कोरोना महामारीबीच मेडिकल माफिया

रिपोर्ट नेपाल | 2021 May 10 | 01:52 pm 7573

  • प्रकाश कार्की

निःशुल्क र गुणस्तरिय शिक्षा अनि स्वास्थ्यको सबैभन्दा बढी ओकालत आफूलाई समाजवादी भन्नेहरुबाट गरिएको हामी पाउँछौं । समाजवादको जगमा निर्मित अनि आफूलाई कट्टर साम्यवादि सोच बोकेका भन्नेहरुबाट नै कैयौं पटक मुलुकको नेतृत्व गरिसक्दा पनि स्वास्थ्य क्षेत्रमा सोचे जतिको सुदृढ गराउन ती नेतृत्वहरु पटक पटक असफल भएकै हुन । कारण कैयौं हुन सक्लान् प्रथमतः समाजवादको जगमा आफू स्थापित भएता पनि आफ्नो निहित स्वार्थवश तमाम नेतृत्वहरुले स्वास्थ्य र शिक्षामा व्यापारीकरणको बाटो खुलाइदिएर तिनले नेपाली समाज अनि मुलुकको भविष्यप्रति ठूलो अपराध गरिदिए । आफूलाई समाजवादको बलमा स्थापित भनाउँदाहरु वा आफू कट्टर साम्यवादी विचार बोकेका स्वयं शिक्षा र स्वास्थ्य क्षेत्रमा उदाएका व्यापारी हुँदै कालान्तरमा स्वास्थ्य जगतको एउटा ठूलो माफियाका रुपमा देखा परे । सरकारमा नेतृत्व हरेक तत्कालीन समय देखि वर्तमानसम्म जती पनि समाजवादका पूजारीहरुले आजीवन गरिब, उत्पीडनमा परेका जाति वर्ग अनि समुदायका नाममा राजनीति गरिनै रहे तर एउटा अबोध गरीब स्वास्थ्य उपचार नपाएर मृत्युको संघारमा पुगेको त्यो वातावरणका प्रमुख कारक तत्वको रुपमा आफूनै देखापरे । कयौंपटक समाजवादका पूजारीहरुले मुलुकको नेतृत्व गर्दासम्म कहिल्यै पनि स्वास्थ्य राज्यको दायित्व हो र राज्यको दायित्वभित्र पारिनुपर्छ भन्ने विषयमा कहिल्यै बहस चलाएनन् ।

सामान्य भन्दा सामान्य तिनमा स्वास्थ्यमा समस्या देखिएमा तिनका खासै आम्दामी नभएतापनि दिल्ली र सिंगापुरका एकदमै प्रतिष्ठित अनि महँगो अस्पतालमा उपचार गराउने सामथ्र्य पुगिनै रह्यो । तर तिनलाई नेतृत्वको ताज दिलाउनेहरु स्वास्थ विपन्नता कै कारण हिजो मरिने रहेका थिए भने आज मर्दै छन् । बाल्यकालमा सुन्ने गरेको थिएँ, एउटा सिटामोल पनि प्राप्त गर्न नसकि बिरामीले प्राण त्याग गर्नु पर्यो । तत्कालीन ग्रामीण परिदृश्य वास्तवमा एकदमै काहाली लाग्दो थियो । त्यसका कयौं कारणहरु हुन सक्लान् तर आज यो परिपेक्क्ष्यमा मुलुक आउँदा पनि भ्याक्सिन र औषधिको अभावले दैनिक दर्जनौं बिरामीले ज्यान गुमाउनुपर्ने हृदय बिदारक अवस्थाले वास्तवमा नै यो राज्यप्रति कयौं प्रश्न गराई राखेको छ ।

