किन भनियो राष्ट्रपतिलाई बडामहारानी ?

रिपोर्ट नेपाल | 2021 Feb 03 | 09:21 am 2873

  • बबिता बस्नेत

‘बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । निर्वाचनका लागि सुख–सुविधा छोडेर पहिला कोटेश्वरमा आउनुस् । चाबेल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्याथेँ, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि अलि भारी हुन्छ होला, यही रेखा लोप्चनलाई चुनाव लडाउँछौँ र हराउँछौँ । तपाईंका लागि म पनि भारी हुन सक्छु त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका, हामीले सङ्घर्ष गरेर ल्याएका अधिकारहरूमाथि गिद्दे दृष्टि लाएर एउटा गुटको लागि गरिएको असंवैधानिक कदम किमार्थ पनि स्वीकार हुने छैन । नेकपा एमालेले ५० सालमा गरेको भुल थियो । यहाँ अन्यथा नहोस, मैले तमाम दिदी बैनी र शहिद परिवारलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्यापछाडि नेकपा एमालेले सेतो सारी ल्याएर शक्ति आर्जन गर्ने जुन गलत साँस्कृतिक अभ्यास गरेको थियो त्यसको प्रत्युत्पादन हो विद्या भण्डारी ।’

विघठित प्रतिनिधिसभाकी सांसद् रामकुमारी झाँक्रीले २०७७ साल माघ १६ गते गोरखामा गरेको भाषणको यो अंशलाई लिएर अहिले विभिन्न टीका-टिप्पणीहरू भइरहेका छन् । कतिले एउटी महिला भएर महिलालाई होच्याएर बोलेको भनिरहेका छन् भने धेरैले महिला नै महिलाका शत्रु हुन्छन् भनी टिप्पणी गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटन भएपछि मुलुक आमसभामय भएको छ । नेता प्रचण्ड र केपी ओलीबीच पदमा आलोपालो नभए पनि आमसभामा भने आलोपालोवाला अवधारणा लागु गरिएझैँ देखिन्छ, एउटाको सकिएपछि अर्कोको तयारी । दुवै गुटका आमसभामा नेता प्रचण्ड र प्रधानमन्त्री केपी ओलीले एकार्कालाई लगाएका आरोप-प्रत्यारोप, ब्यङ्ग्य बाण र गरेका गालीगलौज सुन्न अप्ठ्यारो लाग्ने खालका हुने गरेका छन् । दुवै नेताका अभिब्यक्तिाई लिएर विभिन्न आलोचना भए पनि कसैले पनि पुरुष नै पुरुषका शत्रु हुन्छन् भनेको सुनिएको छैन । दोश्रो पुस्ताका नेताहरू पनि गाली गलौजवाला भाषणबाट मुक्त छैनन् तर उनीहरूको बोलीको त्यति धेरै आलोचना भएको छैन जति नेतृ झाँक्रीको भइरहेको छ । आखिर किन यस्तो भयो त ?

कतिले यसलाई ‘महिला भएर महिलालाई’ यसो भन्यो या एकल महिलालाई यसो भनियो भने पनि भाषण महिलावाला भन्दा पनि राजनीतिक संस्कारसँग सम्बन्धित छ भन्नुपर्ने हुन्छ । ‘बडामहारानी’ हाम्रो अभ्यासमा राजाकी पत्नीलाई प्रयोग गरिने शब्द हो । महारानी मात्रै भनिएको भए बेलायततिर राष्ट्रप्रमुखलाई ‘क्वीन’ अर्थात् महारानी भन्ने चलन छ भन्न सकिन्थ्यो, तर उहाँको शब्द चयनले ‘विद्या भण्डारी’लाई राष्ट्रप्रमुखको संज्ञा दिएको छैन जुन नाम भाषणमा उहाँले स्पष्ट रूपमा लिनुभएको छ । बसाइको प्रसङ्गमा कोटेश्वर, चाबेल कि बानेश्वरतिर भन्नु नै यो नामलाई होच्याउन काफी थियो । उहाँले मुस्कुराउँदै बोलेको सिम्बोलिक शब्द ‘बालकोट’ले दुई परिवारलाई मात्र होइन देशमा मर्यादित राजनीति चाहनेहरूलाई पनि ‘हर्ट’ गरेको छ, दुःखी बनाएको छ । सम्बन्धितहरूलाई त पदमा पुगेपछि अनेक सहनुपर्छ भनेर चित्त बुझाउने ठाउँ होला तर प्रधानमन्त्री पत्नी राधिका शाक्य र राष्ट्रपतिका छोरीहरूलाई यस प्रकारका अभिब्यक्तिले कतिसम्म चोट पुर्‍याउन सक्छ भनेर सोचेको देखिएन ।

