‘तीन नदीबाट चाडै पानीजहाज सुरु हु्न्छ’-प्रधानमन्त्री ओली

| 2018 Aug 18 | 02:57 pm 3455

जनकपुर भदौ २:  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका छन् । शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै तीन नदीबाट पानी जहाज चाडै सुरु हुने र भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू प्रदेश २ को विकासका लागि चिन्तित रहेको पनि बताएका छन्। प्रधानमन्त्रीले भने, ‘यो प्रदेशको मात्र कुरा गर्ने हो भने पनि निकै पछाडि छ। यसको विकासका लागि संघीय सरकार र म अत्यन्तै चिन्तित छौँ। चिन्तित मात्र होइन, प्रतिबद्ध छौँ।’

सम्बोधनमा भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्ने समेत बताए। यसैगरी अबको ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए।

संविधान जारी गर्नु अघिदेखि नै प्रदेश सीमांकनको विषयमा मधेसी दलले राखेका तत्कालीन अडानमा विमति राखेपछि ओलीको मधेसमा विरोध भएको थियो । स्थानीयको आक्रोशले ओली र मधेसबीचको दूरी बढाएको चर्चा गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुर पुग्नुभएका प्रधानमन्त्री ओली विस्तारै मधेससँगको सामिप्यतामा जोडिन खोजेका छन् । प्रधानमन्त्री ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत आज जनकपुर पुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.