यतिका लामो अनुभव अनि नेपालले विगतको स्वास्थ्य जगतमा कयौं तिता अनुभव भोगिरहँदा पनि सामान्य जनता आज अस्पतालमा बेड नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाले सरकारको स्वास्थ्य जगतमा गरिएको फितलो पूर्वतयारीको एउटा उदाहरणको रुपमा पनि हामीले लिन सक्छौं । हो अहिलेको कोभिड महामारीले विश्व जगतलाई आक्रान्त बनाएको छ । जनसंख्या र देशको आकारको हिसाबले आज विश्व जगतको आँखा पूरै भारत केन्द्रित भएको छ कारण त्यहाको भयावह अबस्था । कोरोनाले आज भारत वास्तवमा नै एकदमै हृदय विदारक अवस्थाको संघारमा उभिएको छ । जुन अवस्थामा भारत पुगेको छ, त्यो भन्दा पनि एकदमै भयावह अवस्थाको नेपालले सामना गर्नुपर्ने अवस्था आउनेमा प्रबल सम्भावना रहेको कयौं कारण छन् । कारण कोरोनालाई निस्तेज बनाउने कयौँ पूर्व तयारीका विषयमा नेपाल वास्तवमा नै एकदम फितलो देखिएको छ । कोरोनालाई निस्तेज गराई जनतालाई बचाउनुपर्ने दायित्व वहन गरेको सरकारलाई यो विषयमा खासै चाख देखिँदैन । सरकार वास्तवमा नै जनताको जिउधनसँग अलिकती पनि संबेदनसिल भएको भए सायद आज जुन अवस्था नेपालले भोगिरहेको छ सायद यस्तो कदापि भोग्नु पर्दैन थियो होला । महामारीमा त सबैले आफ्नो ठाउँबाट आफूले सक्दो सरसहयोग गर्ने हो । तर यहाँ सरकारी स्तर बाट नै महामारीलाई झन भयावह बनाउने कार्य भएको कयौं उदाहरण हामी प्रष्ट पाउछौ । भारतजस्तो अर्थतन्त्रमा सफल रहेको मुलुकले त्यो अवस्थाको सामना गर्नुपरेको छ भनी नेपालको स्थिति कल्पनाको सीमाभन्दा बाहिर रहेको छ भन्दै , अब हामीलाई मात्र पशुपतिनाथले बचाउन सक्छन् , भन्दै बचाउका न्यूनतम उपाय पनि नअपनाउँदै सरकारी स्तर पन्छिन खोज्ने एउटा प्रमुख कारण हो । झन महामारीका बिचमा निजी अस्पताल देखि कैयौं मेडिकल माफियाहरु कमाउको धन्दामा लागेको कयौं प्रमाण पाउँदा सम्म पनि सरकार कानमा तेल हाली बसिरहनु अर्को कारण मान्न सकिन्छ । यस्तो परिस्थितिमा अनुगमनलाई कडाई गर्दै जनतालाई बचाउनुपर्ने ठाउँमा सरकार स्वयं भ्याक्सिन खरिदमा ३२ करोड बढी कमिसनको लोभमा नागरिकको जीवन खेलबाडमा रहेको, कमिसन नमिल्दा भ्याक्सिन खरिदमा रोक लगाउनु सरकारी कदम वास्तवमानै लज्जाको पराकाष्ट मानिन्छ जुन कारणका सामान्य नमुना मात्र हुन ।

