बसन्त भुजेल
नेपालका गाउँहरुको जनसंख्या घट्दो छ । नेपालीहरु आफ्नो गाउँघर भन्दा शहर बजार तथा विदेशमा रमाउन थालेका छन् । हालै बेलायत सरकारले गरेको निर्णयले मात्रै हङकङमा बसेका ५४ हजार नेपालीहरुले बेलायतको नागरिकता पाउने भएका छन् । यसले नेपाललाई ठूलो घाटा हुनेछ । धन (पैसा) पलायन हुनेछ । दक्ष जनशक्ति पलायन हुनेछ । सीकेको सीप पनि पलायन हुनेछ । नेपालले आफ्ना नागरिकलाई दोहोरो नागरिकता दिएर पलयान हुन लागेको पैसा, अवसर र सीप देशमा भित्र्याउनुको सट्टा रेमिट्यान्समै ध्यान दिएको देखिन्छ ।
देश भित्रै पर्यटन, कृषि, उद्योग, जलविद्युत, लगायत विभिन्न व्यवसायका लागि आर्थिक अभाव छ, दक्ष जनशक्तिको अभाव छ । तर सरकारले यस तर्फ ध्यान दिन सकेको छैन । दुई तिहाई बहुमत सहित पाँच वर्ष स्थायी सरकार चलाउने जनम्याण्डेट पाएको नेकपा यतिबेला महाभारतको युद्धमा छ । कसले कति जना मान्छे काठमाडौं उर्तान सक्छ ? भन्ने प्रतिस्पर्धामा नेकपाका नेताहरु लागेका छन् । यो अभियानले कुनै लड्डु हातपर्ने वाला छैन ।
भारतमा बसेर व्यवसाय गर्ने नेपालीको संख्या उल्लेख्य छ । उनीहरु नेपालमा बसेर व्यवसाय गर्न चाहिरहेका छैनन् । खाडी मुलुक दुवईमा पनि धेरै नेपाली व्यवसाय गरेर बसेका छन् । कतार, मेलेशिया, भुटान, बर्मा, फिजी आइल्याण्ड, हुँदै फोकल्याण्ड टापुसम्म नेपालीहरु पुगेका छन् ।
अमेरिका नेपालीहरुको प्रमुख रोजाइको गन्तव्य नै हो । बेलायत, अष्ट्रेलिया , क्यानडा, स्पेन, स्वीटजरल्याण्डमा पनि सानो नेपाली गाउँ छ । विश्वभरी छरिएर बसेका नेपालीहरुलाई सरकारले दाहोरो नेपाली नागरिकताको कार्यन्वयन गरे मात्रै पुग्छ ।
नेपाली नागरिकतालाई निरन्तरता दिनासाथ उनीहरुले कम्तीमा पनि नेपालमा घरजग्गामा लगानी गर्ने थिए । उनीहरुले कमाएको पैसा नेपालमा आउने थियो । उनीहरुले आफुले जानेको ज्ञान सीप , स्वदेशमै आएर उपयोग गर्ने थिए । गाउँ घरका खेर गएको जग्गाको मुल्य बढ्न गई स्थानीयबासी संमृद्ध हुने थिए । तर सरकारलाई यस्ता अर्ती, वुद्धि सल्लाह कसले दिने ? दिइहाले पनि नेताहरुको बोधो दिमागले सोच्ने अवस्था छैन । कमाउ अड्डामा आफ्ना मान्छे पजनी गर्ने, सरकारी, सार्वजनिक जग्गामा आँखा लगाउने धन्दा गर्दैमा नेताहरुलाई देशको अवस्था बारे सोच्ने फुर्सद छैन । कहिले फिर्ने सद्बुद्धी ? हुन त बुद्धी भए न फिर्ने हो बुद्धी नै नभए पछि के फिर्नु, जे छ त्यही आउने हो । जनताको रगत सँग होली खेल्न पल्केका नेताहरुलाई देशको चिन्ता हुने कुरै भएन ।
