तरुण नेता पुनको हत्याको विरोधमा रोल्पा बन्द

| 2018 Sep 10 | 09:32 am 1645

रोल्पा, भदौ २५ : नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण सोमबार बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ। तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो ।

बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् ।

लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् । पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।

अपराधीलाई कारवाही नहुँदासम्म आन्दोलन जारी रहने नेपाल विद्यार्थी सङ्घ रोल्पाका सचिव नारायण रेग्मीले बताउनुभयो । मृतक पुनको शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरीले जनाएको छ ।

काँग्रेसद्वारा दुःख व्यक्त

यसैबीच, नेपाली काँग्रेसले पनि आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजीकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ। काँग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

यसैगरी काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो दलका रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ ।

दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले एक विज्ञप्ति जारी गरी आइतबार दिउँसो सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पुनमाथि गोली हानिएको भन्दै दुःख व्यक्त गरेको हो ।

हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ । हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.