नकुल काजीको नयाँ व्यङ्ग्यः भालुभुत्ते राजनीतिको उगाल

| 2021 Dec 14 | 09:50 am 1613

श्याम अधिकारी
नकुल काजी झापाका सुपरिचित लेखक — पत्रकारको नाम हो । एक लेखक वा पत्रकारका मनमा आफ्ना वरपर घटेका घटनाले हुँडलो मच्चिनु स्वाभाविक हुँदोरहेछ । नकुलकाजीलाई पनि झापाको परिवेशमा २०७७/२०७८सालमा समाज र सरकारको नेतृत्व गरिआएको तत्कालीन नेकपाभित्रको एमाले पार्टीको एउटा गिरोहले समाजमा मच्चाएको लवस्तरो, लाजमर्दो स्यालहुँइयाँबाट मनमा हुँडलो चलेछ । कुनै पनि सम्वेदनशील शिक्षित मानिस त्यसबेला त्यो मूर्खजमातको अर्धशिक्षित मूढाग्रहबाट आश्चर्यचकित, दिग्दार, दुखी भएर समाजविज्ञान विपरीतको सोचबाट समाजलाई कज्याउन खोज्ने प्रयासप्रति व्यङ्ग भावले त हेर्दथ्यो नै, साथै मुक्तिको लागि उकुसमुकुस पनि थियो । नकुल काजीले यही सामाजिक परिवेशलाई समेटेर दुईवटा हास्यव्यङ्ग्य उपन्यास नै तयार गर्नु भएको रहेछ । ७७सालमा भालुभुत्ते मपाइँ र ७८ सालमा राजनीतिक उगाल नाम दिएर । दुवै उपन्यास पुग नपुग सय÷सय पेजका मात्रै छन्। तर त्यहाँ सय किसिमभन्दा धेरै दिग्दारे मूर्खजमातका तर्क वितर्क र झूटा कुरा , भेडियाधसानको नमुना पढ्न पाइन्छन् ।

उपन्यास विधा आजभोलि पुरानै परिभाषामा बाँधिएको छैन । नकुल काजीकै तत्कालीन समयको सवैभन्दा ठूलो सागर उपन्यास कहाँ? कहाँको भालुभुत्ते मपाइँ र राजनीतिक उगाल । सागरमा उपन्यासको परिभाषालाई पूर्णतादिने प्रयास छ, जीवनलाई साङ्गोपाङ्ग रुपमा हेर्न खाजिएकोछ तर यी उपन्यासमा मानिसको चरित्रको एउटा विडम्बनाले भरिएको पक्षलाई उजागर पारिएको छ । यी पुस्तक वास्तवमा औपन्यासिक स्वरुपमा लेखिएका राजनीक व्यङ्ग्य हुन् । राजनीतिक उगालमा १२ खण्ड छन् भने भालुभुत्ते मपाइँमा १८ खण्ड बनाइएका रहेछन् । राजनीकि उगालमा हरिराम वाजे अर्थात् आदत से मजबूर एक विवस हरामी पात्र लेखकसमक्ष दिनहुँजसो आफ्नो मूढाग्रही विचार पोख्न आइरहन्छ जसलाई लेखकले मूल व्यङ्ग्यपात्र बनाएका छन् । भालुभुत्तेको मपाइँ पनि त्यसैको अघिल्लो संस्करण भन्दा पनि हुने लघु उपन्यास हो, जसको मूल पात्र गौथली को बा हो । तर गौथलीको बा, जस्तोकि एक पाठक चूडामणि बासिष्ठले लेखेका छन् पञ्चायतकाल, प्रजातन्त्र काल, लोकतन्त्र गणतन्त्र काल सवै पचाइसकेको अवसरवादी, धूर्त, लवस्तरो फटाहा, कुरौटे ,थेत्तरो थाङ्ने,पात्र हो भने राजनीतिक उगालको हरिराम वाजे कम्युनिष्टको सरकार आएपछि सो राजनीतिक पार्टीमा सक्रिय हुन आएको सुझ न बुझ हगनगौडी पूज भन्ने उखान चरितार्थ हुने एउटा अवसरवादी पात्र हो । हरिराम हरामी पात्र एक ठाउँ भन्छ “सवभन्दा इम्पोर्ट्यान कुरा त हामेरका अदच््छे मउसूफबाट बन्दोवस्त मिलाउन सर्खार सक्रिएछ भन्ने कुरो भनिबक्सनु हुदैछ्न्अनि तपाइँचैँ खडेन्त्रको जरोगुदी रियाल्टी नबुझी मजस्तो बिज्जी पोल्टििस्यानलाई बोरिङ्मा पार्छौ । हिने म । अब याँबड थुरुक्क कैलुको हुटेलाँ जान्छु, एकदुई गेलास तान्छु अनि घराँ गर आरामले रिल्यास गर्छु” । यसरी अध्यक्ष मौसुफप्रति भक्तिभावपूर्वक लागेको हरिराम बाजे ७८ असारमा अदालतले अध्यक्ष मौसुफलाई सत्ताबाट घोक्रेठ्याक लगाएर निकाल्ने वित्तिकै भन्नपुग्छ—“मेरा मुन—पेटाँ केप्पी ओलीले पर्दानमन्त्री गर्नेढङ्ग पटक्कै नजान्या टपिकका, सयौ कुरा थे नि थिन त । तो सर्खारी एम्मालेपाटीहिजोकोडेटदेखुन लुत्रुक्क ओलाइगो नि, तेस्को अदच्छेपर्दानमन्त्रीबड गेटआउटभइगए भनेसिअव उनलाई भुत्रो खान मउसुप भनिरनु त” । अर्थात् नकुल काजीले राजनीतिक उगालको यो गम्भीरतालाई हरिामको चरित्रबाट छर्लङ्ग पारिदिएका छन् ।