स्वास्थ्य क्षेत्रमा धेरै व्यक्तिहरु मात्र पैसा सोर्न आतुर देखिएको कयौं विगतका हाम्रा तिता अनुभव पनि नरहेको पक्कै होइन । बिरामीलाई अनावश्यक जाँच गर्न लगाउने र अनावश्यक औषधि भिडाउनु स्वास्थ्य जगत भित्रको परम्परानै रही आएको नै छ । बिरामीको स्वास्थ्यसँग भन्दा पनि दिनहु आम्दामीसँग केवल सरोकार राख्छन् अधिकांश निजी स्वास्थ्य संस्थाका चिकित्सक देखि सञ्चालहरु । सरकारले मौलिक हकको रुपमा स्वास्थ्य जगतलाई उल्लेख गरेता पनि आज स्वास्थ्य क्षेत्रमा ठूलो व्यवसायिक चलिरहेको छ । साना भन्दा साना फर्मेसी देखि ठुल्ठुला स्वास्थ्य संगसरोकार राख्ने संघसंस्था बिगतका तिनका काला कर्तुतबाट पुरै नाङ्गिसकेका छन् । पैसा नभएका बिरामीले उपचार नपाउने, उपचार पाएका बिरामीले पनि चर्को शुल्क तिर्नुपर्ने, जुन उपचारका नाममा जताततै मात्र ठगीनै ठगी भएको विभिन्न संघसंस्था अनि सरकारी स्तरका कयौं अध्ययनले पनि देखाइसकेका छन् । कतिपय निजी अस्पताल जो दैनिक एक न एक सडक दुर्घटनाको अपेक्षा गरी बसिरहेका हुन्छन् रे । दुर्घटनाको सिकारमा परेका बिरामीलाई अनावश्यक जाँचको प्रक्रियामा पारिँदै मंहगो बिल ठम्याउनु यिनका दैनिकीनै बनेको छ रे । कतिपय निजी अस्पतालले सडक दुर्घटनाबाट घाइते भएकालाइ आफ्नो अस्पतालमा ल्याउनका लागि सडकमा आफ्नो कर्मचारी खटाएका हुन्छन् भने कतिपयले सडक छेउमा डिउटी गरिरहेका प्रहरी प्रशासनसँग घाइतेलाई आफ्नो अस्पतालमा ल्याउनका लागि सेटिङसम्म गरेका हुन्छन् रे ।

हो विरामी वा घाइतेलाई जतिसक्दो अस्पताल पुर्याउनु नै मानवीय गुण भित्र पर्दछ । नजिकको अस्पतालमा पुर्याएर घाइते वा बिरामीलाई जोखिमबाट मुक्त गराउने प्रथम त दायित्व भित्र पर्दछ । तर नजिकको अस्पताल भित्रको कयौं अमानवीय व्यवहार जो घाइतेले जब ऊ सामान्य अवस्थामा आउँछ त मात्र चाल पाउँछ । निजी अस्पताल वास्तवमा नै स्वास्थ्य जगत भित्र कयौ बिकृति सिर्जना गर्दै स्वास्थ्य क्षेत्रलाई नै भयावह बनाउने कार्यमा तल्लीन देखिन्छ ।

मिति २०७८÷०१÷१९ गते काठमाडौ मेडिकल कलेज पब्लिक लिमिटेडले कोरोना पोजेटिभका बिरामीको लागि थप क्याभिनको व्यवस्था गरिएकोले भर्ना भइसकेको बिरामीलाई यथावत र मिति २०७८÷०१÷१९ गतेबाट नयाँ बिरामीलाई निम्न शुल्क लाग्ने बन्दै लामो हस्पिटलको लेटर प्याडमा मूल्यसूची प्रकाशन गर्यो । त्यस्तै ह्याम्स अस्पतालको अवस्था पनि त्यस्तै रहेको छ । वास्तवमा नै अधिकांश उपत्यकामा रहेका निजी अस्पतालले महामारीमा पनि उही पहिलेकै धन्दामा केन्द्रित रहदा लाग्छ सायद यिनीहरु नै वैधानिक हो । नत्र किन यिनिहरुले यस्तो महामारीमा पनि अमानवीय ब्यबहारको ताण्डव देखाइरहेका छन् । एक प्रश्न ? स्वास्थ जगतलाई स्वस्थ बनाउने अभियानमा लागेका प्रा.डा. गोविन्द केसीजस्ता स्वास्थ्यकर्मी तथा विशेषज्ञहरुको भनाइ छ कि सत्ताका चार खुट्टामध्य एउटा खुट्टा यी मेडिकल माफियाले बनेको हुन्छ । सरकार मेडिकल माफिया माथि हात हाल्न थरथर्ति काम्ने गर्दछ । मेडिकल माफिया माथि हात हालेर सत्ताच्युत हुनु भन्दा तै चुप मै चुपको विधिमा रहेका हुन्छन् अधिकांश सरकारका नेतृत्वकर्ताहरु । जसको परिणामस्वरुप राष्ट्रमा स्वास्थ्य जगतमा माफियाले आफ्नो माफिया गिरी देखाउन सक्षम भएका हुन् भने यस्ता माफियाहरुले लुटलाई खुलेआम छुट पाएका हुन् । यो बेला वास्तवमै कसको व्यापार फस्टायो, कुन व्यापारीले कमायो भन्ने ध्यानमा भन्दापनि सबैजनाले एकअर्कालाई सहयोग गरी महामारीबाट उन्मुक्ति प्राप्त गर्नु नै प्रथमत हो । यस्तो परिस्थितिमा पनि एउटै बेडको तीस हजार तिर्नुपर्ने एकदिनको यो मेडिकल माफियाको दादागिरी सिवाय अरु केहि हुन सक्छ ? हुन त हिजोका दिनमा पैसा तिरेर निजी अस्पतालमा कोरोना जाँच गर्न पाइने व्यवस्था जुन सरकारी निकायबाट भयो वास्तवमा नै यसमा पनि माफियाको भित्री स्वार्थ नै रहेको देखिन्छ ।

