- बसन्त भुजेल
‘खरच पठल त बचल, खरच नपठल त भकले मरल’ वाह्रखरी पढाउने बेलामा शिक्षकले भनेको यो उखान मलाई अहिले पनि याद आउँछ । यो उखानले एकातिर लेखपढको महत्व उजागर गर्छ भने अर्का तिर अर्ध शिक्षाले पुर्याउने हानीलाई पनि संकेत गर्छ । नेपालीहरु कमाउनका लागि टाढा–टाढा जाने प्रचलन धेरै पहिले देखि नै हो । त्यतिबेला एक जना मान्छे कमाउन गएको ठाउँमा बिरामी परेछ । काम गर्न नसकेपछि कमाई भएन । घरमा खवर पठाउनु पर्यो, तर साँवा अक्षर मात्रै लेख्न जानेको थियो । आकार, उकार, एकार जानेको थिएन । उसले घरमा चिठी लेख्यो–‘खरच पठल त बचल खरच नपठल त भकले मरल’ वास्तवमा उसले लेख्न खोजेको थियो–खर्च पठायौ भने बाँच्ने छु, नत्र भोकै मर्नेछु ।’ केही पनि लेख्न नजान्नु भन्दा यति जान्नु पनि ठूलै कुरा हो ।
हामीले अक्षर चिन्ने बेलामा अहिलेको जस्तो कापी कलम कहाँ पाउनु ? काठको पातलो फलेकमा कालो पोतेर पाटी बनाइन्थ्यो । खरी ढुंगा ल्याएर दुधमा पकाएर नरम बनाइन्थ्यो । त्यही ढुंगाले कालोपाटीमा अक्षर लेख्ने कोशिस गरिन्थ्यो । भोटोको खल्तीमा खरी, घाँटीमा पाटी र हातमा चकटी बोकेर स्कुल पढ्न गएको दिन मलाई अहिले पनि झलझली याद आइरहन्छ । त्यसरी पढ्नका लागि पनि डेरा गर्नु पर्ने वाध्यता थियो । गुल्मी जिल्लाको वर्तमान सदरमुकाम तमघासको महेन्द्र मावि र भार्सेको हाइस्कुलको छात्राबासमा बसेर पढेको झलझली याद आउँछ । एउटा सामान्य गोठलाई छात्राबास बनाइएको थियो । घरबाटै मकैको पिठो, चामल बोकेर लगिन्थ्यो । शनिबारका दिन दाउरा खोज्न गइन्थ्यो । धनबहादुर, मानबहादुर र मेरो एउटै चुलो थियो । पकाउने क्रममा आँटोको तातोले हात पोलेर साथी मानबहादुर रोएको सम्झना मलाई ताजै छ ।
नेपालको शैक्षिक इतिहास जति पुरानो हो, सायद गुुल्मीको शैक्षिक इतिहास पनि त्यति नै पुरानो होला । रिडीको संस्कृत पाठशाला धेरै पुरानो हो । धेरै टाढा–टाढाबाट विद्यार्थीहरु पढ्न आउँथे । तर व्राह्मण बाहेक अरुका लागि संस्कृत पाठशाला त्यति चासोको कुरा थिएन । हाम्रो पालासम्म आइपुग्दा आधुनिक शिक्षा (अंग्रेजी ) पनि पढ्नु पर्छ भन्ने चेतना आइसकेको थियो, तर हाम्रो भेगमा हाइस्कुलहरु धेरै थिएनन् । उच्च शिक्षा त धेरै परको कुरा भयो । हुने खानेले एसएलसीसम्म पढ्थे, त्यस पछि कोही लाहुरे हुन जाने, कोही नेपालमै जागिर खान थाल्ने प्रचलन थियो । थोरैले मात्रै भारतको बनारस गएर उच्च शिक्षा आर्जन गर्थे । पछि विद्यालयहरु धमाधम खुल्न थाले । बनारसमा गएर उच्च शिक्षा आर्जन गर्नेहरुले शिक्षक बन्ने अवसर पाए । भारतमा उच्च शिक्षा लिएर आएका कारण उनीहरु टाठाबाठा थिए । शिक्षकहरुको ठुलो इज्जत तथा मर्यादा थियो । उनीहरुको भनाई गाउँलेहरुले हतपति काट्ने कुरा भएन । ति शिक्षकहरु नै पछि ठूला नेता भए ।
मैले गुल्मीको उदाहरण दिएको मात्रै हो, मुलुकका प्राय सबै ग्रामिण भेकको हालत यही नै हो । बनारसमा उच्च शिक्षा आर्जन गर्नेहरुको पकडमा मुलुकको राजनीति मात्रै होइन न्यायपालिकादेखि व्युरोक्रेसीसम्म पुग्यो । पछि उनैका छोरा छोरीले पोखराको गण्डकी बोर्डिङ स्कुल, काठमाडौंका बुढनिलकण्ठ, सिद्दार्थ बन्स्थली, सेन्टजेभिर्यस लगायतका स्कुलहरु भरिए । उनीहरु सँग गाउँका सामान्य सरकारी स्कुलमा पढेका किसानका छोराछोरीले प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन । डाक्टर, इन्जिनियर, व्युरोक्रेट, न्यायधीश लगायतका उच्च पदहरुमा उनीहरुकै हालीमुहाली भयो । मुलुक हाक्ने विभिन्न विषयका विज्ञहरु पनि यही वर्गका नै भए । विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने अवसर पनि यही वर्गले नै पायो । उनीहरुले विदेशमा गएर पनि राम्रो प्रतिस्पर्धा गरेका छन् । विदेशमै पनि राम्रो अवसर पाएका छन् । ठूला ठूला अनुसन्धान गर्ने तथा मेडल पाउनेहरुमा नेपालीहरुको पनि नाम आउँछ, तर यो वर्गले नेपालको बास्तविक धरातल बुझेन । नेपालका लागि कस्तो मोडेलको विकास चाहिएको हो ? सम्भावनाहरु के के हुन् ? भन्ने कुरा बुझेन । जसका कारण एकातिर मुलुकमा शिक्षित बेरोजगारी बढेको छ भने अर्कातिर हरेक क्षेत्रमा मुलक परनिर्भर बनिरहेको छ । कृषिको अथाह सम्भावना छ, तर वर्षको करिव दुई खर्ब रुपैंया बराबरको कृषि उपज विदेशबाट आयात हुन्छ । पर्यटनको अथाह सम्भावना छ तर पर्यटकलाई आवश्यक पर्ने बस्तुमध्ये ८० प्रतिशत विदेशबाटै आयात हुन्छ, उच्चस्तरीय पर्यटकीय जनशक्ति समेत विदेशबाटै ल्याउनु परेको छ । जडिवुटीको अथाह सम्भावना छ, तर वर्षको करिव एक खर्ब रुपैंया बराबरको औषधी विदेशबाट आयात हुन्छ । फलाम खानीहरु प्रसस्त छन् तर बार्षिक एक खर्ब रुपैंया बराबरको फलाम तथा फलामजन्य बस्तुहरु आयत गर्नु परिरहेको छ । यहाँ सम्मकी रसायनिक मल समेत शत प्रतिशत आयत गर्नुपर्ने वाध्यता छ ।
यी यावत विकृतिको मुल जड भनेकै उचित शिक्षाको अभाव हो । शिक्षा भनेको विकासको पुर्वाधार हो । शिक्षामा गरिने लगानी भनेको पुर्वाधारको पनि पुर्वाधार निर्माणमा गरिने लगानी हो । तर दलहरुको हातमा सत्ता पुगेपछि शिक्षामा व्यापक निजिकरण गरिएको छ । हुनेखाने धनीहरुका लागि स्तरीय शिक्षा र हुँदा खाने गरिवहरुका लागि स्तरहिन शिक्षाको परिपाटी सुरु गरिएको छ । जनशक्ति उत्पादन गर्दा नै दुई वटा वर्ग बनाइएको छ । तृणमुलबाट उठेर जसले अवसर पाएका छन् उनीहरुले मुलुकका लागि केही न केही योगदान गरेकै छन् । उदाहरणका लागि डा हर्क गुरुङलाई लिन सकिन्छ, योगि नरहरिनाथलाई लिन सकिन्छ । वर्तमानमा डा. महावीर पुन, कुलमान घिसिङलाई लिन सकिन्छ । शैक्षिक जनशक्तिको अभाव नेपाललाई अब खासै छैन । विधावारिधि गर्नेहरु नै हज्जारौं पुगिसके । डाक्टर, इन्जिनियर त धेरै घर परिवारबाट उत्पादन भइसकेका छन् । इन्जिनियरहरु बेरोजगार बनेर अष्ट्रेलियामा रेष्टुरेन्टमा काम गर्न गएका समाचार पनि हामीले नसुनेका होइनौ । पढेपछि शारिरीक श्रम गर्नु हुँदैन भन्ने दुर्भावना अझै बाँकी छ । ‘पढेलेखेको मान्छे भएर पनि जागिर नखाई हेर हलो जोतेको’ भन्दै होच्याउने प्रवृत्ति अझै बाँकी छ ।
कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझै उच्च शिक्षा हासिल गरेर पनि जागिर नपाउनेहरु कृषि पेशामा आवद्ध भएका समाचार आएका छन् । उनीहरुले परम्परागत निर्वाहमुखी कृषिको सट्टा व्यवसायिक कृषि पेशा अंगालेका छन् । कसैले गाई फर्म खोलेका छन्, कसैले कुखुरा, कसैले बंगुर, कसैले बाख्रा, कसैले अष्ट्रिच, कसैले कालिज फर्म खोलेका छन् । कसैले स्याउका बगैंचा बनाएका छन्, कसैले केरा, सुन्तला, जुनार, आँप , लिची, नास्पाती लगायतका फलफुलका बगैंचा बनाएका छन् । धान खेतिगर्नेहरुले पनि उत्पादकत्व वढाएका छन् । परम्परागत विधिबाट प्रति हेक्टर तीन मेट्रिक