जुम्ला, असार ३१ : १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल विद्यार्थी संघले जुम्लाको खलंगामा पनि विरोध प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागको सर्मथन गर्दै जुम्ला नेविसंघका टोलीले विरोध प्रदर्शन गरेको हो ।
नेविसंघले सरकारले निषेधित गरेको क्षेत्रमा तोड्दै प्रदशन गरेको छ । जिल्ला प्रशासन कार्यालयले कार्यालय अगाडिको क्षेत्रलाई निषेधित घोषणा गरेपनि नेविसंघले सो क्षेत्र भित्रै प्रवेश गरेर विरोध र्यालि गर्दै खलंगाको कृष्ण मन्दिरमा कोणसभा गरेको थियो ।
माथेमा प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस लगायतका स्नातक तहका कक्षाहरु सुरु गर्नुपर्ने डा। केसीमा माग रहेको छ ।
डा. केसीका मागहरु जायज भएकाले तत्काल सरकारले उनको माग सम्बोधन गर्दै उनको जीवनरक्षा गर्नुपर्ने उपसभापति रामप्रसाद अधिकारीले बताए । ‘सरकारले तत्काल वार्ता टोली गठन गरी डा. केसीका मागलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने । डा. केसीमा मागहरु पुरा नहुँदासम्म नेविसंघ पनि आन्दोलनमा रहने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए ।