मंसिर र पुस महिनामा खादा र माला व्यापारीले निकै कमाए । कतिपय पुराना नेताहरूले आफ्नो बर्चस्व कायम राख्न सफल भए भने कतिपय नयाँ नेताहरू उदाए । नेताहरूलाई खादा र माला लगाउन पाउँदा कार्यकताहरू रमाए भने घाँटीदेखि माथि टाउको छोपिने गरी माला र खादाले अभिनन्दित हुन पाउँदा नेताहरूले पनि गौरवान्वित अनुभव गरे । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भने सादा जीवन जिउन सिक्नुपर्दछ भन्दै खादा र माला नल्याउन पार्टीका सदस्यहरूलाई भनेका थिए भन्ने सुनिएको छ । खादा लगाउनेले लगाए, नलगाउनेले लगाएनन्, यसमा धेरैले चासो दिएको देखिएन तर भोलिका दिनमा यी नेताहरूले देश र जनताका खातिर के गर्नेछन् भन्ने चाहिँ निकै महत्वका साथ हेरिरहेका छन् ।
नेपालका मूलधारका तीन राजनीतिक दलहरूले आआफ्ना महाधिवेशनहरू सम्पन्न गरिसके भने एउटा दलले प्रक्रिया पूरा गर्दैछ । सबै दलहरूले नवीन सोच र उत्साहका साथ अधिवेशनहरू सम्पन्न गरेको र गरिन लागेको उद्घोष गर्दै आएको भए तापनि राजनीतिक पर्यवेक्षकहरूले कर्मकाण्डी हिसाबले हेरेको पाइएको छ । विचारमा द्वन्द्व देखिएन, सिद्धान्तमा बहस भएन, आदर्शका बारेमा छलफल चलाइएन । महाधिवेशनहरूले नेतृत्व चयन गरे आगामी कार्यकालका लागि । बस्, त्यत्ति नै ।
२०७८ को मंसिर महिना राजनीतिक दलहरूको महाधिवेशनको महिना बन्न पुग्यो । राप्रपा र नेकपा एमालेले मंसिरको पूर्वाद्र्धमा सम्पन्न गरे भने नेपाली कांग्रेसले उत्तराद्र्धमा । कांग्रेसको चुनावको मतपरिणाम त चुनावलाई व्यवस्थित र आधुनिक प्रविधिसँग निकट बनाउन नसकेका कारण पुसको पहिलो सातासम्ममा पनि सकिएको थिएन । यही क्रममा नेकपा माओवादी केन्द्रले समेत राष्ट्रिय सम्मेलन भनेर बोलाएको पुस महिनाको भेलालाई महाधिवेशनमा परिणत गरेर आजभोलि सम्पन्न गर्ने तरखरमा छ । यी अधिवेशनबाट चुनिएका नेतृत्वहरूले जनताका काममा फड्को मार्छन् कि उही पुरानो शैली अपनाउँदै माखो नमारी कार्यकाल सम्पन्न गर्दछन् भन्ने हेर्न भने केही समय प्रतीक्षा गर्नै पर्ने भएको छ ।
एमालेको महाधिवेशनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओलीवेशनको संज्ञा दिए । त्यहाँ विचार र आगामी कार्ययोजनाका बारेमा कुनै छलफल नै भएन । नेतृत्व चयनका लागि पनि स्वतन्त्र भएर महाधिवेशन प्रतिनिधिले मतदान गर्ने अवस्था सिर्जना हुन सकेन । मात्र भीम रावलको हठ भनौं या एमालेलाई दल जस्तै बनाउनु पर्दछ भन्ने अडानका कारण मतदान भयो । ओलीलाई मान्नेहरूले ताली पिट भनेपछि ताली पिटे झैँ गरी महाधिवेशन सकियो । कुनै उत्साह ल्याउन सकेन । बरू करोडौं रुपैयाँ खर्च गरेर सम्पन्न गरिएको विधान महाधिवेशनद्वारा पारित पदाधिकारीको संख्या बढाएर नेताहरूको समायोजनलाई मात्र प्राथमिकता दिएको पाइयो ।
