संकलन गर्ने र पढ्ने मेरो दिनचर्या बन्न थाल्यो । यही मेसोमा नाम चलेका केही पत्रकारहरुका पुस्तक पढ्न थालेपछि मेरो दिमागमा खिलध्वज थापाको नाम आइरह्यो । गत शुक्रबार एउटा अनलाईनमा खिलध्वज थापाजीको लेख देखेँ । हतार हतार क्लिक गरेर पढदै गएँ । अन्तिममा भनिएको रहेछ –‘शनिबार विमोचन हुन गइरहेको ‘एक पत्रकारको बकपत्रबाट’ भनिएको रहेछ । खुसीको सीमा रहेन । एक किसिमले काकाकुल जस्तो भएँ । कतिबेला पुस्तक विमोचन होला र पढ्ने मौका पाइएला भन्दै कुर्न थालेँ ।

शनिबार दिउसो पुस्तक मेरो हात पर्यो । पुस्तक हात पर्ना साथ पहिलो शीर्षक एक प्यारेग्राफ पढे त्यस पछि आफूलाई सबै भन्दा मन परेको शीर्षक तथा विषय प्राथकिताका आधारमा पढ्ने मेरो पहिले देखिकै बानी हो । यही बानी अनुसार मैले खिलध्वजजीको यो पुस्तकको पृष्ठ ८ पल्टाएर ‘ टुक्राटुक्रामा विभाजित अतीत’ शीर्षक नियाल्दै पढ्न थाले । पहिलो प्यारेग्राफ पढ्नासाथ मन र दिमाग यसरी एकोहोरिएछ की त्यो पढेर नसकी विषयक्रम हेर्न नै विर्सेछु । जब विषयक्रममा मेरा आँखा पुगे, पढ्छु त सबै उत्तिकै । पहिलो कुन पढ्ने होला भनेर मेरो दिमागमै द्धन्द मच्चियो । उत्तिखेरै सिंगै पुस्तक खर्लप्प निलौं जस्तो भयो । मैले सुरुदेखि नै पढ्न थालेँ । म त यसरी एकोहोरिएछु की, आफ्नै अगाडि चिया सेलाई सकेको पनि थाहा पाइन । दिउसोको खाना खानका लागि पनि समय छुट्याउन मन लागेन । बेलुका आठ बजे खाना खाने बेलासम्ममा पुस्तक भित्रका २२ वटा लेखमध्ये, १८ वटा पढेर सकिसकेछु । बाँकी चार वटा खाना खाएपछि पढें । पढ्ने क्रममा आपूुलाई मनपरेका र संग्रहणीय लागेका प्रसंगहरु अण्डरलाईन गर्ने र मन परेको पुस्तक दोहोर्याएर पढ्ने मेरो बानी छ । तर यो पुस्तक यति सरस र सरल रहेछ की, एक पल्ट पढ्ना साथ केही न केही लेखुँ लेखुँ भइ हाल्यो । २०७७ चैत–बैशाखको पहिलो लकडाउन देखि पढ्ने मात्रै होइन लेख्ने पनि बानी परेको छ । हुन त म लेखक होइन, साहित्यिक चेत खासै छैन । समसामयिक विषय बस्तुमा आफ्नै पाराले लेख्ने गर्छु । मुुर्धन्यपत्रकार खिलध्वजजीको यो गहन पुस्तकका बारेमा समालोचना गर्ने हैसियत मेरो होइन भन्ने कुरा मैले राम्ररी बुझेको थिएँ, तर मनले मानेन । किनकी मैले आफ्नो जीवनमै यति विधि तथ्य परक समसामयिक र सरल भाषामा लेखिएको रोचक पुस्तक पढ्ने अवसर पाएकै रहेनछु ।
