जयनगर-जनकपुर रेलमार्गमा ‘परीक्षण रेल’ गुड्न थाल्याे

| 2018 Aug 09 | 02:56 pm 2549

काठमाडौं, साउन २४ : जयनगर-जनकपुर रेलमार्गमा परीक्षणका रुपमा रेल गुडाउन सुरु गरिएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेजले रेलमार्ग निर्माणकाे काम सक्नै लाग्दा परीक्षणका रुपमा रेल सञ्चालन सुरु गरिएकाे हाे ।

जयनगरदेखि-खजुरीसम्मकाे करिब ९ किलोमिटर रेलमार्ग खण्डमा बुधबार परीक्षणका लागि रेल गुडाएकाे रेल विभागले जानकारी दिएकाे छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले आज (बिहीबार) थप १० किमी खण्डमा रेल गुडाएर परीक्षण थाल्ने जानकारी दिए । हाल पहिलाे चरणकाे परीक्षण सञ्चालन मात्रै भइरहेकाे जनाउँदै उनले सबै खण्डको परीक्षण गरिसकेर चाँडै नै नियमित रूपमा रेल सञ्चालन गर्ने बताए ।

पूर्ण रूपमा रेल सञ्चालन हुन भने अझै चार पाँच महिना लाग्ने देखिएको छ । जनकपुर-जयनगर रेलमार्गको लम्बाइ ३५ किलोमिटर रहेको छ । यही सालको पुस महिनाबाट यस मार्गमा पूर्ण रूपमा रेल सञ्चालन गर्ने रेल विभागको तयारी रहेको छ।

नियमित रेल गुडाउनका नेपालमा चालक नरहेको भन्दै भारतबाट चालक र ब्राेडगेज रेल भाडामा लिएर सञ्चालन गर्ने रेल विभागको तयारी छ । जनकपुर-जयनगर निर्माणाधीन रेलमार्ग ब्रोडगेज प्रविधिको हो, जुन भारतमा चल्तीमा रहेको छ । भारतकै १० अर्ब रुपैयाँ सहयोगमा यस रेलमार्गको निर्माण सुरु भएको थियो ।

पुरानै रेलमार्गमा नयाँ लिक बिछ्याएर रेलमार्ग तयार गरिँदै छ । यसमा १० वटा डब्बा तान्ने इन्जिन सहितको रेल लिजमा लिन लागिएको विभागले जनाएको छ। सन् २०१४ बाट यो रेलमार्ग विस्तारको काम सुरु भएको थियो, जसका कारण विगत ४ वर्षयता जनकपुर-जयनगर रेल सेवा बन्द छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.