विदेशबाट रेमिट्यान्स मात्रै आएर देश बन्दैन । कुनै बेलाको संमृद्ध देश फिलिपिन्सलाई हेरे पुग्छ । हाम्रो देशमा जति रेमिट्यान्स आउँछ त्यसले खाद्य सामाग्री आयतलाई धान्ने मुस्किल हुने होकि ? जस्तो देखिएको छ । गाउँका खेतबारी बाँझा छन्, नेपालले करिव २ खर्ब रुपैंयाको खाद्यसामाग्री भित्र्याउँछ । नदीनाला यतिकै खेर गएका छन् तर नेपालले बर्षको डेढ खर्ब रुपैंयाको पेट्रोलियम पदार्थ र ५० अर्ब रुपैंयाको विजुली भित्र्याउँछ । जडीवुटीहरु त्यतिकै खेर गएका छन् तर वर्षको १ खर्ब रुपैंयाको औषधी भित्र्याउँछ । अझ विडम्वना यो छ कि, नेपाल घुम्न आउने विदेशीबाट भित्रिने रकम भन्दा विदेश घुम्न जाने नेपालीबाट बाहिरने रकमको अंश ठूलो छ । फलामै फलामका पहाड छन् तर वर्षको करिव १ खर्ब रुपैंया त फलाम आयतमै विदेसिन्छ ।
जबसम्म आयातको तुलनामा निर्यात दोब्बर बनाउन सकिन्न तबसम्म नेपालको उन्नती संभव छैन, तर अहिले त बार्षिक १४ खर्ब रुपैंयाको आयत हुन्छ, ९० अर्ब रुपैंयाको निर्यात हुन्छ । कति कहाली लाग्दो विडम्वना ? हाम्रा नेताहरु भारत र चीनबाट पाठ सिक्न किन सक्दैनन् ?
ठूला ठूला भाषण सुनौ सुनौ लाग्ने उखान टुक्काले मुलुक संमृद्ध बन्दैन । खोई रेल ? खोइ पानीजहाज, खोई घरघरमा ग्याँस पाइप ? खोई मेलम्चीको पानी ? ठूला कुरा गर्ने ?
चीन र भारत जस्ता ठूलो भूभाग ओगटेका धेरै जनसंख्या भएका मुलुकको बीचमा हामी छौं । उनीहरुको उत्पादनसँग हाम्रा उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने संभावना कम हुन्छ । त्यसैले हामीले आफ्नै मौलिक उद्योग व्यवसाय प्रर्वधन गर्नुपर्ने हुन्छ । उदाहरणका लागि हामी पर्यटन व्यवसाय गर्न सक्छौं, जडिवुटीजन्य औषधी उत्पादन व्यवसाय गर्न सक्छौं, ह्याण्डिक्राफ्ट, मूर्ती, थान्का, काष्ठकला, ललितकलाको विकास गर्न सक्छौं, जो हाम्रा मौलिक हुन्, विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न पर्दैन । तर हामी आफ्नो मौलिकता मास्दैछौ । काठमाडौंको मुख्य पर्यटकीय वजार ठमेलमा राखिएका पसलहरु विदेशी सामानले भरिएको देखिन्छ ।
पर्यटकबाट आउने रकम समेत विदेसिनु भनेको ठूलो विडम्वना हो । हाम्रा नेताहरु परम्परागत घरेलु रक्सीमा होइन होली वाइनमा रमाउँछन् । खोई त जोगाएका हाम्रा मौलिकताहरु ? हाम्रो मुलुकले पछिल्ला दिनमा बाटो बिराएको छ । जुनबेला देखि विदेशीको इशारामा राजतन्त्र समाप्त पार्ने खेल सुरु भयो, त्यसैबेला देखि नेपालको दुर्दशा सुरु भएको हो । राजतन्त्र र धर्मसँगै अब देश नै समाप्त पार्ने प्रपञ्च हुँदैछ । यो प्रपञ्चमा नेताहरु हिस्सेदार बनेका छन् । खोई त लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता गरेको ?सीमानामा तारबार गरिएको खोई त ?