राप्रपाले भने जनताबाट बहिष्कृत विचार र सिद्धान्तलाई नै अंगीकार गर्दै महाधिवेशन सक्यो । पुरानो नेतृत्वलाई पराजित गरेर नयाँ नेतृत्व राजेन्द्र लिङ्देन उदाउँदा एकप्रकारको तरंग पैदा भएको थियो । युवा नै नभए पनि केही कम उमेरका व्यक्तिमा अलिकति भिन्न भए पनि नयाँ सोच हुन्छ र त्यसको असर नेपाली राजनीतिमा पर्दछ भन्ने सोचिएको थियो तर नेपाली कांग्रेसको महाधिवेशन समुद्घाटन समारोहमा उनले व्यक्त गरेका विचारले सबैको आशामाथि तुषारापात हुन पुग्यो । कमल थापाभन्दा अझ बढी प्रतिगामी उनी देखिए । हिन्दू राष्ट्र वा धर्म निरपेक्षताको खारेजी त नेपाली जनताको एजेण्डा बन्दै गएको छ तर राजसंस्था पुनःस्थापनाको उनको लक्ष्यले सबैलाई आक्रोशित बनाउन पुगेको छ ।
नेपाली कांग्रेसले त महाधिवेशन हुनु पूर्वदेखि नै यो असहज अवस्थामा भएको हुँदा विचारको छलफल गरिने छैन भनेर घोषणा गरेको थियो । यो महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ भनेका कारण अरू अपेक्षा गर्नु नै परेन । उत्साह, एकता र रूपान्तरण नारा दिएर गरिएको महाधिवेशनले नारालाई कत्तिको सार्थक बनायो भनेर अहिल्यै मूल्यांकन गर्ने बेला भएको छैन यद्यपि कांग्रेस पदाधिकारीमा केही युवाहरूको जबजस्त प्रवेशले हलचल भने गराएको छ । विचारमा छलफल नभए पनि कांग्रेसको रूपान्तरणका लागि भन्दै रामचन्द्र पौडेल, डा.शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, गुरु घिमिरेहरूले पुस्तक तथा पुस्तिकाहरू प्रकाशन गरेका थिए । अब तिनै विचारहरूको परिपालना भए नभएकोबाटै समग्रमा कांग्रेसको मूल्यांकन हुनेछ ।
नेकपा माओवादी केन्द्रको महाधिवेशनमा भने केहीमात्रामा भए पनि उक्त पार्टीले लिने भविष्यको बाटोका बारेमा छलफल चलाइँदै छ । प्रचण्डको एउटा प्रतिवेदन र राम कार्कीको अर्को प्रतिवेदन पेश गरिएको छ तर राम कार्कीले मेरो प्रतिवेदन पनि प्रतिनिधिहरूका बीच बाँडियोस् भनी अनुरोध गर्नुपर्ने परिस्थिति भने त्यति सुखद् होइन । अझ कम्युनिष्ट पार्टीमा दुई धारका बीचमा प्रतिस्पर्धा हुनै पर्दछ भन्ने आशयले मैले अर्को प्रतिवेदन प्रस्तुत गरेको हुँ भन्ने भनाइले उनकै प्रतिवेदनलाई कमजोर बनाएको देखिन्छ या प्रचण्डको प्रतिवेदनको हाकाहाकी विरोध गर्न डराएको मान्नु पर्दछ ।
जे होस्, महाधिवेशनहरू भए । नेपाली कांग्रेस र नेकपा एमालेमा पुरानै नेतृत्व उदाए । कांग्रेसको केन्द्रीय समितिमा सभापति पुरानै भए पनि पदाधिकारी र सदस्यहरूमा केही नयाँ अनुहारले प्रवेश पाएका छन् । छुट्नै नहुने अधिकांश पुराना नेताहरू समेटिएका छन् भने पर्नै नहुने केही परेका छन् । नेकपा एमालेको केन्द्रमा भने विवाद, बहस र छलफल हुनै नसक्ने गरी सबै पार्टी अध्यक्ष ओलीका समूहका या इर्दगिर्दका या अन्धभक्त परेका छन् । राप्रपामा भने मिसमास छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन नसकिएको भए तापनि अध्यक्षमा तीस वर्षदेखि नेतृत्व गर्दै आएका प्रचण्ड नै आउने निश्चित प्रायः भइसकेको छ ।