सरकार आफ्नो सरकारी अस्पताललाई आफ्नो दायित्व अनि जिम्मेवारीबाट पन्छाउने अनि आफू र आफ्नो सरकार सम्बन्धित पार्टीका व्यक्तिको लगानी भएको अस्पताललाई कमाउने धन्दाको वातावरण मिलाउनु हो । नत्र पिसिआर परीक्षण सरकारी स्तरबाट नै निशुल्क गरिनु पर्दथ्यो । सामान्य २ रुपैयाँ खरिद मूल्यको माक्सलाई स–साना देखि ठुला किराना पसल हुँदै फार्मेसिले १० रुपैयाँ प्रति गोटामा बेच्दै खुलेआम ठगिरहेका देख्दा पनि सम्बन्धित निकाय वास्तवनै मौन रहेको हामी पाउँछौं । नाफाको पनि एउटा हद हुन्छ एउटै माक्समा प्रतिगोटा ८÷९ रुपैयाँ नाफा खानु वास्तवमा नै ठूलो अपराध हुन् त हिजोका दिनमा माक्स, ग्लोब्स लगायत कयौं मेडिकल आवश्यकतालाई भण्डार गरी बजारमा त्यसको कृतिम अभाब सिर्जना गरिदिएर कयौँ ठगी गरेका त्यस्ता प्रमाण हामीमाझ नभएको भनी पक्कै होइन । मानवीय मूल्य र मान्यतालाई नै परम धर्म मान्दै कानुनी दायरामा रहेको भन्दै सञ्चालित निजी अस्पताल वास्तवमा नै गैरकानुनी धन्दा गर्ने एउटा कुरुर बद्शाला भन्दा कम देखिदैन । सामान्य अवस्थामा त गरे ! गरे ! तर आज यस्तो महामारीमा तपाइँ हामी सबै बाँच्नुपर्ने अवधारणा लिनु पर्ने ठाउँमा उही कमाउने खेतिको धन्दामा लिप्त देख्दा वास्तवमा नै दुख लागेर आउछ । यसरी सेतो कोट भित्रको कालो कर्तुतले वास्तवमा नै मनलाइ रुवाउछ । यस्तो भनिरहँदा कोहि आदर्शवादी , देशभक्त र सच्चा स्वभिमानि डाक्टरसाब र स्वास्थ्यकर्मी मित्रहरूको मन अबश्य दुख्न सक्छ । जसले सदासदा बिरामीको स्वास्थ्य सुधारका लागि निरन्तर आफ्नो समय ,सीप र जागर देखाइनै रहिरहे । गहिराईमा नै भन्नुपर्दा ती मेडिकल माफियाहरुले ती तमाम सदासदा बिरामीको स्वास्थ्य सुधारका लागि निरन्तर लागि पर्ने डाक्टरसाब देखि स्वास्थ्यकर्मी मित्रहरू प्रति पनि कैयौँ श्रमशोषणको प्रकाण्डनै प्रस्तुत गरिदिएका हुन्छन् । संकटमा सहयोगी हातहरु भन्ने अभियान नै चलाएर हिजोका दिनका नाफाबाट हामी यो कोभिड्को महामारीमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य प्रदान गर्छौ भन्दै मानवीय भावनाले अगाडी आएका एउटा पनि निजी अस्पताल देखिएन । बरु कोभिडको उपचारका लागि अस्पतालमा कोभिड शैय्याको व्यवस्था नै गर्नबाट पछि हटे । अन्ततः सरकारीस्तरबाट निजी अस्पतालले पनि कम्तीमा ३० शय्ैयाको बेड कोभिड उपचार्थ निर्माण गर्नुपर्छ भनेर उर्दी जारी गरेपछि तिनले सुख नै पाएनन् र निर्माण गरि छाडे । कोरोना महामारीमा झन् सौउलेत दिनुपर्ने बेलामा उल्टै आफ्नो जिम्मेवारी र दायित्व बाट भाग्न खोज्नु निजी अस्पतालको लाचारीपन देखिन्छ । हो हिजोको दिनमा निजी अस्पतालले सरकारी अस्पताल देखि विभिन्न ठाउँमा आफ्ना एजेन्ट राखि रातारात बिरामी आफ्नो अस्पतालमा तानेर चर्को शुल्क असुलेका सत्यता आज पनि जीवितै छन् ।