उहाँले मुस्कुराउँदै बोलेको सिम्बोलिक शब्द ‘बालकोट’ले दुई परिवारलाई मात्र होइन देशमा मर्यादित राजनीति चाहनेहरूलाई पनि ‘हर्ट’ गरेको छ, दुःखी बनाएको छ । सम्बन्धितहरूलाई त पदमा पुगेपछि अनेक सहनुपर्छ भनेर चित्त बुझाउने ठाउँ होला तर प्रधानमन्त्री पत्नी राधिका शाक्य र राष्ट्रपतिका छोरीहरूलाई यस प्रकारका अभिब्यक्तिले कतिसम्म चोट पुर्‍याउन सक्छ भनेर सोचेको देखिएन ।

अध्ययनहरूले राजनीतिमा ‘क्यारेक्टर एसासिनेशन’ अर्थात् चरित्र हत्या अहिले पनि महिलाका लागि चुनौतीका रूपमा देखाएका छन् । प्रचण्ड-माधव नेपाल-झलनाथ खनाल भनौँ यो देशका तीन पूर्वप्रधानमन्त्रीहरूले नेतृत्व गरेको जुलुसमा राष्ट्रपतिको नाम लिएर आपत्तिजनक नारा लागे । त्यो नारा आपत्तिजनक भए पनि त्यसले त्यति ठुलो अर्थ राख्दैन, किनभने सडकको भीडमा कसले के भन्छ त्यसको पछि लागेर साध्य हुने कुरा होइन । हिजो साँच्चीकै बडामहारानी ऐश्वर्यलाई पनि अनेक उपमा दिँदै सडक थर्काइएको थियो, पछि त्यस्तै भीड उहाँको मृत्युमा रुवावासी गर्दै आर्यघाट पुग्यो । त्यसैले यस प्रकारका भीडमा बोलिएका कुरालाई खासै गम्भीरतापूर्वक लिइरहनु आवश्यक हुँदैन । रामकुमारी झाँक्री राजनीतिमा आशा गरिएकी मात्र होइन उत्तरदायी भूमिकामा रहेकी राजनीतिकर्मी हुन् । जब कसैसँग अपेक्षा हुन्छ उसले सही गरेन भने ‘हर्ट’ हुन्छ, चित्त दुख्छ, नरमाइलो लाग्छ । उत्तरदायी भूमिकामा रहेकाहरूबाट यति अनुत्तरदायी अभिब्यक्तिको अपेक्षा गरिँदैन ।

२०६३ साल जेठ १६ गते प्रतिनिधिसभामा एउटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भयो । उक्त प्रस्तावमा लेखिएको थियो– ‘आमा वा बाबुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने कुराको ग्यारेन्टी गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एक तिहाई महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्ने, त्यस्तै विभेदकारी कानूनको खारेजी गर्न र महिलाप्रति गरेका हिंसाको अन्त्य गर्न जरुरी भएकोले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छु ।’

