केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’

रिपोर्ट नेपाल | 2019 Sep 07 | 10:48 am 1377

काठमाडौं, भदौ २१ : काठमाडौंको सुनधारास्थित मुलुकको सबैभन्दा पुरानो कारागार केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ।

कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकिलले बयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो।

केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको सुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने जानकारी दिए।

‘सबै अदालतमा उक्त सेवा सुरु भएपछि कारागारभित्र रहेको भिडियो कन्फरेन्स सेवाको सुरुआत हुन्छ’, उनले भने।

सबै कारागारमा सिसी क्यामरा र विद्युतीय हाजिरको सुरुआत गरेको कारागार व्यवस्थापन विभागले केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा भिडियो कन्फरेन्सिङ सेवा जडान गरेको हो।

विभागका सूचना अधिकारी वासुदेव घिमिरेले सबै कारागारमा भिडियो कन्फरेन्स सेवा जडान गर्ने विभागको योजना रहेको जानकारी दिए।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन्। उक्त कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेका छन्।

केन्द्रमा एक हजार ९१०, भद्रमा ८३२, महिला जेलमा ३७८ र चार नाबालक रहेको कारागार प्रमुख सापकोटाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.