कर छलि गर्दै गैरकानुनी ढङ्गबाट कलेज सञ्चालन गर्दै कयौं स्वास्थ्य सेक्टरलाई आफ्नो सपना बोकेका युवायुवतीको भविष्य बर्बाद गरिदिएको तितो ईतिहास पनि नभएको होइन । हिजो जेजति गरेता पनि आज त सहयोग गर्नुपर्ने बेला निजी अस्पतालहरुले असहयोग गरिरहेका कयौं छरपष्ट उदाहरण अनि समाचार हामीमा छ । हिजोका दिनमा सामान्य भन्दा सामान्य बिरामीलाई कयौं स्वास्थ्यमा जटिल समस्या छ भन्दै भर्ना गर्दै रकम असुली गर्ने निजी अस्पतालको मूलगेटमा आज वास्तविकता नै भएर हो या होइन । तर ठुल्ठुला अक्षरले लेखिएको कोरोना बिरामीलाई बेड खाली छैन भन्ने व्यानर हामी पाउछौ । उपत्यकाका अधिकांश निजी अस्पतालको अवस्था यस्तै छ । सामान्य ज्वरो वा टाउको दुखेर अस्पताल पुगेका ती बिरामीहरुलाई मुल गेटबाट नै फर्काइन्छ । कोरोनाका बिरामीले गर्दा अस्पतालबाट प्रदान गरिने अरु सेवा सुविधामा पनि प्रभावित हुने हुनाले निजी अस्पतालहरु यस्तो अमानवीय व्यवहार गरिराखेका छन् । आफूसँग भएको कयौं सेवा सुविधाहरु लुकाउदै ती बिरामीलाई आफ्नो अस्पतालबाट भगाइराखेका छन् । भनि उपचारका लागि आफुले प्रकाशन गरेको लिस्टको सामथ्र्य रहेकालाई भने निजी अस्पतालले सेवा सुविधा प्रदान गरिरहेका छन् । बिरामीको उपचारमा पनि कालोबजारीको नाङ्गो नाच प्रस्तुत गर्दै निजी अस्पतालको यो अमानवीय ताण्डव वास्तवमा नै अति भयो । गरिब जनता वास्तवमा नै अहिले एकदमै दहनिय अवस्थामा छन् ।