छलफल गर्नुपर्ने कारणमा लेखिएको थियो- ‘समान नागरिकको हैसियतले महिलाहरूको समान स्थान हासिल गर्न आवश्यक भएकाले ।’ यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने सांसद् हुनुहुन्थ्यो विद्यादेवी भण्डारी । यसलाई सांसद कमला पन्त र नारायणप्रकाश साउदले समर्थन गर्नुभएको थियो । नेपालको महिला आन्दोलनको इतिहासमा विद्या भण्डारीले संसदमा पेश गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो राजनीतिक र रणनीतिक महत्वको उपलब्धिपूर्ण प्रस्ताव थियो । जुन प्रस्तावलाई आधार मानेर बनेका नीति, कानूनहरूमार्फत अहिले संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेको छ । त्यही समानुपातिक सहभागिताबाट रामकुमारी झाँक्रीले संसदमा प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको थियो । उहाँ मात्रै होइन अहिले सङ्घीय संसद् र मुलुकका सातै प्रदेशका प्रदेश सभाहरूमा ३३ प्रतिशत महिलाको सहभागिता रहेको छ । सबै उपसभामुखहरू महिला हुनुहुन्छ । उक्त प्रस्तावअघि समानुपातिक भन्ने शब्द खासै चर्चामा थिएन । समय क्रममा उहाँ राष्ट्रपति बन्नुभयो, राष्ट्रपति नबन्नुभएको भए पनि विद्यादेवी भण्डारी नेपालको राजनीतिमा महिला सहभागिताको सवालमा ऐतिहासिक नाम हो । नेपाल देश रहुञ्जेल उहाँको यो योगदानको अवमूल्यन र अपमान कसैले गर्न सक्दैन, गर्न मिल्दैन ।

नेपालको महिला आन्दोलनको इतिहासमा विद्या भण्डारीले संसदमा पेश गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो राजनीतिक र रणनीतिक महत्वको उपलब्धिपूर्ण प्रस्ताव थियो । जुन प्रस्तावलाई आधार मानेर बनेका नीति, कानूनहरूमार्फत अहिले संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेको छ । त्यही समानुपातिक सहभागिताबाट रामकुमारी झाँक्रीले संसदमा प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको थियो ।

यो पङ्क्तिकारले बुझेको विद्या भण्डारी रामकुमारीजीले भाषणमा भन्नुभए जस्तो सेतो सारीको उपज या उत्पादन होइन । २०४९ सालमा पहिलोपल्ट यो पङ्क्तिकारले उहाँलाई भेट्दा यस्तो राजनीतिक पृष्ठभूमिको मान्छे यसै बस्न नहुने जस्तो लागेको थियो । त्यतिबेला नेपालीपत्र साप्ताहिकको समानान्तर स्तम्भमा ‘श्रीमान्को नाम नबताउने यी राजनेतृ’ शीर्षकमा उहाँको बारेमा लेखेको रहेछु । केही दिनअघि पुराना दस्ताबेजहरू खोज्ने क्रममा उक्त सामग्री भेट्दा आफैलाई रोचक लागेको थियो । उहाँले भन्नुभएको थियो- ‘पहिला एक्लो जिउ थियो, जता निस्किएर हिँडे पनि हुने, तर अब त बच्चाहरू छन्, उनीहरूका निम्ति पनि मैले घर सम्हालेर बस्नुपर्ने स्थिति छ । मलाई उहाँले रोक लगाउनुभएको होइन । संसदमा उठेको भए पनि मैले पार्टीबाट टिकट पाउने थिएँ तर म आफै संलग्न हुन चाहिनँ ।’ २०३६ सालमा मदन भण्डारी राजनीतिक प्रशिक्षण दिन भोजपुर जाँदा विद्योदय क्याम्पसमा अध्ययन गर्दै राजनीतिमा संलग्न उहाँसँग कसरी भेट भयो लगायतका रोचक र सङ्घर्षमय प्रसङ्गहरू उक्त सामाग्रीमा छन् । ‘कुनै पनि क्षेत्रमा माथि उठ्दै गरेका महिलाहरू विवाहपश्चात एक्कासी हराउने गर्छन्, यो प्रवृत्ति राजनीतिमा पनि लागु भएको छ, किन होला ?’ भन्ने प्रश्न गरेको रहेछु । उहाँको जवाफ थियो- ‘विवाहपश्चात् महिलाहरू फिल्डमा आउन या माथि उठ्नै नसक्ने होइनन् । चाह्यो भने विवाहपछाडि नै महिलाहरूलाई बाहिर आउन सजिलो पर्छ, तर पनि कसै–कसैलाई परिस्थिति र अवस्थाले रोक्दोरहेछ ।’