ठूला कुरा धेरै गर्नु भन्दा थोरै साना कुरा कार्यान्वयन गर्नु राम्रो हो ।
पहिले एउटा मार्गचित्र तयार गर अनिमात्रै यात्रा आरम्भ गर । मार्गचित्र विनाको यात्राले गन्तव्यमा पुगिन्न । राज्यलाई यसरी बन्दक बनाउन पाइन्न । राम्रा विज्ञहरुसँग परामर्श गर । सरसरल्लाह गर । अरु देशले आफ्नो विकास र संमृद्धिका लागि के के गर्दैछन् ? अध्ययन गर । कुनै पनि मान्छे आफै सबै विषयमा जानकार छु भन्छ भने त्यो दम्भ मात्रै हो । समस्या समाधानका लागि एकजुट हुन राष्ट्रिय सहमति गर , निकास निकाल यस्तो दिशाविहिन भएर कतिन्जेल अघि बढ्ने ? दिशाबिहिन यात्रा गर्दा दुर्घटना अवश्यंभावी छ ।
देश संचालन गर्दा विधिको ख्याल गर । विधिपूर्वक देश संचालन गर्न सक्दैनौ भने सेनालाई सुम्प । बर्मामा जस्तै केही समय देश सेनाले चलाउँछ । त्यो पनि नभए राजाको नासो राजालाई नै फिर्ता देउ । तिमीहरु जस्ता हुतिहारा नेताले पार्टी त चलाउन सकेका छैन, देश के चलाउँछौ ? अब विदेशीको रिमोट कन्ट्रोलको व्याट्रि फालिदेउ । आफ्नो वुद्धीविवेक छ भने काम गर छैन भने किनारामा गएर बस । फेरी जनताको रगतको होली खेल्ने सपना नदेख ।
यदी देश निर्माणका लागि अन्तिम लडाँइ गर्न कोही तयार छ भने बलिदानीका लागि नेपाली जनता हाजिर छन् । यी विदेशीका दलालबाट अब केही हुनेवाला छैन, होसियार, होसियार, होसियार । अबको लडाँइ भनेको अस्तित्व रक्षाको लडाँइ हो । अब बलबुद्धी सबै लगाएर मातृभूमी नेपालको उद्धार गर्नुपर्ने बेला आइसकेको छ ।
नेताहरु अब सुध्रिएनन् भने पछुताउनु पर्ने छ । पूर्वराजा ज्ञानेन्द्रको जस्तै हालत हुनेछ । जुनबेला उनीसँग राजगद्धी थियो, त्यो बेला होस पु¥याएनन्, अहिले होसमा आएका छन् तर राजगद्धी छैन । यस्तै हालतमा नेताहरु पुग्न सक्छन् । त्यो बेला पछुताउनु बाहेक अर्को बिकल्प हुनेछैन । बर्माकै बाटोमा नेपाल जाओस भन्ने नेताहरुको भित्री चाहना हो भने केही भन्नु छैन ।
उत्तर कोरियाको हालत झन खराब छ । तर गरिव भए पनि बलियो छ उत्तर कोरिया । दक्षिण कोरिया बलियो पनि छ, धनि पनि छ । उत्तर कोरिया बन्ने बाटो रोज्नेकि ? दक्षिण कोरिया ? अझै ठूलो फड्को मार्ने हो भने अमेरिकाको एमसिसि रोज्ने कि ? चीनको विआरआई ? चीन बलियो छ, धनी छ । अमेरिका बलियो पनि छ धनी पनि छ । रोजाई तिम्रो । दुबै हातमा लड्डु छ । अब धेरै अलमल नगरौं । समयले पर्खँदैन, धेरै ढिला भइसकेको छ । निदाएकोलाई जगाउन सजिलो हुन्छ तर निदाएको बहाना गर्नेलाई जगाउन सजिलो हुन्न ।