कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द

| 2021 Jul 07 | 07:30 am 1397

काठमाडौं, असार २३ः १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधैंका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ । गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले अब ओम, नम र शिवाय गरी तीनवटा सिनेमा हल मात्र सञ्चालन गर्ने पनि दाहालले बताएका छन् ।

यस्तै, क्यूएफएक्स सिनेमा कम्पनीले सो समूहका तीनवटा सिनेमा हल बन्द गरेको छ । काठमाडौंको हात्तीसारस्थित जयनेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको हो । जयनेपाल सिनेमा घर नेपालकै अहिलेसम्मको जेठोमध्येको सिनेमा घर पर्छ । कुमारी सिनेमाले पनि चार दशकभन्दा लामो इतिहास बोकिसकेको छ । यसरी लामो इतिहास बोकेका सिनेमा घर कोरोनाको महामारीकै कारण बन्द गर्नुको विकल्प नरहेको क्यूएफएक्स सञ्चालकको भनाइ छ ।

काठमाडौंको बालाजुमा रहेको गंगा चलचित्र मन्दिर पनि कोरोना महामारीकै कारण सधैंका लागि बन्द भएको छ । यो सिनेमा हलमा गंगा ‘क’ र गंगा ‘ख’ गरी दुईवटा फिल्म हल रहेको थियो । यी दुवै हल सधैंका लागि बन्द गर्न बाध्य भएको सो हलका सञ्चालक मदनमान बज्राचार्यले बताएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.