काठमाडौँ, असोज ३१ : महान चाड बडादशैंका बेला सर्वसाधारणलाई सार्वजनिक यातायातको अभाव नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आज बुधबारदेखि निःशुल्क बस सेवा सञ्चालन ल्याएको छ ।
संचालित बस सेवा अष्टमी, नवमी र दशमी गरी लगातार तीन दिनसम्म निःशुल्करुपमा सञ्चालन हुने प्रहरीले जनाएको छ ।
सो बस सेवा उपत्यकाको तीनवटा रुटमा सञ्चालन हुनेछन् । दशैंको बेलामा सार्वजनिक यातायात कम चल्ने हुँदा यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाइएको छ ।
प्रहरी अनुसार, पहिलो रुटको बसले कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म बस चलाउने छ । यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा पुनः परिक्रमा गर्ने बताए ।
यसैगरी दोस्रो रुटको बसले कोटेश्वरबाट शहीदगेट हुँदै महाराजगञ्ज नारायणगोपाल चोक, गौशाला हुँदै मैतीदेवी परिक्रमा गरी सोही रुटमा फर्कनेछ ।
त्यस्तै नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ । चक्रपथको बाहिरी र भित्र दुवै स्थानको सर्वसाधारणका लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।