काठमाडौँ, साउन ३१: नेपाल सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो एक जोडी गैँडा चीनबाट कार्गो विमान आउन नसकेपछि हस्तान्तरणको कार्यक्रम स्थगित भएको छ ।
चीनको गोञ्जाओ शहरमा ठूलो हावाहुरी चलेका कारण गोञ्जाओबाट गैँडा लिन आउने कार्गो विमान बिहिबार नेपाल आउन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । गैँडा हस्तान्तरण कार्यक्रम शुक्रबार साँझका लागि तय भएको खड्काले जानकारी दिएका छन् ।
मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जबाट मितिनी र सोल्टी नामका एक जोडी गैँडा चीन पठाउनका लागि काठमाडौँ ल्याइएको थियो । एक जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा भद्र र रुपसी लाई गत असार २८ गते चीन पठाइसकिएको छ । यी एक जोडी गैंडा मितिनी र सोल्टी दोस्रो पटक पठाउन लागीएको हो ।