यो औपन्यासिक व्यङ्ग्यमा देशको राजनीतिलाई मोफसलको तल्लो तहमा कस्ता कार्यकर्ताले कसरी कुनप्रकारको प्रभाव छोडिरहेका छन् भन्ने दर्शाइएकोछ भने हास्यरसका लागि हाम्रो शिक्षितसमुदायले प्रयोग गर्ने आधुनिक अङ्ग्रेजीभाषा मिसाइएको बोलीचालीको नक्कलगर्ने ठेट गाउँले पाखेहरुले सोझासाझा नेपालीसामु आफुलाई सभ्य देखाउन प्रयोग गर्ने गरेको खच्चड भाषालाई अघि सारिएकोछ । मिस्कट भाषा व्यङ्ग्यका लागि प्रयोग गरिएको भए पनि वोलीचालीबाट हराउन लागिसकेका ठेट गाउँले झर्रा नेपाली भाषाका शव्द प्रयोगमा पनि लेखकले आफ्नो प्रतिभाको पूर्ण उपयोग गरेका छन् । लेखकले विवेचना साप्ताहिकमा परबाट आयो नरे थापा एैसेलुको झाङमुनि चिसो पानी भन्ने व्यङ्ग्यस्तम्भमा उहिले नै यस्तै भाषा प्रयोग गर्ने गरेको म संझन्छु ।

हास्य व्यङ्ग्य बाहिरबाट झट्ट हेर्दा मनोरञ्जक त हुन्छ तर वास्तविकतामा यो पीडा पोख्ने हाँसोको स्थिति हो । राजनीतिक उगाल पनि त्यस्तै देशको पीडा पोख्न लेखिएको हाँसोका पात्र जम्मा गरेर लेखिएको औपन्यसिक व्यङ्ग्य हो । पीडा यस अर्थमा कि देशको दुईतिहाइ बहुमत ल्याएर जनताको सरकार गठन गरेको दावी गर्ने एउटा बृहत बलिदानी राजनीतिक पार्टीको तल्लो तहमा कस्ता जोकर र चोट्टा नेताले समाज हाँकीरहेछन् भन्ने दुखद अवस्था यसले दर्शाएको छ । यस्तै चोट्टाहरुले नै देश चलाउनु थियो भने किन रामनाथ र नेत्र घिमिरेहरुले जीवनको आहुति दिएर यो अहिलेको सत्तारुढ पार्टीको बीउ राख्नुपरेको थियो र? चोट्टाहरु त पञ्चायतमा नै छदै थिए नि । विडम्बना त के भने हिजो पञ्चायती प्रणालीको पक्षमा रहेका नकुल काजीलाई आज यो सत्ताधारी क्रान्तिकारी पार्टीले जनतालाई ठगेर मूल्य मान्यता त्यागेको देख्दा खुसी लाग्नु त कताहो कता भित्र मुटुमा पीडा गाँठो परेर आएकोछ । अनि हिजोका क्रान्तिकारीहरु पद प्रतिष्ठा र पैसाको लागि चोट्टाका भरमा जनतालाई सुम्पेर अध्यक्ष माउसुप परदानमन्त्रीको वरिपरि घुमिरहेछन् । हरिराम बाजे, गौथलीका बाउ र प्रदीप ज्ञवाली सुवास नेम्बाङ्हरुमा अन्तर हुनुपर्छ भन्ने सन्देश यस २०७८ साउनमा निस्केको राजनीतिक उगालले दिएकोछ । यसैले यो राजनीतिक उगालभन्दा पनि बढी एमाले उगाल हो भन्न उपयुक्त हुन्छ ।