यीमध्ये राप्रपाका लिङ्देनको लोकतन्त्रप्रतिको निष्ठाका बारेमा कुरै गर्न परेन । जनचाहना बमोजिमको गणतन्त्रका विपक्षमा खुलेयाम संगठन गर्दै हिँड्नेहरूले देश र जनताका पक्षमा काम गर्ने आशा पनि गर्नै परेन । नेकपा एमालेका केपी ओलीले केही महिना अघिदेखि संसद् विघटन र सत्ता कब्जाका पक्षमा चालेका कदमहरूले नेकपा एमालेको लोकतन्त्रप्रतिको निष्ठामै शंका उत्पन्न गराउन थालेको छ । त्यसपछि पनि लामो समयसम्म निरन्तर संसद् चल्न नदिँदा उसको संसदीय व्यवस्थाप्रतिको विश्वासमा समेत आशंका उब्जाएको छ । समस्या समाधानका अरू उपायहरू अवलम्बन गरिनुपर्ने भन्ने आम चाहना छ तर जनताको अभिमत व्यक्त हुने संसद नै अवरुद्ध गर्ने नेकपा एमालेको एकमात्र साध्य देखिएको छ ।
प्रचण्डको लगाव, व्यवहार र सिद्धान्त त खुला राजनीतिमा आएपछिका उनका क्रियाकलापले आकलन गर्न नै मुस्किल पर्दछ । उनका कदमहरू आज भएका ठाउँमा भोलि हुन्छन् या हुँदैनन् दैवले पनि शायदै जानेको होला । यद्यपि अहिले संसद जोगाउने उनको प्रयासलाई प्रशंसा गर्नैपर्दछ र भोलिका दिनमा पनि जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रका प्रति उनको आस्था कायमै रहने छ भन्ने विश्वास गरौं । पछिल्ला दिनमा उनमा आएको सकारात्मक परिवर्तनलाई निरन्तरता दिए भने सबैको कल्याणै हुनेछ अन्यथा फेरि पनि नेपालको राजनीति उही पुरानो दुर्गन्धित खेलमै फर्किनेमा कुनै द्विविधा देखिँदैन ।
यी सबै नेताहरूको भन्दा विशिष्ट खालको लोकतन्त्रप्रतिको विश्वास भने कांग्रेसका सभापति शेरबहादुर देउवामै देखिएको छ । हुन त पार्टी नै लोकतन्त्रवादी हो र बाहिर र भित्र दुवै रूपले लोकतन्त्रप्रति आस्था रहेको एकमात्र पार्टी कांग्रेसमात्रै हो । त्यही पार्टीको नर्सरीमा हुर्केका देउवामा लोकतन्त्रप्रति अरूको भन्दा बढी इमानदारी हुनु कुनै नौलो कुरा होइन । यद्यपि विगतमा भएका कमजोरीलाई हटउँदै देउवा देश र जनताप्रति कर्मनिष्ठ भई कसरी अगाडि बढ्छन् भन्ने चाहिँ सबैले हेरेर बसेका छन् । कांग्रेसको सभापतिमात्रै होइन प्रधानमन्त्रीसमेत भएकाले उनको क्रियाकलापमै देश र कांग्रेसको भविष्य अन्तर्निहित छ भन्दा अत्युक्ति नहोला ।
अब खादा र माला लगाउने काम सकिए । माओवादी पार्टीमा केही दिन चल्ला अरूलाई अब पुग्यो । खादा र मालासँगै जनताले दिएको सन्देश नेताहरूले मनन गरेका छन् कि छैनन् भन्ने चाहिँ महत्वपूर्ण प्रश्न हो । खादामा धागाका जति रेशा छन् र मालामा फूलका पात जति छन्, देश र जनताका समस्या त्यति नै छन् । ती समस्याहरूमा नेताहरू केन्द्रित होऊन् भन्ने जिम्मेवारी खादा र मालामार्फत् दिएका हुन् । हेरौं, नेताहरूले के गर्लान् । हिमालय टाइम्सबाट सभार