टन धान फल्दै आएकोमा आधुनिक प्रविधिबाट खेती गरी प्रति हेक्टर आठ मेट्रिकटन धान फलाएका छन् । बैदेशिक रोजगारीबाट फर्केका कतिपय युवाहरुले आफुले सिकेको प्रविधि प्रयोग गरी उद्यम सुरु गरेका छन् । मुलुकका लागि यो धेरै राम्रो संकेत हो । अहिलेसम्मको स्थिति हेर्दा हाम्रा युवाहरुले विदेशमा कमाइ गरी मुलुकमा भित्र्याउने रेमिट्यान्स भन्दा बस्तु तथा सेवा आयत बापत बाहिरिने रकमको हिस्सा धेरै नै बढी छ । जबसम्म बाहिरिने भन्दा भित्रिने रकम धेरै हुँदैन तबसम्म मुलुकको उन्नती संभव छैन । राष्ट्रियता कमजोर हुँदै जानुको मुख्य कारण यही हो ।
शासकहरुमा इच्छा शक्ति नभएर मात्रै हो, इच्छा शक्ति हुने हो भने स्वदेशमै रोजगारीको अथाह सम्भावना छ । भूमीमा सिंचाईको प्रवन्ध मात्रै गरिदिने हो भने पनि थप २० लाख जनाले रोजगारी पाउँछन् । गरिवको घरमा एक एक वटा दुहुनो गाई वा भैंसीको प्रवन्ध गरिदिने हो भने उ रोजगारीका लागि विदेश जानु पर्दैन, घरमै बसेर तत्कालै उसले आम्दानी सुरु गरिहाल्छ । जडिवुटी संकलन र प्रशोधनको तालिम दिने हो भने लाखौंले तत्कालै रोजगारी पाउनसक्ने अवस्था छ । विश्वको एक तिहाई जनसंख्या भएका चीन र भारत हाम्रा छिमेकी हुन् । यो जनसंख्या हाम्रा लागि वजार हुनु पथ्र्यो । हामीले जति उत्पादन गरेपनि यी दुई मुलुकमै खपत हुने अवस्था छ । त्यसमा पनि हाम्रा ताजा तरकारी र फलफुल खाडी मुलुकमा महंगो मुल्यमा विक्रि हुने अवस्था छ । बोत्तलमा पानी भरेर खाडी मुलुकमा विक्रि गरे मात्रै पनि हामीलाई पुग्छ । हाम्रो खानेपानी विश्वमै उत्कृष्ट छ , तर हामी पिउने पानी समेत विदेशबाट आयत गरिरहेका छौं । उदाहरणका लागि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले नित्य पिउने गरेका पानी स्वदेशी होइन ।
कसको कमजोरीले हामी यो अवस्थामा आइपुग्यौं ? हाम्रा नेताहरुले किन यति धेरै लापरवाही गरिरहेका छन् ? खवरदारी गर्ने बेला आइसकेको छ । अदुरदर्शी र इमान नभएका नेताहरुलाई काँधमा बोकेर हाम्रो देशको उन्नती सम्भव छैन भन्ने कुरा घाम जस्तै छर्लङ्ग भइसकेको छ । अब शासन प्रणालीमा आमुल परिवर्तन गरी नयाँ सोचको खोजी गर्नु जरुरी भइसकेको छ । देश बनाउने जिम्मा अब युवाहरुको काँधमा आएको छ । हामीले नगरे कसले गर्ने ? आज नगरे कहिले गर्ने ? भन्ने सोचका साथ युवाहरु जुरमुराउनु जरुरी भइसकेको छ । रक्सी र मासुको प्रलोभनमा परी नेताको झोला बोकेर आफ्नो र आफ्ना सन्तान दरसन्तानको भविष्य चौपट पार्ने कि ? यी नालायक नेताहरुलाई विस्थापित गरी मुलुक निर्माणमा आफै अघि सर्ने ? भन्ने कुरा युवाहरुले ठण्डा दिमागले सोच्नु पर्ने बेला आइसकेको छ । समय वितिसके पछि रोएर, चिच्याएर, पछुताएर केही हुने वाला छैन । समय छँदै होस पुर्याउनु जरुरी छ । आवश्यक परे मुलुकलाई रगतको बलिदान दिन पनि तयार हुनु पर्छ ।
कोरोनाको नक्कली त्रास देखाएर युवाहरुलाई सडकमा जानबाट रोक्ने षड्यन्त्र भइरहेको छ । यो सामान्य रुघा खोकी आइरहन्छ, गइरहन्छ, हामीले जन्मैदेखि भोगेको कुरा हो यो रुघा, खोकी तथा ज्वरो भनेको । कस्ता महामारी त हामीले झेल्यौं भने नाथे रुघा खोकी । भनिन्छ –‘रोइरहनु भन्दा गाइ रहनु जाति । श्रीकृष्णले गीतामा भन्नु भएको छ –‘ कर्म गर फल आफै आउँछ, आशा गरिरहनु पर्दैन ।’
(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)