सरकारी अस्पतालमा पावर अनि नातावाद र कृपावादले मात्र बेड पाइन्छ । मात्र तिनको उपचारका लागि सामथ्र्य पुग्छ जसको नाताबाद र पावर छ । जसको कोही छैन तिनलाई सरकारी अस्पतालमा बेड अभाव हुन्छ भनि निजी अस्पतालमा पैसा नभएका कारण उनीहरूको उपचारको सामर्थे पुग्दैन । जसका कारण स्वरुप अस्पतालको मूलगेटमा, सडकका पेटीमा अनि बिच बाटोमै मृत्यु बरण गरिएको त्यो लास तिनै गरिब जनता को हुन् । यो महामारीलाई भयावह स्थितिबाट जोगाउने सरकार नै यस्तो विषयमा उदासीन रहँदा यो महामारीले निम्त्याएको मरण नभएकन वास्तवमै राज्यस्तरबाट गरिएको हत्या हो भन्दा फरक पर्दैन । समाजवादी अवधारणा बोकेका होस् या त कट्टर साम्यवादी अवधारणालाई आत्मसात् गरिएका पात्र बिशेष सरकार प्रमुख रहँदा विगत देखि वर्तमानसम्म स्वास्थ्य जगतको रुपान्तरमा कहिँकतै सन्तोषजनक कार्य नगरेको तितो ईतिहास हामीमाझ रहेकै छ । त्यही पनि बिरामीको मृत्यु हुन्छ भन्ने जान्दाजान्दै पनि बिरामीमा सास रहुन्जेलसम्म हामीमा रहेको झिनो आसलाई कदापि मार्न सक्दैनौ । सरकारले गर्छ भन्ने त कदापि छैन तै पनि तमाम जनताको अभिभावकको जिम्मेवारी वहन गरेको हुनाले हामीमा कहिँकतै गरी हाल्छ कि भन्ने आश पलाउनु स्वाभाविक नै हो । तीन वर्षको लामो र एउटा प्रोदक्तिप समयमा सरकारले मात्र भष्टाचार, आर्थिक अनियमिता र दर्जनौं काण्ड घटाउन नै व्यस्त रहेको हामीले कयौं प्रमाण प्राप्त गरिसकेकै हो । हुँदाहुँदा कोरोना महामारीको यो बीचमा स्वास्थ्य सामग्री खरिद देखि खोप प्रकरणमा सरकार स्वयंले अनियमिताको पराकाष्ट हामीले प्रत्यक्ष देखेका अनि सुनेका छौं । त्यहि पनि वर्तमान समयमा विकल्पका कुनै सम्भावना हामीमा नरहँदा, मुलुकको फोहोरी राजनीतिका कारण र राजनीतिका नाउमा जुनै जोगी आए तापनि कानै चिरेका आउने पात्रनै सरकारमा आउने भएकाले यस सरकारप्रति विश्वास गर्ने सिवाय हामीमा कुनै बिकल्प नै छैन ।

त्यसैले अभिभावकत्वको जिम्मेवारीबाट हराएको सरकारलाई एकचोटी बिन्ती संवेदनशील हुन अनुरोध । केहि व्यापारी, निजी अस्पताल सञ्चालक, दलाल वा माफियाका सामु निरिह नबन । सबै व्याप्त यो भयभह अवस्थाको दोष तिनका टाउकोमा थुपार्दै यो भयावह अवस्थामा आफ्नो दायित्व र जिम्मेवारी बाट उम्कन नखोज । जनताको अभिभावक सरकार नै हो र राज्यशक्ति सरकारसँग नै छ, कोही व्यापारी अनि माफियासँग होइन । सरकारी स्तरबाट पनि जान अन्जानमा घटाएका कयौं माफिया गिरीलाई यहि हो मौका विगतका गल्ती सच्याउने र जनताको सरकार बनी देखाउने । एकजना व्यक्तिले त परिवर्तन र रुपान्तरण ल्याउन सक्छ । सरकार तिमीसँग सम्पूर्ण राज्यशक्ति नै छ ,बिन्ती निरिह नबन । हाम्रो निभेको आशालाई पूर्ण दिपप्रज्वलन गराइदेउ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.