पर्सा, साउन २९: शरीरमा सेटिङ गरी टेप लगाएर लागूऔषध बोकेर ल्याउँदै गरेका एक युवक सोमबार वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ परेका छन्।
पक्राउ पर्ने लमजुङ जोर्नी डाँडाका १९ वर्षीय सुभाष घले हुन् । उनलाई वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोक क्षेत्रबाट वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी हवल्दार अर्जुन बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले जाँच गर्ने क्रममा घलेको शरीरबाट ६९ गोटा डाइजोल्याव, ७२ गोटा नोफिन र ७१ गोटा फेनारगन गरी २ सय १२ गोटा लागूऔषध बरामद गरेको हो।
पक्राउ परेका घलेलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिआएका प्रनानि नकुल गौतमको जिम्मा लगाई आवश्यक कारबाहीका लागि पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खडकाले जानकारी दिए।
सीमामा पछिल्लो समय गरिएको कडाइपछि तस्कर समूहले तस्करीको नयाँ नयाँ जुक्ति निकालेको हुन सक्ने उनले बताए।