हो, उहाँलाई राजनीतिमा सक्रिय हुन केही वर्ष परिस्थितिले रोकेको थियो जुन परिस्थिति बच्चा साना हुञ्जेल अधिकांश महिलामाथि आइपर्छ । यो कुरा ब्यक्तिगत नभई महिलाको प्राकृतिक जिम्मेवारी र हाम्रो सामाजिक संरचनासँग सम्बन्धित छ । पतिको मृत्युपछि सेतो सारी लगाउने कुरा पनि हाम्रो परम्परागत मान्यतासँगै सम्बन्धित छ । आफ्नो जीवनमा एक्कासी आइपरेको बज्रपातलाई कसरी ‘कोप’ गर्ने भन्ने बारेमा मानिसहरूले पहिल्यैदेखि तयारी गरेका हुँदैनन् । पतिको देहान्तपछि एक वर्षसम्म पत्नीले सेतो पहिरन लगाउनु आमप्रचलन थियो । समयक्रममा अहिले यस्ता कतिपय मूल्य-मान्यताहरू फेरिँदै गएका छन् । यदि त्यतिबेला पार्टीले नै उहाँलाई सेतो सारी लगाइदिएको हो भने नेकपा एमाले भन्ने पार्टी ढोँगी हो र त्यस्तो राजनीतिक दलका नेता–कार्यकर्ताहरू ‘फेक’ हुन् । जुन राजनीतिक दलको जगमा रामकुमारी झाँक्रीजीहरूको राजनीतिक जीवन उभिएको छ ।

समय क्रममा उहाँ राष्ट्रपति बन्नुभयो, राष्ट्रपति नबन्नुभएको भए पनि विद्यादेवी भण्डारी नेपालको राजनीतिमा महिला सहभागिताको सवालमा ऐतिहासिक नाम हो । नेपाल देश रहुञ्जेल उहाँको यो योगदानको अवमूल्यन र अपमान कसैले गर्न सक्दैन, गर्न मिल्दैन ।

राजनीति मात्र होइन कुनै पनि क्षेत्रमा जुनियरहरूले सिनियरहरूलाई चुनौती दिनु नराम्रो होइन । राम्रो आत्मा भएका सिनियरहरूलाई आफूपछिको पुस्ताले राम्रो गरोस् भन्ने चाहना हुन्छ । तर त्यो चुनौती ब्यवसायिक हुनुपर्छ न कि ब्यक्तिगत । प्रतिस्पर्धात्मक राजनीतिमा राजनीतिक ब्यक्तित्वहरूको टीका-टिप्पणी हुनु स्वभाविक हो तर ती टिप्पणीहरू ठुला घटना–दुर्घटनामा मुछिएको सन्दर्भमा बाहेक राजनीतिक नै हुनुपर्छ । अहिले राष्ट्रपतिलाई टिप्पणी गर्नका लागि संविधान र विगतका अभ्यासहरू आधार बन्न सक्थे । ‘सेतो सारी’ र ‘बाल्कोट’ शब्द आलोचना या टिप्पणीका लागि नभई चरित्र हत्याका लागि प्रयोग भएका छन् ।

चरित्र हत्या र महिलाका शत्रु महिला भन्ने हल्काफुल्का टिप्पणीबीच ठुलो अन्तर छ । राजनीतिमा होस् या कुनै पनि क्षेत्रमा चरित्रहत्या हिंसा हो, अपराध हो । महिलाले महिलालाई भन्न नहुने होइन कि मान्छेले मान्छेलाई नै भन्न नमिल्ने कुरा हो यो । महिलाका शत्रु महिलावाला प्रसङ्ग धारा–पँधेरातिर सकिने कुरा हुन् । खासमा महिलाका शत्रु महिला भन्ने नै हुँदैन । यो शब्द र त्यसप्रकारको देखिने ब्यवहारभित्र अन्ततः पुरुषलाई प्राप्त एकाधिकार नै कारकतत्व बनेर छिपेको हुन्छ । मान्छेका शत्रु र मित्र मान्छे नै हुन्छन् चाहे ती पुरुष हुन या महिला । अध्यात्मले भन्छ, आफ्नो शत्रु र मित्र मान्छे आफै हो । रामकुमारी झाँक्रीजीले राजनीतिक आन्दोलनको इतिहास बोकेकी राष्ट्रपति विद्या भण्डारीलाई अपमानजनक शब्द प्रयोग गरेर आफ्नो शत्रु आफै बन्नुभएको छ । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.