समय त परिवर्तनशील हुन्छ नै, मानिस पनि परिवर्तनशील भएर पञ्चबाट कम्युनिष्ट हुदोरहेछ भने कम्युनिष्ट पनि भ्रष्ट, स्वार्थी, पतित र चोट्टा हुनपुग्दो रहेछ । नकुल काजी र उनको उपन्यास पढिरहँदा मेरा मनमा उब्जेका भावना हुन् यी । हुन त मानिस सधै आदर्शखाएर आदर्शको खोल ओढेर मात्र बाँच्न सक्तैन, यथार्थ धरातलमा खुट्टा टेकेर नै जीवित रहन र प्रगति गर्न सकिन्छ ।तर यथार्थका नाममा पतनको मार्ग अवलम्बन गर्नु देश समाज र स्वयम् सम्बन्धित व्क्तिका लागि पनि घातक हुन्छ । लेखक काजीले प्रस्तुत पुस्तकबाट कम्युनिष्टका नममा सिद्धान्तहीन ,अवसरवादी चोट्टाहरुको विगविगी तल्लो तहमा जरागाड्न थालेकोले शिक्षित ,समझदार र मार्गदर्शन गर्नसक्ने सिद्धान्त जानेका र तालिम प्राप्त कार्यकर्ताको खाँचोपरेको अवस्थालाई एउटा प्रगतिवादी भनाउने लेखकलेभन्दा पनि मार्मिक ढङ्गले शिक्षा र सन्देश दिएको मैले ठानेको छु । समाजलाई अग्रगतिमा बढाउने हो र देश विकास गर्ने हो भने तल्लो तहमा रहेको दिग्दारलाग्दो अशिक्षा, चोट्टापन र अवसरवादलाई हटाउनुपर्छ भन्ने क्रान्तिकारी सन्देश ग्रहण गर्न नकुलकाजीका नयाँ उपन्यासले सघाएका छन् । हामी माथि माथि हुने कालो सूर्यलाई पढेर शासन प्रणालीमा हुने उगालका कुरालाई मात्र साहित्य नठानौ बरु तल तल समाजका नसानसामा भिजेका हरिराम र गौथलीका बाले समाजमा पार्ने प्रभावलाई पनि मनन गरौं ।

नकुल काजीका बारेमा हालै झापाका एक वरिष्ठ साहित्यकारले फेसबुकको स्टाटसमा टिप्पणी गर्दे लेख्नु भएको थियो — झापामा सबैभन्दा धेरै किताव लेख्ने मापाका पत्रकार ।” नभन्दै उहाँले ठूला साना गरी २३भन्दाबढी किताव लेख्नु भएकोछ । उहाँ रउसे, भावुक स्वभावको कतै एड्जष्ट हुन नसक्ने तर अत्यन्त प्रतिभाशाली व्यक्ति हो । उहाँ मलाई माया गर्ने अग्रज पनि हो । अनि विचारमा अस्थिर पनि लाग्छ मलाई । तर तल्लो तहको समाजको उहाँलाई जति गहिरो ज्ञान छ त्यो कमै मानिसमा हुन्छ । अरु पनि यस्तै रसिला सामग्री हेर्न पाइयोस् शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.