पुस्तकका हरेक शीर्षक मात्रै होइन, हरेक वाक्य तथा शब्दहरुले विशेष सन्देश बोकेका छन् । यो पुस्तक एक कालखण्डको तथ्यपरक इतिहास समेत हो । कुनै पनि घटनाका मुख्य कारक दुई पक्ष हुन्छन् । तेस्रो पक्षका रुपमा उपस्थिति भएर त्यो घटनालाई पत्रकारले अभिलेखका रुपमा उतारेको हुन्छ । त्यही अभिलेखलाई इतिहासकारहरुले थप अनुसन्धान गरी लिपिवद्ध गर्ने हुन् । घटनाका कारकपक्षहरुले आ–आफ्नो स्वार्थ बोल्छन्, तर पत्रकारले सकेसम्म यर्थाथतालाई अभिलेखमा उतार्छ । यस कारण पनि ऐतिहासिक घटनाक्रम प्रति चासो लिन पाठकका लागि पत्रकारका अनुभव तथा भोगाइहरु अत्यन्त रोचक लाग्छन् । मैले जे अपेक्षा गरेको थिएँ, खिलध्वजजीको पुस्तकमा त्यो भन्दा बढी पाएँ । यो पुस्तकमा यात्रा संस्मरण मैले अपेक्षा गरेको थिइन । यात्रा संस्मरण पाँच वटा शीर्षकमा गरी ४७ पेजमा समेटिएको रहेछ । तर यात्रा संस्मरणमा पनि विभिन्न मार्गदर्शक घटनाहरु जिवन्त रुपमा प्रस्तुत भएका रहेछन् । वास्तवमा यति दमदार यात्रा संस्मरण पढ्ने मौका मैले अहिले सम्म पाएकै रहेनछु ।
आफू पत्रकारितामा संलग्न भए यताको राजनीतिक घटनाक्रमलाई खिलध्वजजीले चार वटा शीर्षकमा ३५ पृष्ठ छुट्याउनु भएको रहेछ ।
१ पंचायत व्यवस्थाको शल्यक्रिया ।
२ शाह बंसीय राजाहरुको पतन ।
३ राजा वीरेन्द्रको वंशनास ।
४ राजनीतिमा एउटा पत्रकारको रंङ ।
यी चार वटा लेख पढपछि म त झसंङ्ग भएँ । पहिलो कुरा त यो अवधीका कतिपय राजनीतिक घटनाको वास्तविकता मैले थाहा पाएकै रहेनछु । दोस्रो कुरा मैले खिलध्वजजीलाई राम्रोसँग चिनेकै रहेनछु । उहाँलाई मैले त लेखक र पत्रकार मात्रै ठानेको थिएँ । हुन पनि मैले उहाँका कुनै पनि समाचार तथा लेखमा राजनीतिक रङ्ग त परै जाओस् गन्ध समेत फेला पारेको थिइन, तर उहाँ स्वयं राजनीतिज्ञ हुनुहुँदो रहेछ । जसरी आफ्ना साहित्यिक कृतिहरुलाई राजनीतिकको रङ्ग र गन्धबाट बचाउन सक्ने अद्भुत क्षमता दुरदर्शी राजनेता वीपी कोइराला सँग थियो, करिव करिव त्यसरी नै आफ्ना समाचार तथा लेखलाई राजनीतिक रंग र गन्धबाट टाढा राख्ने क्षमता बोकेको पत्रकार हुनुहुँदो रहेछ खिलध्वजजी । उहाँ जन्मेको र हुर्केको गाउँ वाग्लुङको बारकोटलाई म राम्ररी जान्दछु । मैले जान्दा थाहा पाउँदा पनि अत्यन्त अनकण्टार गाउँ हो त्यो । त्यो उहाँका पिताजी कर्णध्वज थापाले २००७ सालको जनक्रान्ति लगत्तै गाउँमै विद्यालय खोलेर करिव २० वर्षसम्म स्वयमसेवी प्रधानाध्यापकका रुपमा सेवा गर्नु भयो । त्यस क्षेत्रमा राजनीतिक जागरणको दियो खिलध्वजकै पिताजी कर्णध्वजले बाल्नु भएको कुरा मैले सानै देखि सुनेको हुँ । त्यसबेलाको बारकोट र अहिलेको बारकोटका बारेमा थोरै शब्दमा खिलध्वजजीले धेरै व्याख्या गर्नु भएको छ । पाठकका लागि यो प्रसंग बडो रोचक छ ।
त्यसो त खिलध्वजजी २०२४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउनु भएको रहेछ । त्यतिबेलाको काठमाडौं र यतिबेलाको काठमाडौंको तुलना उहाँले ज्यादै रोचक ढंगले गर्नु भएको छ । स्मरण शक्ति तथा अभिलेख संकलन गर्न उहाँको क्षमतालाई म वेजोड मान्छु । किनकी मैले अरु वरिष्ठ भनिने केही पत्रकारका संस्मरण पनि हेरेको छु । हुन त खिलध्वजजीले पत्रकारितालाई हतारको साहित्य भनेर पुस्तकका केही प्रसंगहरुमा उल्लेख गरिसक्नु भएको छ । त्यसैले कुन घटनाक्रमको तिथि मिति कुन हो ? भन्ने सन्दर्भमा पुस्तकमा भएका केही अन्योलहरुलाई लिएर टिप्पणी गर्नु आवश्यक छैन । तर पुस्तकका रुपमा प्रस्तुत गर्ने निधो गरिसकेपछि एक पल्ट आफैले दोहोर्याएर पढेको भए राम्रो हुन्थ्यो, नभए कसैलाई पढ्न लगाएको भए झन् राम्रो हुन्थ्यो । किनकी सबै पाठकहरु एकै खालका हुँदैनन् । यस्तै झिना मसिना कमीकमजोरीलाई लिएर खुइल्याउने मौका कुरेर बसेका दुष्टहरुको कमी हाम्रो देशमा छैन भन्ने हेक्का खिलध्वजजीले राख्न सक्नु पर्थ्याे ।
उहाँको यो पुस्तक पक्कै पनि अन्तिम होइन, त्यसैले पुस्तकमा यो प्रसंग भएको भए हुन्थ्यो भन्ने कुरा मैले यहाँ उल्लेख गर्न आवश्यक ठानिन । मनमै राखेँ । तर उहाँले लेखेको बारकोट गाउँ र काठमाडौं शहरको बस्तुस्थिति पढेपछि भने मैले एउटा कुरा थाम्नै सकिन । उहाँ पत्रकारका रुपमा ७७ जिल्ला मध्ये ७६ जिल्ला पुग्नु भएको रहेछ । १४ अञ्चलमध्ये १२ वटा अञ्चलमा त आफै नै बसेर काम गर्नु भएको रहेछ । यसरी १२ वटा अञ्चलमा बसेर काम गरेको पत्रकार नेपालमा सायदै अर्को नहोला । त्यस माथि पनि खिलध्वजजी त निकै दरो कलम भएको आफैमा मुर्धन्य पत्रकार हुनु हुन्छ । आफू बस्दाको अवस्थामा कुन अञ्चल सदरमुकामको अवस्था के कस्तो थियो भन्ने कुरा बारकोट र काठमाडौंको उल्लेख गरे जसरी नै उल्लेख गरिदिएको भए सिंगो नेपाल वोल्थ्यो । मातृभूमीका लागि धेरै नै ठूलो गुन लाग्ने थियो ।
यदी उहाँले पुस्तकको रुपमा लेख्न भ्याउनु हुन्न वा सक्नु हुन्न भने आर्टिकलका रुपमा लेख्दा पनि हुन्छ । महिनामा एउटा लेख्यो भने एक वर्षमा त सकिइहाल्छ । यसले देश र पाठकहरुलाई दिने योगदान सानो हुँदैन ।